• ३ भदौ २०८२, मङ्गलबार

आमाछोरीको दुःखद निधन

blog

धनगढी समाचारदाता

धनगढी, भदौ ३ गते । कैलालीको गौरीशङ्कर सामुदायिक वनमा एउटै रुखमा १० महिनाकी छोरी र २१ वर्षीय आमा झुन्डिएको अवस्थामा बिहीबार मृत भेटिए । घटनास्थलका प्रत्यक्षदर्शी स्थानीयले आत्महत्या हो वा हत्या छुट्याउनै सकेनन् । रुखमा झुन्डिएको शव थियो, घोडाघोडी नगरपालिका–७, हरिनगरकी आरती चौधरी डङ्गौरा र उहाँकी छोरी अनुजा साउन २९ गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । परिवारले खोजीका लागि तत्काल प्रहरीमा निवेदन दिएन । बरु, इष्टमित्र, आफन्तको घरमा गएको होला भनेर त्यतै खोजी कार्य ग¥यो । 

छोरीसहित आरती नभेटिएपछि साउन ३१ गते खोजीका लागि इलाका प्रहरी कार्यालय सुखडमा परिवारले निवेदन दिए । जुन दिन उनीहरूले खोजीका लागि निवेदन दिए, त्यही दिन घरनजिक पर्ने जङ्गलमा शव भेटियो । रुखको तलतिरको एउटा हाँगामा १० महिनाकी बालिका र त्यसभन्दामाथि अर्को हाँगामा झुन्डिनुभएको थियो आमा । 

हरिनगरवासीसमेत रहनुभएका वडा सदस्य देवचरण चौधरीले भन्नुभयो, “घटना हेर्नै नसकिने अकल्पनीय, अविश्वसनीय थियो । आमाले बच्चा लिएर कसरी रुखमाथि चढेकी होलिन् सबै अचम्मित छौँ ।”स्थानीयले आमाले पहिले छोरीलाई झुन्ड्याएर त्यसपछि आफूले आत्महत्या गरेको हुन सक्ने अडकल गरेका छन् । जोशीपुर गाउँपालिका बन्जरिया माइती घर रहेकी आरती र हरिनगरका २४ वर्षीय आशिष चौधरीले दुई वर्षअगाडि मात्रै प्रेम विवाह गरेका थिए । वडा सदस्य चौधरीका अनुसार २०८० मा उनीहरूबिच प्रेमविवाह भएको थियो तर दाम्पत्य जीवनको छोटो आयुमै आरतीको मात्रै नभई उनकी कलिलो मुनाको पनि दुःखद अन्त्य भएको छ । 

मृतककी माइती पक्षले परिवारबाट भएको मानसिक यातनाका कारण आरतीले यस्तो दुःखद बाटो रोजेको भनेका छन् । मृतककी माइजू भावना चौधरीले भान्जीलाई मानसिक यातना दिएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “बच्चाको बुवाले नै बच्चा स्विकारेको थिएन । यो बच्चा मेरो होइन भनेर टर्चर दिन्थ्यो । छोरीलाई मानसिक यातना दिइरहेको भनेर मलाई दिदीभिनाजु (आरतीका आमाबाबा) ले भन्ने गर्नुहुन्थ्यो ।” तर आरतीका सासूससुराले छोराबुहारीबिच झगडाको कुरा अस्वीकार गरेका छन् । उनीहरूले आफ्नो छोरा र बुहारीले झगडा नगरेको बताएका छन् । मृतककी सासूले भन्नुभयो, “झगडा त हुँदैन भनेर मैले पनि छोरालाई सोध्ने गर्दथँे । उनीहरूबिच झगडा थिएन ।” उहाँले आफू नन्दको घरमा पाहुना बस्न गएको बेला नातिनीसहित बुहारी सम्पर्कविहीन भएको उल्लेख गर्नुभयो । 

मृतकका ससुरा रामप्रसाद चौधरी भने कामका लागि एक महिनाअगाडि मात्रै भारत जानुभएको थियो । घरमा दुःखद घटना घटेपछि फर्केको जनाउँदै उहाँले भन्नुभयो, “मेरो र बुढीबिच झगडा हुन्थ्यो तर मैले बुहारीसँग कहिल्यै झगडा गरेन ।” घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावत यो घटनाको पछाडि कुनै न कुनै कारण रहेको बताउनुहुन्छ । “केही न केही कारण अवश्य छ,” उहाँले भन्नुभयो, “बिनाकारणको यस्तो दुःखद घटना घट्दैन ।” उहाँले स्थानीय समाज र सुरक्षा निकायसँग घटनाका बारेमा जानकारी लिने उल्लेख गर्नुभयो । 

घरपरिवारलाई जानकारी नदिई छोरी लिएर आरती साथीको घर कीर्तिपुरमा जाने गरेको छिमेकीले बताएका छन् । त्यसरी पाँच चोटि गएको उनीहरूको भनाइ छ । माइती पक्षको आरोप र छिमेकीको भनाइले पारिवारिक कलह भएको हुन सक्ने सङ्केत गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।