• ३ भदौ २०८२, मङ्गलबार

थारु कल्याणकारिणी सभा दाङद्वारा अट्वारी पर्वमा दुई दिन बिदाको माग

blog

सन्तोष दहित
दाङ, भदौ ३ गते ।
थारू कल्याणकारिणी सभा दाङले थारू समुदायको अट्वारी पर्वमा प्रदेश र स्थानीय सरकारसँग दुईदिनको सार्वजनिक बिदा माग गरेको छ । सोमबार बेलुकी एक प्रेस विज्ञप्ति जारी गर्दै  सभाका अध्यक्ष अशोक कुमार चौधरीले अट्वारी पर्व थारू  समुदायको महान पर्व भएकाले यसमा दुईदिन सार्वजनिक बिदा दिनुपर्ने बताउनुभयो ।

अट्वारीको पहिलो दिन दिभरी ब्रत बसेर पूजापाठ गरिन्छ भने दोस्रो दिन पनि पूजापाठ गरेर आफ्ना दिदीबहिनीहरुलाई अग्रासन दिन जानुपर्ने भएकाले दुई दिन बिदा दिइनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यसैबीच, सभाले यस वर्षको अट्वारी भदौ ८ गते परेकाले सम्पूर्ण थारु समुदायलाई सोही दिन अट्वारी मनाउन अनुरोध गरेको छ ।

थारु बुद्धिजीवी र संस्कृतिविदहरुको सल्लाह अनुसार, परम्परागत रूपमा महिलाहरुले मनाउने अष्टिम्की पर्वको दोस्रो आइतबार अर्थात कुश अमाउस (कुशे औसी) पछिको आइतबार अट्वारी मनाइने परम्परा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थारू कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् दाङका पूर्व अध्यक्षसमेत रहेका भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते नै भएको बताउनुभयो । उहाँले अष्टिमीपछि कुस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताउनुभयो । यस्तै, लेखक छविलाल कोपिलाले पनि अष्टिम्कीपछिको दोस्रो आइतबार अट्वारी मनाउने प्रचलन भएकाले यस वर्षको अट्वारी भदौ ८ गते अट्वारी परेको बताउनुभयो ।

अट्वारी पर्व थारू समुदायको पुरुषहरुले विशेष रुपमा मनाउने गर्दछन् । उनिहरुले आफ्ना दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत दिनभरि व्रत बसी बेलुकी ५ बजे भीमको पूजा गर्ने गर्दछन् । अट्वारीमा गहुँ, चामल र अनदी चामलको पिठोको विभिन्न थरीथरीका रोटीको परिकार बनाएर र फलफूलसहित खाने गर्दछन् । आफूले खानु अगाडि भीमको नाममा अग्निमा गहुँ, चामलको रोटी, फलफूल चढाएर जलले पूजापाठ गर्ने र आफ्नो भागमा रहेको केही भाग आफ्ना दिदी बहिनीहरुको लागि निकाले बल्ल खाने चलन छ ।

त्यस्तै, अट्वारीको दोस्रो दिन पनि पहिला दिन जस्तै भात, तरकारीहरु मुछेर अग्नीमा चढाउने मोही र जलले पूजाअर्चना गरिसकेपछि आफ्नो भागबाट दिदीबहिनीलाई छुत्याएर ब्रतालुहरुले खाने गर्दछन् । व्रतालुहरुले आफ्नो भागबाट निकालेको रोटी, फलफुल तथा अन्य परिकारसहित आफ्नो दिदीबहिनीहरुलाई अग्रासन (कोसेली) को रुपमा दिने गर्छन् । जसलाई थारू समुदायमा अग्रासन भन्ने गर्छन् ।

अट्वारी पर्व मनाउने एउटा ऐतिहासिक घटनासँग जोडिएको थारू अगुवाहरु बताउँछन् । प्राचिनकालमा दाङका थारू दंगिशरण राजा र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङक थारू राजा दंगिशरणबिच लामो घनिष्ठ थियो । यहि बिचमा पाँच पाण्डव र दौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका थिए । त्यहि क्रममा दंगिशरण राजाको दरबारमा शत्रुहरुले आक्रणम गर्न लागेको थाहा पाएपछि भीमले आफूले खानको लागि तावामा पकाउँदै गरेको रोटी छोडेर भीमले भोकै पेटमा दंगिशरणको पक्षमा लड्न आए । दंगिशरणको पक्षमा लड्न आएका भीमले विजय हासिल गरेका थिए । संयोगवश उक्त घटना आइबार परेको थियो । त्यही मान्यता र विश्वासको आधारमा भीम जस्तै बलियो भइन्छ भनेर थारू समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।