बाजुरा समाचारदाता
बाजुरा, भदौ ३ गते । बाजुराको हिमाली गाउँपालिकाका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । बाढीपहिरोले गाँसबासको समस्यामा परेका यहाँका स्थानीयलाई शुक्रबार हिमाली गाउँपालिकाले खाद्यान्न, भाँडाबर्तन र त्रिपाललगायतको राहत सामग्री वितरण गरेको हो । गत बुधबार राति बिच्छ्या खोलामाथिबाट आएको बाढी सिधै गाउँ पसेपछि घर, जमिन र खाद्यान्नलगायत सबै बगाएपछि स्थानीय पीडित बनेका छन् । यो बेला हिमाली गाउँपालिकाले चामल, नुन, तेल र भाँडा, त्रिपाल वितरण गरेपछि अहिले केही दिनका लागि भए पनि बिहान बेलुकीको छाक टार्न सहज भएको हिमाली–१, बिच्छ्याका सब्बले थापाले बताउनुभयो ।
बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिमा रहेका छन् । यहाँका ४१ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने २४ घरपरिवार विस्थापित भएका छन् । वडा नम्बर ५ कवाडीमा मात्र १६ घरपरिवार विस्थापित भएका छन् भने ३२ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।
विद्युत्गृह बगाउँदा अन्धकार
बिच्छ्या खोलामा आएको बाढीले पावर हाउस बगाउँदा यहाँको हिमाली गाउँपालिका अन्धकार भएको छ । कवाडी खोलामा रहेको कवाडी लघुजलविद्युत् योजनाको नहर र पावर हाउस बगाएपछि सो गाउँपालिका अन्धकार भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही वर्षपहिला झन्डै दुई करोड रुपियाँमा सो परियोजना निर्माण गरिएको थियो । अहिले एक दिनमै त्यो सबै सखाप भयो । यसलाई मर्मत गर्न ठुलो रकमको आवश्यक पर्ने देखिन्छ । यसका लागि पालिकामा खासै त्यति ठुलो रकम छैन ।” बत्ती नभएर यहाँका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या भएको छ ।
खानेपानीको समस्या
हिमाली गाउँपालिका– १ र ५ का स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । उनीहरूले सधैँ खाने गरेको पानीको मुहान र पाइप बगाएपछि अहिले यहाँका स्थानीयलाई खानेपानीको समस्या भएको हो । बाढीले खाने गाँस, बस्ने बास र कमाइ गर्ने जमिन त बगायो । त्यति मात्र नभई अहिले यहाँको पाइप र मुहानसमेत बगाएपछि त्यहाँका स्थानीयवासीलाई खानेपानीको निकै समस्या हुने गरेको हिमाली गाउँपालिका–१, बिच्छ्याका छन्चलाल थाापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँमा खानेपानी थिएन । गत वर्ष यहाँका स्थानीय सरकारले गाउँमा खानेपानी पु¥याएको हो ।”
अहिले त्यो खानेपानीको पाइप र मुहान सबै पहिरोले बगाएपछि फेरि खानेपानीको समस्या सुरु भएको थापाले बताउनुभयो ।