• ३ भदौ २०८२, मङ्गलबार

एकमहिने साउने मेलाबाट २५ लाख भेटी सङ्कलन

blog

रेसुङ्गा पोखरीमा स्नान गर्दै दर्शनार्थीहरु । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास (गुल्मी), भदौ ३ गते ।
गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा चलेको एकमहिने साउने मेलाबाट २५ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । रेसुङ्गा संरक्षण समितिका कोषाध्यक्ष नेत्र बस्नेतका अनुसार एकमहिने साउने मेलामा रेसुङ्गा क्षेत्रबाट २५ लाख रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो ।

रेसुङ्गा पोखरी, सिद्ध थान, भ्यु टावर, दानपेटिका, यज्ञशालामा दर्शनार्थीहरुले चढाएको भेटीलाई एकमुष्ट सङ्कलन गरिएको हो । यसका साथै रेसुङ्गा क्षेत्रमा सञ्चालन भएको तीज गीत प्रतियोगिता, भजन प्रतियोगिता र शिविरबाट सङ्कलन भएको रकम पनि २५ लाख रुपियाँमा समावेश गरिएको हो । एकमहिने साउने मेला व्यवस्थापनलगायतका सम्पूर्ण कार्यमा १३ लाख रुपियाँ खर्च भएको बस्नेतले बताउनुभयो । रेसुङ्गा क्षेत्रको विकासका लागि आफूहरु झरी, पानी बादल केही नभनी खटेर लागेकोे उहाँको दाबी छ ।

एकमहिने साउने मेलामा देशका विभिन्न जिल्लाबाट दर्शनार्थीहरु आएकाले यसको महत्त्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयो । छिमेकी राष्ट्र भारतलगायत देशका सर्लाही, महोत्तरी, कास्कीलगायत लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका गरी कुल दुई लाख बराबर दर्शनार्थीले यस क्षेत्रको दर्शन गरेको भुसालको भनाइ छ ।रेसुङ्गा क्षेत्रमा अपार प्रकारका जडीबुटीका साथै मनमोह दृश्य रहेकाले यसलाई चिनाउनका नसकिएको उहाँको भनाइ छ । यसलाई पहिचान गरी विश्वसामु लैजान सकिने भएकाले यसमा सबैको साथ आवश्यक रहेको भुसालले बताउनुभयो ।

रेसुङ्गामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले हालसम्म गरिएका पापहरु नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएका भुसालले बताउनुभयो । सिद्धपोखरीमा स्नान गरी सिद्धको मन्दिरमा गएर दर्शन गर्नाले अधेगतिमा गएका पितृहरुको पनि उद्धार हुने मान्यता रहँदै आएको भुसालको भनाइ छ ।

मेला अवधिभर यज्ञशाला र सिद्धको मन्दिरमा धार्मिक प्रवचनसँगै रुद्री, चण्डी, शिवजीको दैनिक पूजा, वेद पारायण पाठ  विधिवत् रुपमा हवन  भएको थियो ।  

समुद्र सतहबाट आठ सय मिटरदेखि दुई हजार तीन सय ५० मिटरसम्म रहेको यस पहाडको नाम रेसुङ्गा रहनुमा विभिन्न कारण र किम्बदन्ती छन् । पहिला त्रेता युगमा महर्षि ऋष्यश्रृङ्गले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङ्गा नामाकरण भएको हो भन्ने भनाइ कतिपयको छ भने कसैको भनाइ यो क्षेत्र मगरात क्षेत्र भएकाले यो मगर भाषामा रेस भनेको नुहाउनुमा उपसर्ग जोडेर रेसुङ्गा नामकरण रहेको हो भन्ने भनाइ पनि रहँदै आएको छ ।

ऋष्यश्रृङ्गले साधनाको स्थानको रुपमा रेसुङ्गामा आई गरेको भन्ने भनाइ पनि छ । साथै श्रीकृष्णले रेसुङ्गामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुन डाँडामा बसी श्रवण गर्दथे र रुरुक्षेत्रका तपसीहरुको वर्षे आश्रम रेसुङ्गा नै थियो भनेर भनिन्छ ।  महाप्रभु लक्ष्मीनारायणबाट निर्मित पोखरी हिन्दु धर्मावलम्बीहरुका लागि सबै तीर्थ नदीको जलनिर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी, हरिबोधनी एकादशी र साउन महिनाभरि स्नान गर्नेहरुको भीड लाग्दछ । रेसुङ्गाको शिरमा निर्मित ४० फिट अग्लो भ्यूटावर चढेर दृश्य अवलोकन गर्दा साँच्चै नै स्वर्गमा रहेको अनुभूति गर्न सकिन्छ । यहाँबाट हेर्दा गुल्मीका धेरै भूभागलगायत बाग्लुङ, स्याङ्जा, अर्घाखाँची पाल्पा र प्युठानसम्मका स्थानहरु स्पष्ट रुपले देख्न सकिन्छ ।