डा. सजना थापा / डा. अतिसकुमार यादव
नेपालमा गधाका बारेमा धेरै कम मानिसलाई थाहा छ, जो जसलाई थाहा छ उनीहरूले समेत गधालाई हेयका दृष्टिले हेर्ने गर्छन् । यस्तो अवस्थामा गधा दिवसको जानकारी कत्तिलाई होला ? जानी राखौँ हरेक वर्ष मे ८ मा गधा दिवस मनाउने गरिएको छ ।
नेपालमा बाटोको पहुँच नभएको ठाउँमा गधा, खच्चड नै सरसामान बोक्न र सवारीको साधनका रूपमा प्रयोग हुँदै आएका छन्, विशेषगरी पहाडी क्षेत्रमा । उच्च पहाडी जिल्लामा खाद्यान्न, औषधि तथा निर्माण सामग्री ढुवानीमा यिनको ठूलो योगदान रहेको छ । यसर्थ यी पशुले हजाराैँ परिवारको जीविकोपार्जनमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन् ।
सबै सरोकारवालाले नेपालमा गधा, खच्चडले समुदायमा पु¥याएको योगदान मनन गर्दै यी जनावरप्रति सकारात्मक धारणा बनाउन अत्यन्त जरुरी छ । नेपालमा शताब्दीऔँदेखि गधालाई भारी बोकाउन प्रयोग गरिँदै आएको छ । विशेषगरी लुगा धुने धोबी समुदाय, गाउँ सहरको बाटामा सिलौटो, जाँतो बोकेर हिँड्ने कलन्दर समुदाय र माटोको भाँडा बनाउने कस्गर समुदायले गधा पाल्ने गर्दछन् ।
यी समुदाय अत्ति विपन्न वर्गमध्येमा पर्दछन् । उनीहरूको कमाइ र रोजीरोटीको एक मात्र साधनस्रोतका रूपमा गधालाई बुझ्न सकिन्छ । गधाको काँध र पिठिउँमा भारी राखेर सामान ओसारपसार गरी आयआर्जन गर्दै ती समुदायले आफ्नो घर व्यवहार चलाउँदै आएका छन् ।
गधा आश्व प्रजातिमा पर्दछ । यो घोडा र खच्चडको तुलनामा स्वभाव र व्यवहारमा सोझो र शान्त हुन्छ । गधाप्रति नेपाली समाजको दृष्टिकोण र व्यवहारका कारण यो जनावर हेपाई र क्रुरताको सिकार हुने गरेको छ । यसबाहेक सांस्कृतिक र धार्मिक रूपमा समेत गधा अपवित्र मानिन्छ । नेपालमा कुनै मानिसलाई मुर्ख, दिमाग नभएको वा अपमान गर्ने गधा शब्द प्रयोग गरिएको देखिन्छ । मानिसले गधालाई धेरै मुर्ख जनावर ठान्छन् तर वास्तवमा त्यस्तो हुँदैन ।
गधालाई कतै शितला देवीको वाहनका रूपमा पुज्ने पनि गरिन्छ । यसबाट गधाको धार्मिक महत्त्व देखिन्छ । यसको दूध, छाला र पिसाबलाई चीनमा प्राचीनकालदेखि प्राकृतिक उपचार पद्धतिमा प्रयोग गरिँदै आएको छ ।
नेपालका प्रायः हरेक घर गधाले बोकेका इँटाले बनाइएको भए पनि वास्तवमा थोरै मानिस वा नीति निर्मातालाई गधाको यस योगदानका बारे ज्ञान छ । घरपालुवा गधालाई मानिसले बेस्सरी काममा जोताउँछन् । यस प्राणीको दुर्दशाबारे थोरैलाई मात्र थाहा छ र तिनको हेरचाहमा त्यति ध्यान दिइँदैन पनि, मात्र काममा जोताइन्छ ।
सामाजिक दृष्टिकोण र व्यवहारले गर्दा गधाको सङ्ख्या निकै कम भएर गएको छ । जुन समुदायले गधा पाल्ने गरेका थिए उनीहरूले पनि गधाबाट सोचेको जति आम्दानी गर्न नसकेको तथा समाजमा प्रतिष्ठा बनाउन गाह्रो महसुस गरेर अन्य जनावरप्रति आर्कषण भई गधा पाल्न छाड्दै गएका छन् । यस कारण गधाको सङ्ख्या घट्दै गएको छ ।
गधालाई निर्माण सामग्री, खाना पकाउने ग्यास, खाद्यवस्तु, औषधि र मानिस बोक्न प्रयोग गरिन्छ । नेपालका विभिन्न समुदायको जीविकोपार्जनमा यस जनावरको धेरै हदसम्म योगदान रहेको छ । नेपालको बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपका बेला तथा ग्रामीण भेगमा र विकट क्षेत्रमा गधा, खच्चरले आवश्यक सामग्री ढुवानीमा ठूलो सहयोग गरेको तथ्य कसैबाट लुकेको छैन ।
आवास निर्माण र विकास निर्माण तीव्र हुँदा इँटा उद्योगको माग बढ्दै गएको छ । देशभर करिब १२ सय इँटा उद्योग रहेको अनुमान गरिएको छ । नेपालमा इँटा उत्पादन श्रमजीवीमा निर्भर रहेको छ र थोरै मात्र इँटा उद्योगमा यान्त्रिक वा आधुनिक प्रविधिको प्रयोग गरी उत्पादन भइरहेको छ । अधिकांश इँटा उद्योगले मानव र जनावरको प्रयोग गर्छन् ।
पहिलेपहिले उद्योगहरूमा आवश्यकताका आधारमा गधालाई सधैँ काममा लगाइने गरिन्थ्यो तर तिनको स्वास्थ्यमा खासै ध्यान दिइँदैनथ्यो । इँटा उद्योगका गधालाई प्रायः धेरै नै काममा जोताउने, क्षमताभन्दा बढी भारी बोकाउने र तिनको आधारभूत आवश्यकतालाई बेवास्ता गरिएको पाइन्थ्यो । असामान्य लगाम र काठीजस्ता उपकरणबाट हुने घाउ र आकस्मिक चोटपटक हुनु सामान्य कुरा थियो ।
विगतमा चिकित्सा सेवाको अभावले गर्दा धेरै गधाको सजिलै रोकथाम गर्न सकिने र उपचार गर्न सकिने रोगहरू जस्तै, कोलिक, रेबिज, ग्ल्यान्डरस, सरा, टेटानस आदिबाट पीडित भएर मृत्यु हुने गर्दथ्यो । गधालाई गरिने उपचार भनेको मालिकले गर्ने परम्परागत उपचार विधि थियो । जस्तै घाउ चोटपटकमा चुन र खरानी प्रयोग गर्ने तथा टेटानस देखिएमा कान काट्ने र बूढेसकाल वा अशक्त हुँदा बेवारिसे हुने गरी सडकमा छाड्ने चलन थियो ।
सामाजिक दृष्टिकोण र व्यवहारले गर्दा गधाको सङ्ख्या निकै कम भएर गएको छ ।
गधाको दुःख र पीडामा मल्हम लगाउन तथा पशु कल्याणका क्षेत्रमा काम गर्न एनिमल नेपाल नामको संस्थाले सन् २००९ देखि काम गरिरहेको छ । यस संस्थाले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका जिल्लामा रहेका इँटा उद्योगमा गधा, घोडा र खच्चडको डरलाग्दो अवस्था न्यूनीकरणका लागि काम गरिरहेको छ ।
इँटा उद्योगका गधा र तिनका मालिकको हकहित हुने गरी एकीकृत कार्यक्रम हाल सञ्चालन गरिएको छ । आवश्यकताका आधारमा चिकित्सा सेवा र परामर्श सेवा समेत भइरहेको छ ।
एनिमल नेपालले अशक्त तथा सडकमा छाडिएका गधा, खच्चडको उद्धार गर्ने र पुनस्र्थापना केन्द्रमा राख्ने गरेको छ । नेपालमा अनुमानित एक लाख ५० हजार अश्व प्रजाति घोडा, खच्चर, गधा रहेका छन् । यसमा घोडा र खच्चरको सङ्ख्या बढी छ । गधा निकै थोरै छन् । यसै कारण गधालाई संरक्षण गर्न यसको कल्याणमा उचित कदम चाल्न आवश्यक देखिन्छ ।
विश्वले मे ८ मा अन्तर्राष्ट्रिय गधा दिवस मनाउने गरेको छ । विश्वमा अन्यत्र गधाले सम्मानजनक व्यवहार पाए पनि नेपालमा यस प्राणीप्रति हेयको दृष्टि रहेको छ । यसर्थ सबै नेपाली समाजले गधाको कल्याण गर्ने र व्यवहारमा उदार हुनु जरुरी देखिन्छ ।