• २ कात्तिक २०८२, आइतबार

एसियाली युथ गेम्समा नेपालबाट पाँच खेलमा सात खेलाडी

blog

एसियाली युथ गेम्स खेल्ने नेपालका खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, कात्तिक २ गते । बहराइनमा हुने तेस्रो एसियाली युथ गेम्समा नेपालबाट पाँच खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ ।

ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । 

अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहनुभएको छ । 

टोलीलाई आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह सचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले बिदाइ गर्नुभयो । 

पहिलो टोलीका रुपमा मुवाँथाई टोली मङ्गलबार बहराइन जाने छ । गल्फका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जानुहुनेछ । यस्तै प्रतियोगितामा टेबलटेनिसका अन्तर्राष्ट्रिय अम्पायर तेजेन्द्रसिंह महराले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । 

यसैबिच नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र राहुल विश्वकर्माले एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुहुने भएको छ । 

दुबईस्थित इमिरेट्स गल्फ क्लबमा अक्टोबर २३ देखि २६ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन सोमबार दुबई प्रस्थान गर्ने राहुललाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार बिदाइ गर्नुभयो । अमेरिकामा रहनुभएका सद्भाव त्यत्तैबाट दुबई जानुहुनेछ ।