• १२ साउन २०८१, शनिबार

मनसुन पूर्ण सक्रिय नहुँदै क्षति बढ्यो

blog

काठमाडौँ, असार ७ गते  । मनसुन देशभर फैलिई नसक्दै जनधनको क्षति सुरु भएको छ । गत जेठ २२ गते नेपालमा मनसुन भित्रिएयता देशका विभिन्न स्थानमा बाढी, पहिरो र वर्षाका कारण १३ जनाले ज्यान गुमाइसकेका छन् । पहिरोमा परेर नौ जना र बाढीले अन्य तीन जना घाइते भएका छन् । पहिरोले ४६ घरपरिवार प्रभावित भएका छन् । बाढीले १० र भारी वर्षाले १४ घरपरिवार प्रभावित बनेका छन् । 

त्यस्तै मनसुनी चट्याङ र सर्पदंशबाट पनि मृत्युका घटना बढ्दै छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता सर्पदंशबाट तीन जनाको मृत्यु भएको छ । पूर्वमनसुन र मनसुनको एकीकृत तथ्याङ्क अनुसार चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ । 

मनसुनी विपत्ले क्षति बढाउन थालेपछि सरोकारवाला निकायको सक्रियता बढेको छ । विपत्ले गराउने जनधनको थप क्षति रोक्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणअन्तर्गत रहेको कमान्ड टोलीलाई सक्रिय बनाइएको प्राधिकरणले जनाएको छ । विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ पारित गरेसँगै कार्यान्वयनमा जाँदा टोली सक्रिय बनेको हो ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको कमान्डमा रहेको टोलीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायातलगायतका मन्त्रालयका उच्चाधिकारी एवं तीनवटा सुरक्षा निकाय र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्चाधिकारी रहनुभएको छ । 

टोली नेतृत्वले मनसुनजन्य विपत् आइहालेको खण्डमा तत्काल राहत र उद्धारलाई पहिलो प्राथमिकता दिएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बताउनुभयो । उहाँका अनुसार कमान्डको मातहतमा विपत् न्यूनीकरणका लागि २४ घण्टा खटिने उपसमितिलाई क्रियाशील बनाइएको छ । 

जसले विपत् आउन नदिन आवश्यक मौसमी सूचनाको प्रवाहलाई बढावा दिने, विपत् आइहाले तुरुन्तै घटनाबारे बुझ्ने, थप सहयोग आवश्यक परे केन्द्रबाट परिचालन गर्न सघाउने काम गर्छ । भौगोलिक रूपमै नेपाल बाढी–पहिरो, वर्षाजस्ता मनसुनी विपत्को उच्च जोखिम रहेको मुलुकमा पर्छ । उहाँले भन्नुभयो, “नचाहँदा पनि विपत्को सामना गर्नुपर्ने हुन्छ, त्यसको सामना गर्नकै लागि प्रतिकार्य योजना अनुसार लागेका छौँ ।”

पूर्वबाट निरन्तर वर्षा

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्णरूपमा अझै फैलिन सकेको छैन । मौसमविद् हीरा भट्टराईले भन्नुभयो, “पश्चिमी वायु बलियो हुँदा त्यहाँ मनसुन कमजोर बनेको छ, अझै केही समय लाग्छ सक्रिय बन्न ।” 

तर पूर्वतर्फको भूभागमा भने मनसुन भित्रिएदेखि निरन्तर जसो वर्षा हुने क्रम जारी छ । आइतबारदेखि मनसुनको अर्को बलियो प्रणाली पूर्वी भेगबाट नेपालका अन्य भेगमा प्रसार भइरहेको छ । जसका कारण आइतबारदेखि सोमबार बिहानको २४ घण्टामा पूर्वी नेपालको कन्काइ नदी आसपासमा सबैभन्दा बढी १५५ मिलिमिटर वर्षा भएको छ । 

मोरङमा पनि ८० मिलिमिटरभन्दा माथिको वर्षा भएको महाशाखाले जनाएको छ । अबका दिनमा वर्षाको चाप बढ्ने भएकाले मनसुनजन्य विपत्को जोखिम पनि उच्च रूपमा बढ्ने भएकाले सरोकारवाला निकायलाई जोखिम न्यूनीकरण गर्न, सतर्क रहन र उद्धारका लागि तयार हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।