काठमाडौं, असार ६ गते । काठमाडौं सहर जहाँ स्वास्थ्य उपचारका लागि अत्याधुनिक सुविधा सम्पन्न अस्पतालदेखि पाइलैपिच्छे क्लिनिक र स्वास्थ्य चौकी छन् ।
ग्रामीण क्षेत्रका पालिका तहमा उपचार हुन नसके यहाँका अस्पताल र स्वास्थ्यकर्मी नै अन्तिम विकल्प मानिन्छन् । २१ औं शताब्दीमा प्रविधिले व्यापक फड्को मारेको छ । वैज्ञानिक युग भए पनि आधुनिक सहरमा उपचारका लागि धामी, झाँक्री खोज्ने बिरामी उत्तिकै भेटिन्छन् ।
अस्पतालको उपचार गर्दा–गर्दा निराश एवम् धनसम्पत्ति गुमाएर हार खाएकाहरु तान्त्रिक विधिको उपचारका निम्ति पुग्ने गर्छन् । विगतमा ग्रामीण क्षेत्रमा ‘भगवान भरोसा’ परम्परागत स्वास्थ्य उपचारको विकल्प थिएन । तर, प्रविधिको उच्चतम प्रयोग भइराखेको वैज्ञानिक युगमा धामीको विश्वास गर्नेको संख्या कम छैन ।
नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ भन्नुहुन्छ, “गाउँ–ठाउँमा स्वास्थ्य चौकी थिएनन् । हात, खुट्टा भाँचिदा जङ्गलको जडीबुटी प्रयोग गर्नुपर्थ्यो । त्यसखाले उपचार विधिको संरक्षण हुनुपर्छ भन्ने ध्येयका साथ हामी यस क्षेत्रमा लाग्यौं ।”
भिडियोः मनोजरत्न शाही र केशव गुरुङ
काठमाडौंको बालाजु चोकस्थित एक मन्दिरमा झाँक्री सङ्घको कार्यालय छ । सोही कार्यालयमा बसेर दैनिक सयौं बिरामीलाई सेवा दिने गरेको थिङ बताउनुहुन्छ । “काम्ने, छोप्ने, एक्कासि बेहोश भएर ढल्ने बिरामी आउनुहुन्छ, उहाँहरुको सेवाभावले उपचार गर्ने हो”, थिङले भन्नुभयो । धामी, झाँक्री र माताको नाममा मनपरी शुल्क लिएर सर्वसाधारणलाई ठग्ने प्रचलन बढ्दै गएकोप्रति उहाँ असन्तुष्ट हुनुहुन्छ ।
यसरी ठगी गर्नेको पहिचान गर्न संघले अनुगमन टोली बनाएको छ । व्यापारिक हिसाबले भन्दा पनि परम्परा र संस्कारको संरक्षणका लागि यो काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँ धामी, झाँक्री र माताहरुले मनपरी उपचार शुल्क लिने गरेको र यसखाले ठगी नियन्त्रणका लागि संघले अनुगमन टोली ठाउँ–ठाउँमा पठाएको बताउनुहुन्छ ।
२० हजारदेखि एक लाखसम्म उपचार शुल्क लिनु गलत भएको उहाँको भनाइ छ । उपचारको नाममा पछिल्लो समय दुर्व्यवहार र अपराध गर्नेलाई कारबाही हुनुपर्ने उहाँको माग छ ।
‘‘झाँक्री सङ्घले उपचारको नाममा दुव्र्यवहार र अपराध गर्नेलाई कारबाही हुनुपर्ने भनेर भन्दै आएको छ । यो व्यवसाय होइन, संस्कारको रुपमा विकास हुनुपर्छ’’, थिङ भन्नुहुन्छ । उपचारको नाममा अपराध गत पुसमा मात्रै काठमाडौंको रानीवनमा ‘माता’ भनिने उमा शाहीको आश्रममा उपचारको नाममा १४ वर्षकी किशोरी रोशनी श्रेष्ठको ज्यान गयो ।
टाउको दुखेको निको पार्ने भन्दै आमा राधिकाले उनलाई पुस ३ गते माताको आश्रममा छोड्नुभएको थियो । माताले कुटपिट गरेको भन्दै झाँक्री सङ्घले विरोध जनाएको छ । यी सबै कुराको नियमनका लागि पनि देशैभरका झाँक्रीलाई एउटै संस्थामा ल्याउनुपर्ने उहाँको भनाइ छ । झाँक्री सङ्घमा जात र कुनै विचार विशेषभन्दा पनि ब्राह्मण, क्षेत्री, आदिवासी जनजाति र दलित समुदायका प्रतिनिधि छन् । जसले ढ्याङ्ग्रो समाउँछ, ती सबैलाई झाँक्री सङ्घमा समावेश गरिएको उहाँको भनाइ छ । संस्कार संरक्षणका लागि राष्ट्रिय संस्थाको रुपमा सङ्घलाई विकास गरेको उहाँले बताउनुभयो ।
रामेछापको सुनापति गाउँपालिका पुर्ख्यौली घर हुनुभएका थिङ पाँच वर्षको उमेरमा आफ्नो शरीरमा झाँक्री चढेको बताउनुहुन्छ । “मेरो जूजू बाजे जान्ने झाँक्री हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
यो पुस्तामा सर्छ भन्ने परम्परागत र धार्मिक विश्वास समुदायमा रहेको उहाँले बताउनुभयो । त्यसयता, विगत १३ वर्षदेखि उहाँ यस क्षेत्रमा हुनुहुन्छ र सङ्घमार्फत सात सयभन्दा बढी झाँक्री जोडिएका छन् । नेपालका सबै जिल्लामा झाँक्री अर्थात् तामाङ भाषामा भनिने “बन्बो” को मूर्ति निर्माण गरिने भावी योजना सङ्घको छ ।
पहिला कुन जमिनमा घर बनाउँदा ठीक हुने, कतापट्टि फर्काउने, मूल ढोका कता राख्ने र प्रकृति पूजनको सबै काम र यसको शुभ साइत झाँक्रीले नै भन्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ । मानवीय विकाससँगै अस्पतालको उपचारलाई जोड दिनुपर्ने भन्नुहुँदै उहाँले सकेसम्म पीडितको निःशुल्क सेवा गर्न र झाँक्रीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।