• ६ जेठ २०८१, आइतबार

मिस नेवाः प्रतिभा प्रस्फुटन गर्ने मञ्च हो

blog

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी हुन् खुसी डङ्गोल । उहाँको पहिचान खेलाडीमा मात्र सीमित छैन । मिस नेवाः प्रतिस्पर्धामा विजेता हुनकै लागि तयारीमा हुनुहुन्छ । हाल स्नातक पहिलो वर्षमा अध्ययरत १९ वर्षीय डङ्गोल आफ्नो ठाउँ, गाउँको विकासका लागि मिस नेवामा प्रतिस्पर्धीका लागि गएको बताउनुभयो । क्रिकेटमा उत्कृष्ट बलरका रूपमा स्थापित गरिसक्नुभएको डङ्गोलसँग गोरखापत्रका लागि यलु जोशीले मोडलिङ, संस्कृति र खेललगायत विविध विषयमा गरेको कुराकानीको अंश :

नेपाली महिला राष्ट्रिय क्रिकेट खेलाडीबाट मोडलिङमा प्रवेश गर्दै हुनुहुन्छ ? 

म हिजो, आज र भोलि सधैँ नै क्रिकेट खेल्छु । मलाई ‘खुसी’ भनेर चिनाउने नै क्रिकेट खेल हो । मिस नेवा मोडलिङ क्षेत्रभन्दा पनि आफ्नो परम्परा सिक्ने र प्रतिभा प्रस्फुटन गर्ने मञ्च जस्तो लाग्छ । मलाई क्रिकेटले पहिचान दियो अब आफ्नो संस्कृतिलाई बचाउन मिस नेवाःको मञ्चबाट गर्न सक्छ जस्तो लागेर यस प्रतियोगितामा भाग लिएको हो । 

कसरी सौन्दर्य प्रतियोगिता मिस नेवाःमा प्रवेश गर्नुभयो ?

मलाई सौन्दर्य प्रतियोगितातर्फ कहिले पनि इच्छा नै लागेन तर मेरो बुवाले सानैदेखि मिस नेवाःमा जानुपर्छ भनेर भन्नुहुथ्यो मैले हस् भनेर टारिदिन्थे । पछि खेल मैदानमा आइसकेपछि कहिले पनि सोचेको पनि थिएन म कुनै दिन सौन्दर्य प्रतियोगितामा भाग लिन्छु भनेर तर केही चिज हुन लेखेको छ भने हुन्छ होला । मैले मेरो बुवाको कुरालाई नाइँ भन्न नसक्ने भएर मैले मिस नेवाःमा आउने निधो गरेँ । जीवनमा केही नयाँ पनि गर्न‘पर्छ भनेर यहाँ आएकी हुँ । 

बुवाका कारण मात्र आउनुभएको कि आफूलाई पनि मन थियो ? 

पहिले त मन थिएन तर अहिले मन छ । एकबारको जुनीमा केही नयाँ चिज गर्नुपर्छ भन्ने सोचाइले अहिले मन लाग्यो । अहिलेको महानगरपालिकाको उपमेयर सुनिता डङ्गोलका कारण हो आउँ जस्तो लागेको । उहाँले पनि हाम्रो संस्कृति, लिपि, नेपाल भाषालाई कति धेरै प्रचारप्रचार गरिरहनुभएको छ । उहाँ नै मेरो लागि प्रेरणाको स्रोत हो । उहाँको बोल्ने शैली, काम गर्ने तरिका मनपर्छ । 

 मिस नेवाः नै किन रोज्नुभयो ? 

यो नेवारी सौन्दर्य प्रतियोगिता भएको कारण हो । यसमा आफ्नो परम्परा संस्कृतिलाई बढी महŒव दिने भएको कारण पनि मन भएको हो । फेरि म संस्कृति परम्परा भनेपछि मरिहत्ते गर्ने मान्छे हो । नेवारी संस्कृतिलाई मेलै पनि केही हदसम्म प्रचारप्रसार गर्न सक्छु जस्तो लाग्यो । कुनै पनि ठाउँको सौन्दर्यलाई प्रचारप्रसार एउटा सेलिब्रेटीले भन्दा कसैले गर्न सक्दैन जस्तो लाग्छ । म टोखाको बासिन्दा हो । मलाई पनि मेरो ठाउँको मान्छेले मात्र चिन्छ त्योभन्दा बाहिर कसैले पनि चिन्दैन । यस प्रतियोगितामा आएपछि टोखाको प्रतिनिधित्व पनि गर्न आएको छ भनेर चिन्छ र मैले पनि टोखाको सौन्दर्यलाई बाहिर ल्याउन सक्ने भएका कारण मात्र यस प्रतियोगितालाई रोजेको हो ।

विजेता हुन्छु जस्तो लाग्छ त ? 

खेलाडी भएपछि जित्छु नै भनेर मैदानमा जाने हो । आफ्नो बेस्ट दिने हो हार–जित त भइहाल्छ । मेरो मुख्य उद्देश्य भनेको टोखाको संस्कृति, परम्परा र सौन्दर्यलाई विश्वसामु चिनाउने हो र हारे पनि जिते पनि यो काम भने गर्छ‘ । 

कसरी क्रिकेट खेलमा प्रवेश गर्नुभयो ? 

कक्षा ९ मा हुँदादेखि यस खेलमा लागेको हो । मलाई फुटबल खेल मनपथ्र्यो तर क्रिकेटको प्रशिक्षकका कारण यस खेलमा होमिएको हो । उहाँकै प्रशिक्षणबाट मैले धेरै राम्रो खेल प्रदर्शन गर्न सकेको हो । प्रधानमन्त्रीकप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मेरो खेल सुरु भएको हो । जसबाट उत्कृष्ट बलरको उपाधि हात पार्न सफल भए । त्यसपछि मैले कहिले पनि पछाडि फर्केर हेर्नुपरेन । त्यसलगत्तै सिनियर टिमका लागि सेलेक्सन भयो । चीनमा भएको महिला क्रिकेट प्रतियोगितामा पनि उत्कृष्ट खेल प्रस्तुत गरेको थियो । 

हाल केमा व्यस्त हुनुहुन्छ, क्रिकेट कि मोडलिङ ? 

अहिले त मेरो अध्ययन र समाज सेवामा समय दिइरहेको छु । क्रिकेट प्रशिक्षण लिने समयमा मेरो खुट्टामा समस्या आएको हुनाले मेरो प्रशिक्षकले अहिले आराम गर्न सुझाव दिन्ुभएको छ । मिस नेवाःको प्रशिक्षणलाई केही समय बाँकी भएका कारण यस प्रतिस्पर्धामा आफू उत्कृष्ट हुन संस्कृति, परम्परा पनि सिक्दै छु । सामाजिक कार्यमा पनि मेरो बुवासँगै मिलेर काम गरिरहेकी छु ।