साहारा लिम्बू
फुङलिङ, असार ११ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करण आगामी साउन २४ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्लाकै प्रतिष्ठित प्रतियोगिताको रुपमा परिचित गोल्डकपको तेस्रो संस्करण साउन २४ गते अर्थात् जनैपूर्णिमाको दिनदेखि सुरु गर्ने निर्णय भएको हो ।
लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले सञ्चालन गर्दै आइरहेको गोल्डकप आगामी साउन २४ गते जनै पूर्णिमादेखि सुरु भएर ३१ गते श्रीकृष्ण जन्माष्टमीका दिन फाइनल हुने समितिका सचिव टिकेन नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार गोल्डकपको तयारी गर्न समितिले अस्थायी प्याराफिट निर्माणको पहल सुरु गरेको छ । जसका लागि आवश्यक बाँस बिक्री गर्न चाहने कृषकलाई प्रस्ताव आह्वान गरेको छ । समितिले मङ्गलबार सूचना जारी गर्दै बाँस खरिदका लागि प्रस्ताव आह्वान गरेको हो । न्यूनतम मूल्यमा बिक्री गर्ने कृषकबाट बाँस खरिद गरिने समितिले जनाएको छ । अस्थायी प्याराफिट निर्माण गर्न करिब तीन हजार प्रति बाँसको आवश्यक पर्ने समितिले जनाएको छ ।
गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ । प्रतियोगिताको विजेता, उपविजेताको पुरस्कार राशिको विषयमा समेत छलफल भइरहेको अध्यक्ष सागर मादेनले बताउनुभयो । उहाँका अनुसार समितिका सल्लाहकार, पूर्वअध्यक्षहरूसँग आवश्यक छलफल गरि पुरस्कारको राशि र आमन्त्रित क्लबको टुङ्गो लगाइने छ ।
प्रथम संस्करणमा तीन लाख, दोस्रो संस्करणमा पाँच लाख रुपियाँ नगर पुरस्कार प्रदान गरिएको गोल्डकपको पुरस्कार राशि यस वर्ष बढाउने चर्चा भइरहेको छ । आम्दानीका आधारमा पुरस्काराशी वृद्धि गर्ने तयारी भइरहेको कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो ।