ललितपुर, असार ७ गते । ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण भएको मुलुकको पहिलो ‘फ्लाइओभर’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सो ‘फ्लाइओभर’ सञ्चालनमा आएको हो । उद्घाटनका क्रममा प्रधानमन्त्रीले प्रहरी उच्च अधिकारीको समेत साथ लिनुभयो ।
प्रधानमन्त्री ओलीले शिलालेख अनावरण गरेसँगै सहरी पूर्वाधारमा मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । यो ‘फ्लाइओभर’ ले सो क्षेत्रमा सवारीसाधनको जामको समस्या समाधान भएको छ । यो सहरी पूर्वाधारमा पहिलो ‘फ्लाइओभर’ हो । यसअघि राजधानीको कलङ्कीमा अन्डरपास निर्माण भई सञ्चालनमा आइसकेको छ ।
प्रधानमन्त्री ओलीले बहुआयामिक र चौतर्फी विकासमा मुलुक अगाडि बढिरहेको स्पष्ट गर्दै विकासमा सबैको साथ र विश्वास चाहिने बताउनुभयो । चक्रपथमा बढ्दै गइरहेको सवारी चापलाई व्यवस्थापन गर्ने सरकारको नीति तथा कार्यक्रम अन्तर्गत ‘फ्लाइओभर’ को निर्माण गरिएको हो । यो ‘फ्लाइओभर’ निर्माणबाट सम्पूर्ण चक्रपथ, ललितपुरको मङ्गलबजार–इमाडोल–लुभू सडकखण्डमा सवारीसाधनको आवागमन सहज हुनुका साथै यस क्षेत्रकै ट्राफिक व्यवस्थापनमा मद्दत पुग्ने छ ।
अब फलाम र स्टिल
कार्यक्रममा प्रधानमन्त्री ओलीले विकासका आयामको चर्चा गर्नुभयो । उहाँले नेपाललाई सय वर्षलाई पुग्ने फलाम र स्टिल उत्पादन गर्ने बताउँदै छिट्टै नै धौवादी फलाम कारखाना सञ्चालनमा ल्याइने छ भन्नुभयो । उहाँले थप्नुभयो, “हामी धौवादी फलाम कारखाना अघि बढाउँदै छौँ । धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै हामीले नेपाललाई सय वर्षलाई पुग्ने फलाम, स्टिल आदि कारखाना यहाँ स्थापना गर्ने छौँ । त्यसले देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउने छ । त्यसले विदेश जाने मुद्रा नेपालमै रहन्छ । वार्षिक ठुलो आम्दानी त्यहाँबाट हुने छ । धेरैले रोजगारी नेपालभित्र पाउने छन् । अरू खनिजको उत्खनन हुन्छ ।”
मुलुक विकासको बाटोमा लगातार अगाडि बढिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुवात पनि मैले नै गरेको थिएँ । कृषिको आधुनिकीकरण गर्ने छौँ ।
नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउने छौँ ।”
सुनकोशी–मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताउनुभयो । उहाँले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त नगर्न सबैसँग आग्रह गर्दै आशा र सम्भावनालाई पहिल्याउँदै जान सुझाउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुककै पूर्वाधार विकासको इतिहासमा पहिलो पटक ‘फ्लाइओभर’ उद्घाटनमा सहभागी हुन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै मुलुक पूर्वाधारको क्षेत्रमा फड्को मार्ने अवस्थामा पुगिरहेको बताउनुभयो । उहाँले केही महिनापछि मुलुककै पहिलो अत्याधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी भइरहेको जानकारीसमेत दिनुभयो । पूर्वपश्चिम र उत्तर दक्षिण जोड्ने राजमार्ग र चारदेखि छ लेनसम्मका पुल निर्माण भइरहेको जानकारीसमेत उहाँले दिनुभयो ।
‘इपिसी’ मोडेलमा निर्माण
नेपालमा पहिलो पटक इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा यो ‘फ्लाइओभर’ निर्माण भएको हो । यस मोडेल अनुसार निर्माण कम्पनीले सुरुङमार्ग निर्माणको डिजाइन र कमिसनिङ स्वयम् आफैँले गर्नुपर्ने हुन्छ । यस्तो मोडलमा निर्माण कम्पनीले डिजाइन, खरिददेखि कन्स्ट्रक्सनसम्मको काम आफैँले गर्नुपर्ने हुन्छ ।
त्यसै गरी फ्लाइओभर निर्माण भई सञ्चालनमा आएको पाँच वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डिएलपी)’ सम्बन्धित निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ । ‘डिएलपी’ को अवधिमा फ्लाइओभरको मर्मतसम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुने छ । यसैबिच प्रधामन्त्री ओलीले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् ग्वार्को ‘फ्लाइओभर’ सञ्चालनमा आएको अवसरमा खुसी व्यक्त गर्नुभएको छ । “सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीहरूले अहोरात्र दुःख र मेहनत गर्नु परेको हुन्छ । ट्राफिक प्रहरीका वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ग्वार्को ओभरपासको उद्घाटन गर्दा आज मलाई साक्षी बन्ने अवसर मिल्यो ।” उहाँले उल्लेख गर्नुभएको छ ।