• ६ असार २०८२, शुक्रबार

समयमै राष्ट्रिय खेलकुद

blog

राष्ट्रिय गौरव बढाउन खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । खेलकुद क्षेत्रबाट राष्ट्रिय गौरव बढाउन नेपालमा अनेक सम्भावना भए पनि यो क्षेत्र चाहे जसरी अगाडि बढ्न सकेको छैन । राष्ट्रिय खेलकुदले नियमितता पाउन सकेको छैन । विसं २०३८ मा पहिलो पटक आयोजना भएको राष्ट्रिय खेलकुद अहिले १० औँ संस्करणको नयाँ मिति निर्धारणको चर्चासम्म आइपुग्दा ४४ वर्ष पुगिसकेको छ । यद्यपि अहिले कर्णाली प्रदेशमा हुने भनिएको १० औँ संस्करण पनि पूरा भएको छैन । प्रत्येक दुई वर्षमा गरिने भनिएको नेपालको सर्वाधिक ठुलो खेलकुद महोत्सवको आयोजनाको गति निकै सुस्त छ । २०७९ कात्तिकमा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनमा दुई वर्षपछि कर्णालीमा भेट्ने वाचा गर्दै विश्राम लिएको थियो । समय तालिका अनुसार १० औँ संस्करण २०८१ मङ्सिर २ देखि ९ गते हुनुपर्ने थियो तर अहिलेसम्म १० औँ संस्करण हुन सकेको छैन । यसबिच तीन पटक मिति तय भएर पनि  सरेको सर्‍यै छ । पोखरामा तोकिएको मिति सुरुवातमै अलपत्र पर्‍यो । दोस्रो पटक तोकिएको २०८१ चैत २३ देखि ३० गतेसम्म थियो । त्यसपछि २०८२ जेठ ३ देखि १० गतेसम्म हुने भनिए पनि भएन । नयाँ मिति पनि तोकिएको छैन ।

विश्वका ठुला खेलकुद मेला ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदकै स्वरूपमा राष्ट्रिय खेलकुद हुने गर्छ । विश्वको सबभन्दा ठुलो खेलकुद मेला ओलम्पिकको आयोजना निकै कठिन हुन्छ । विश्वभरका राष्ट्रका १० हजारभन्दा बढी शीर्ष खेलाडीले भाग लिने ओलम्पिक आर्थिक दृष्टिकोणले पनि बोझिलो हुन्छ । सुरक्षालगायत अन्य पक्ष पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ तर पनि प्रत्येक आयोजकले ओलम्पिकलाई समयमै गरेर सफल बनाएका छन् । प्रत्येक चार वर्षमा हुने ओलम्पिक सन् १८९६ मा सुरु भएको हो । ओलम्पिकको ३३ औँ संस्करण भइसकेको छ । १२९ वर्षको इतिहासमा ओलम्पिकको तय भएको मिति एक पटक मात्र सरेको छ । त्यो पनि कोभिड महामारीले ३२ औँ संस्करण एक वर्ष ढिला भएको थियो । नेपालमा दुई/दुई वर्षमा आयोजना गर्ने प्रावधान अनुरूप अहिलेसम्म राष्ट्रिय खेलकुदको २२ औँ संस्करण हुनुपर्ने हो । १० वटासम्म पुग्न पनि कठिन भएको छ । अलिकति इतिहास पनि हेरौँ । राष्ट्रिय खेलकुदका सुरुका तीन संस्करण समयमै आयोजना भए । दोस्रो संस्करण पोखरामा २०४० साल र तेस्रो संस्करण २०४२ सालमा वीरगन्जमा सम्पन्न भयो । त्यसपछि भने विविध कारणले यस प्रतियोगिताले समयमै निरन्तरता पाउन सकेन । तेस्रो राष्ट्रिय खेलकुद भएको १३ वर्षपछि मात्र २०५५ सालमा नेपालगन्जमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना भएको थियो । काठमाडौँमा भएको पाँचौँ राष्ट्रिय खेलकुद हुन पनि यसले ११ वर्ष पार गर्नु परेको थियो । पाँचौँ संस्करण पहिले निर्धारण गरिएको सुदूरपश्चिममा हुन नसक्ने भएपछि काठमाडौँमा भएको थियो । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिमको कैलाली, कञ्चनपुर र डडेलधुरामा २०६८ साल र २०७३ सालमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । यसै गरी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ सालमा बाँके, बर्दिया, दाङलगायत जिल्लामा आयोजना गरियो । त्यसपछि नवौँ संस्करण पोखरामा हुन पनि चार वर्ष पर्खनु परेको थियो ।

राष्ट्रिय खेलकुद एकदमै महत्वपूर्ण प्रतियोगिता हो । खेलकुद अभियानलाई विकेन्द्रीकरण गरी खेलाडीको दक्षता वृद्धि गर्न यो महत्वपूर्ण छ । राष्ट्रिय खेलकुदले खेलक्षेत्रको पूर्वाधार विस्तारमा ठुलो भूमिका खेल्छ । सङ्घीयतापछि आयोजक प्रदेशमा राष्ट्रिय खेलकुद हुने भएपछि ठुलो उत्साह छाउने गर्छ । खेलकुद क्षेत्रका आर्थिक लाभ पनि छ । सम्बद्ध क्षेत्रका आर्थिक जीवनलाई सकारात्मक प्रभाव पार्छ । खेल पर्यटनलाई पनि बढावा दिन्छ । त्यति मात्र होइन, राष्ट्रिय खेलकुद देशभरकै खेलाडीका लागि प्रतिभा, क्षमता र खुबी देखाउने ठुलो मञ्च हो । यसलाई सरकारले प्राथमिकतामा राख्नु पर्छ । बजेट विनियोजन गरी पूर्वाधारसमेत विस्तार गरिसकेपछि राष्ट्रिय खेल महोत्सव हुन नसक्नु राम्रो होइन । खेलकुद क्षेत्रमा अनावश्यक राजनीतीकरण भएको भनेर आलोचना गर्नेहरू पनि छन् । त्यस्ता आलोचकलाई स्थान दिने गरी राष्ट्रिय खेलकुद जस्तो महान् पर्वलाई पटक पटक पछाडि धकेल्नु हुन्न । वास्तवमा राष्ट्रिय खेलकुदलाई राष्ट्रिय गौरवका साथ मुख्य प्राथमिकतामा राख्नु पर्छ । खेलकुदलाई देशको गौरव, खेलाडीको प्रतिभा र व्यावसायिक जीवनको उन्नयनसँग जोड्नु जरुरी छ । त्यसैले पनि दसौँ राष्ट्रिय खेलकुद अब चाहिँ ढिला हुँदैन ।