• ४ साउन २०८१, शुक्रबार

गौतम बुद्ध विमानस्थल र पर्यावरण

blog

एक्काइसौँ शताब्दीमा हवाईयात्रीको सङ्ख्या विश्वमा अभूतपूर्व रूपले बढिरहेको छ, बढ्ने क्रम जारी रहने सम्बद्ध विज्ञ बताउँछन् । राइट दाजुभाइबाट हवाईजहाज निर्माण भएदेखि हाल चलनचल्तीमा रहेका विशालकाय बोइङ र एयर बस ३८० ले ‘ग्लोबल भिलेज’को अवधारणालाई साकार बनाएको छ । केही दशकअघिसम्म एसियाबाट पश्चिम गोलार्ध अमेरिका पुग्न पानीजहाजबाट छ महिना लाग्थ्यो । अहिले केही घण्टाको अन्तरालमा संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु सामान्य भएको छ । यो सबै आधुनिक विमान र त्यसैअनुरूपको विमानस्थल निर्माणले सम्भव भएको हो । 

कोभिड–१९ को कारणले अन्तर्राष्ट्रिय आर्थिक गतिविधि केही शिथिल भए पनि यसमा क्रमशः सुधार आएपछि हवाईयात्रुको सङ्ख्यामा राम्रो वृद्धि भएको एयरलाइन्सले जनाएको छ । ‘स्टेट अफ दी आर्ट’ मानिएको बेइजिङ क्यापिटल एयरपोर्ट, बैङ्ककको सूवर्णभूमि, सिङ्गापुरको चाङ र दक्षिण कोरियाको इञ्चेन एयरपोर्ट आफ्नो पुरानो लयमा फर्कन थालेको पर्यटन व्यवसायी बताउँछन् ।

हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हाल सरदर दैनिक दुई हजारको सङ्ख्यामा हवाईयात्रुको आगमन भइरहेको जानकारीमा आएको छ । निकै ढिलो भए पनि ७२ वर्षपछि राजधानीबाहिर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सञ्चालनमा आएको छ । त्यसै दिन कुवेतबाट अल जजिराले ‘म्याडेन फ्लाइट’ गर्नु हाम्रा लागि खुसीको कुरा हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौगोलिक अवस्थितिका कारणले ठूला विमानका लागि प्राविधिक हिसाबले त्यति उपयुक्त नरहेको नागरिक उड्डयन क्षेत्रका विज्ञ बताउँछन् । भैरहवा वरिपरि डाँडा नभएकाले उडान र अवतरण गर्न जहाजलाई सहज हुनेछ । 

विगतमा बेलायती र भारतीय सेनामा मात्र रोजगारीका लागि विदेशिने नेपालीको परम्परामा धेरै परिवर्तन आएको छ । नेपाली मध्यपूर्वका मुलुक साउदी अरब, कुवेत, बहराइन, ओमान मात्र होइन, मलेसिया, बेलायत, बेल्जियम, जर्मनी, पोर्चुगल, रसिया र अफ्रिकाका केही मुलुकमा समेत विभिन्न पेसा तथा व्यवसायमा संलग्न रहेको कुरा ‘एनआरएन’को केही समयअघि काठमाडौँमा सम्पन्न अधिवेशनबाट जानकारीमा आएको थियो । नेपाली ‘डायस्पोरा’को यहाँको आर्थिक तथा सामाजिक संरचनामा ठूलो प्रभाव छ ।

नेपालको अर्थतन्त्र ‘रेमिट्यान्स’ले धानेको छ भन्नेमा सबै एकमत छन् । पर्यटकीय मौसम सेप्टेम्बरदेखि नोभेम्बर र फेब्रुअरीदेखि मेसम्म बाह्य पर्यटक र दशैँ, तिहार, छठ तथा फागुमा विदेशमा रहेका नेपाली ठूलो सङ्ख्यामा स्वदेश फर्कन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक दुई, तीनवटा हवाईजहाज अवतरण हुँदा घण्टौँ अध्यागमन काउन्टर तथा भन्सार जाँचमा घुइँचो लाग्नु सामान्यझैँ भएको हवाईयात्रुको भनाइ छ । 

त्रिभुवन विमानस्थलको विकल्पमा भैरहवामा गौतम बुद्ध विमानस्थल सञ्चालनमा अउनु हामी सबै नेपालीका लागि खुसीको कुरा हो । छिमेकी भारतको असहयोगले गर्दा गोरखपुर (भारत)को आकाश मार्ग हुँदै छोटो समयमा अवतरण गर्न सक्ने जहाज भैरहवाभन्दा धेरै पर रहेको सिमरा क्षेत्रको आकाश मार्ग प्रयोग गर्दै पूर्वबाट पश्चिम अनावश्यक चक्कर लगाउन बाध्य छ । भारतले कुशीनगर (बुद्धले निर्वाण गरेको ठाउँ)मा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण सम्पन्न गरेर केही महिनाअघि उडान गर्न उसलाई कुनै सुरक्षाको समस्या भएन ।

गोरखपुरमा भारतीय वायुसेनाको सानो छावनीको हवाला दिँदै नेपाललाई हवाई मार्ग दिन चाहेको छैन । वर्षौं अघिदेखि नेपालले उक्त हवाई मार्ग प्रयोग गर्न दिन भारतसित अनुरोध गरे पनि हालसम्म स्वीकृति दिएको छैन । नेपाल तथा भारत दुवै आइकावो (अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन)को सदस्य भएकाले भारतले नेपाललाई आफ्नो आकाश मार्ग दिन्नँ भन्न सक्दैन । यसका लागि नेपाल उच्च राजनीतिक तहबाट अग्रसरता लिई यो समस्याको निराकरण गर्नेतर्फ लाग्नुपर्छ । 

सन् २०१८ मा नेपाल सरकारको वातावरण विभागले वातावरणीय प्रदूषण मापन सर्वेक्षणमा लुम्बिनी प्रदूषित सहरमा परेको थियो । त्यसैगरी नेपाल सरकार वातावरण विभागको सहकार्यमा रामप्रसाद रेग्मी, प्राध्यापक त्रिविको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय र नारेल प्रयोगशालाबाट उक्त क्षेत्रको (सिमानावारिका उत्सर्जन गतिविधि अनुसन्धान गर्ने गरी) वायु प्रदूषण उत्सर्जनको 

नक्साङ्कन, वायुमण्डलीय अवस्थिति अध्ययन गरिएको थियो । बुटवललाई केन्द्रबिन्दु मानी चार हजार नौ सय वर्गकिलोमिटर पाल्पाको उत्तरी सीमादेखि नौतनवा (भारत) र पूर्वमा दुम्कीदेखि पश्चिममा तौलिहवासम्म ड्रोन सोनिक डिटेक्सन एण्ड रेन्जिङ (सोडार), रेडियो एकस्टिक साउन्ड सिस्टम (रास)जस्ता उपकरण प्रयोग गरी उक्त क्षेत्रमा सक्रिय स्रोतबाट उत्सर्जन भइरहेको सूचीकृत प्रदूषण हरेक एक वर्गकिलोमिटर फैलावटमा नक्साङ्कन गरिएको थियो । 

अर्को गम्भीर विषय हो– त्यहाँको प्रदूषणले अशोक स्तम्भमा पारेको नकारात्मक असर । सन् २०१६ मा युनेस्कोबाट आएका वैज्ञानिकले अध्ययन गर्दा अशोक स्तम्भमा सिमेन्टका कण टाँस्सिएको र त्यसको सफाइ गर्दा क्षति पुग्ने देखिएको थियो । अशोक स्तम्भले नै गौतम बुद्ध लुम्बिनीमा जन्मेको प्रमाणित गर्छ र जसको संरक्षणको सवालमा कुनै पनि उद्योग गौण हुनुपर्ने हो । दशकअघि भारतको ‘आकलन’ तजमहल (आगरा) जनिक फाउन्ड्री (फलाम लगाउने कारखाना) उद्योगबाट निस्कने धुवाँले असर गरेपछि सर्वोच्च अदालतमा मुद्दा परेपछि त्यस क्षेत्रमा रहेका त्यस्ता २०० उद्योग अदालतको आदेशबाट बन्द गरिएका थिए । के अब त्यहाँको प्रदूषणबाट मुक्ति पाउन हामीले सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन जानुपर्ने हो कि ? त्यसबाहेक नेपाल–भारत सिमानामा सबै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै भारतले महलीसागर बाँध बनाई हाम्रो विश्व सम्पदामा सूचीकृत अमूल्य निधि अशोक स्तम्भलगायत अन्य क्षेत्रका पुराताìिवक सम्पदा वर्षामा डुबानमा पर्छन् । त्यसबारे हामी कहिले गम्भीर हुने ? 

अन्तर्राष्ट्रिय मेगा एयरपोर्टको निर्माणले पर्यावरणमा परेको नकारात्मक प्रभावबारे अध्ययन गरेका वैज्ञानिक जिमस्टारीका अनुसार दशकौँ अघिदेखि हवाई यातायातले पर्यावरणमा हाँक दिइरहेको छ । विश्वमा १३ प्रतिशत कार्बन उत्सर्जन हवाई यातायातले गरिरहेको तथा प्रारम्भिक रूपमा हरितगृह ग्यासको उत्सर्जन आउँदा दिनमा झन् बढ्नेछ ।

त्यसैगरी एयरपोर्ट छेउछाउका बासिन्दामा उच्च रक्तचाप, तनाव, क्यान्सर, अस्वस्थ हुनुका साथै स्वच्छ पानीको आपूर्तिमा रसायन तथा इन्धन त्यतिकै फालिने हुनाले दूषित गर्नेछ । अतः गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा दङ्गदास हामी त्यसबाट पर्ने नकारात्मक असरबारे बेखबर त छैनौँ, समयमै सचेत हुनु आवश्यक छ । 

Author

पूर्णहरि अमात्य