काठमाडौँ, वैशाख १५ गते । २०७२ वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ एक दशक बित्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा निर्माणाधीन स्तम्भका मुख्य संरचनाको निर्माण सम्पन्न भए पनि भूकम्पमा परी निधन भएकाको नाम उपलब्ध हुन नसक्दा सो स्तम्भ सञ्चालन हुन नसकेको हो । भूकम्पबाट अति प्रभावित १४ वटा जिल्लाका मृतकको नाम स्तम्भमा उल्लेख गर्ने गरी निर्माण सम्झौता भएको थियो तर सम्बन्धित निकायले मृतकहरूको आधिकारिक नाम उपलब्ध नगराउँदा स्तम्भमा नाम लेख्न सकिएको छैन ।
सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का पूर्वनिर्देशक कोषनाथ अधिकारीले सो ठाउँमा स्तम्भ र पार्क निर्माण सम्पन्न भए पनि स्तम्भमा भूकम्पका कारण मृत्यु भएकाको नाम नलेखिएका कारण सो सञ्चालन हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पमा परी मृत्यु भएकाको नाम स्तम्भमा लेख्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । मृतकको आधिकारिक नाम उपलब्ध गराउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत गृह मन्त्रालयमा पत्राचार गरियो तर त्यहाँबाट नामावली उपलब्ध नभएपछि स्तम्भमा नाम उल्लेख गर्न नसक्दा त्यसको अहिलेसम्म उद्घाटन हुन सकेको छैन ।’’
त्यसबेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सङ्कलन गरेका मृतकको नाम प्रमाणीकरण गर्नसमेत गृह मन्त्रालयलाई पत्राचार गरिएकोमा मन्त्रालयबाट प्रमाणीकरण हुन नसकेको आयोजना प्रमुख अधिकारीको भनाइ छ । उहाँका अनुसार सम्बन्धित निकायले सङ्कलन गरेका मृतकको नाम र सङ्ख्याबारे एकरूपता नहुँदासमेत स्तम्भमा नाम उल्लेख गर्ने विषय थप झन्झटिलो बनेको हो । राहत पाउन जिउँदै रहेका वा भूकम्पअघि नै मृत्यु भएका व्यक्तिको नामसमेत भूकम्पमा परी निधन भएकाको सू्चीमा समावेश गरिएको पाइएको उहाँको भनाइ छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारी र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग सम्पर्क गर्दा भूकम्पमा परी निधन भएका व्यक्तिको आधिकारिक नाम उपलब्ध गराउने सम्बन्धमा आएको पत्रबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउनुहुन्छ ।
३० महिनाभित्र सम्पन्न गर्ने गरी स्वच्छन्द/होम निर्माण (जेभी) सँग सम्झौता भएको थियो । १३ करोड छ लाख रुपियाँको लागतमा सो स्मृति स्तम्भ निर्माण भइरहेको छ । भूकम्पबाट मुख्य रूपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण गरिएको छ । सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफल जग्गामा स्तम्भ निर्माण भइरहेको छ ।
भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडेर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिएको छ । पृथ्वीको नक्सामा भूकम्प गएको मिति र समयसमेत अङ्कित गरिने छ । यस स्तम्भको डिजाइन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तयार पारेको हो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                