काठमाडौँ, वैशाख १२ गते । लोकतन्त्र दिवस, जनताले जितेको दिन । यो दिनले युवा आन्दोलनको इतिहासलाई सम्झाउँछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसका अवसर पारेर हजारौँ युवाबिचमा युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ । युथ सेलिब्रेसनमा सहभागी युवाले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आफूहरूले हासिल गरेको उपलब्धिलाई साझा गरेका छन् ।
यो कार्यक्रममा भेटिनुभएका फरक क्षमताको देवी आचार्यले गणतन्त्रले आफूजस्ता हजारौँ व्यक्तिलाई पहिचान दिएको बताउनुहुन्छ । युथ सेलिब्रेसन मनाउन तीनपाङ्ग्रे स्कुटर चढेर भृकुटीमण्डप आइपुग्नुभएको उहाँले हिजो बिचरा भन्ने राज्यले अहिले पहिचान दिएको बताउनुभयो । नेपाल प्याराओलम्पिक समितिको सदस्यसमेत रहनुभएको उहाँ ह्विलचेयर बास्केटबलको परीक्षक पनि हुनुहुन्छ । गणतन्त्रले कानुनबाटै अधिकार दिएकाले यसको सुन्दरता धेरै रहेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले अपाङ्गता भएका व्यक्तिका समावेशीताको सवाललाई केन्द्रबिन्दुमा राख्ने काम गणतन्त्रले गरेको भन्दै युथ सेलिब्रेसनमा सहभागी भएको बताउनुभयो । गणतन्त्रपछि धेरै साथीले सरकारी सेवामा अवसर पाएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । सार्वजनिक यातायातमा काम गर्ने चालक तथा सहचालकलाई गरिने व्यवहार अमानवीय हुन्थ्यो । प्रहरीले बाटोमा गाडी रोकेको निहुँमा अपशब्द प्रयोग गर्नेमा अहिले तपाईं भनेर सम्मान गर्ने गरेको यातायात मजदुर सुनील धाँजूले उल्लेख गर्नुभयो । भृकुटीमण्डपमा युथ सेलिब्रेसनमा सहभागी उहाँले तेस्रो दर्जाको नागरिकबाट अहिले सम्मानपूर्वक नागरिक भन्ने अवस्थामा पुगेकोमा खुसी साटासाट गर्नुभयो ।
स्वरोजगार मजदुर विकास श्रेष्ठले गणतन्त्रपछि यातायात क्षेत्रमा ल्याएको परिर्वतनको साक्षी बनेको खुसियाली साट्न आएको बताउनुभयो । उहाँले राज्यको निकायले गर्ने व्यवहारमा परिर्वतन आएको र यातायातको क्षेत्र सम्मानित हुन पुगेको बताउनुभयो ।
सिन्धुली पुर्ख्यौली घर भएका तेज नेपाली यतिबेलाका सफल युवा उद्यमी हुनुहुन्छ । उहाँले एक दर्जन युवालाई रोजगारी प्रदान गर्नुभएको छ । राज्यमा चरम द्वन्द्वको समयमा केही समय वैदेशिक रोजगारीमा जानुभएको उहाँ नेपाल फर्किएपछि टेलरिङ व्यवसायमा आबद्ध उहाँ गणतन्त्र स्थापनापछिको उत्साहले सफल बनेको उल्लेख गर्नुहुन्छ । उहाँले दलित समुदायले राज्यको सबै निकायमा बराबर हैसियत पाउने अवस्था सिर्जना गराएको उल्लेख गर्नुभयो ।
उपप्राध्यापक प्रकाश रोक्काले गणतन्त्रले वडादेखि भएको विकासको साक्षी आफू बन्न सकेको उल्लेख गर्नुभयो । कालोपत्रे सडक हेर्न सदरमुकाम पुग्नुपर्ने जनताको गाउँसम्मै सडक कालोपत्रे भएको बताउँदै उहाँले गणतन्त्रका अनेकौँ सुन्दर पक्ष रहेको र त्यसले अवसरको ठुला ठुला ढोकालाई खुला गरेको बताउनुभयो । राजनीतिक नेतृत्वमा समेत युवाले अवसर पाउन थालेको बताउँदै पार्टीभित्र पनि युवालाई अवसर दिने विषयमा बहस सुरु भएको उल्लेख गर्नुभयो ।
जलविद्युत्को क्षेत्रमा पछिल्लो समय नेपालले मारेको फड्कोको पछाडि जलविद्युत्को क्षेत्रमा युवाको लगानी पनि एक रहेको युवा लगानीकर्ता जेन लामाले उल्लेख गर्नुभयो । गणतन्त्र स्थापनापछि नेपालमै इन्जिनियरिङ, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियर, ओभरसियर उत्तीर्ण गरेका युवाले नेपालमै जलविद्युत् परियोजनामा काम गरेको बताउनुभयो । यसले त्यो क्षेत्रमा उहाँहरूको लगानीसँगै नेपाल जलविद्युत्को क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने अवस्था सिर्जना भएकाले आफूहरू भृकुटीमण्डपमा आएर युथ सेलिब्रेसनमा सहभागी भएको स्पष्ट पार्नुभयो । युवाको अवधारणाबाट मुलुक लोडसेडिङमुक्त बन्न सहयोग गरेको उहाँले बताउनुभयो ।
नेपालमा अहिले जलविद्युत्को क्षेत्रमा आएको उत्साहको पछाडि गणतन्त्रको ठुलो भूमिका रहेको उहाँले स्पष्ट पार्नुभयो । नेपालकै वैज्ञानिकले आफ्नो मोडलमा जलविद्युत् डिजाइन गरेर त्यसमा लगानीको वातावरण सिर्जना गराइरहेको उहाँले उल्लेख गर्नुभयो ।