• २८ वैशाख २०८१, शुक्रबार

उपत्यकाको फोहोर उठ्न सुरु, फोहोरमैलाको दीर्घकालीन समाधान हुन्छ : काठमाडौं महानगर

blog

मंगलबार विहानै देखि काठमाडौं उपत्यकामा फोहोर संकलन गर्दै । तस्बिरः गाेरखापत्र

काठमाडौं, जेठ २४ गते । महिनौँदेखि उठ्न नसकेर उपत्यकाको सडक सडकमा थुप्रिएको फोहोर मङ्गलबारदेखि उठ्न सुरु भएको छ । सोमबार भएको शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मागहरुमाथि प्रतिबद्धता जनाएसँगै उपत्यकाको फोहोर उठ्न थालेको हो ।

लामो समयसम्म फोहोर उठ्न नसक्दा काठमाडौं उपत्यका दुर्गन्धित बन्न थालेको थियो । सम्बन्धित मन्त्रालय र महानगरपालिकाले प्रतिबद्धता जनाएसँगै अब फोहोर व्यवस्थापन दीर्घकालीन रुपमा समाधान हुने भएको छ । 

फोहोरमैलाको दीर्घकालीन समाधान हुन्छ: काठमाडौं महानगर 

काठमाडौं अन्तर्गत महानगरपालिका, विभिन्न क्षेत्र र मुख्य–मुख्य शहरका चोकहरु फोहोरको थुप्रोले भरिँदै गएका छन् । त्यसो त, काठमाडौंमा पछिल्लो समय स्थानीय निर्वाचन अघिदेखि नै फोहोरमैला व्यवस्थापन हुन नसक्दा जनस्तरमा चर्को गुनासो बढ्दै आएको छ । 

काठमाडौं महानगरप्रमुखमा निर्वाचित वालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोलले फोहोरमैला व्यवस्थापनका लागि सिस्डोल क्षेत्र र त्यहाँका स्थानीयवासीसँग प्रत्यक्ष साक्षात्कार गर्नुभएको थियो । तर पनि, चोक र गल्लीमा थुप्रिएका फोहोरहरु उठ्न नसक्दा राजधानीवासीको दैनिक जीवनयापन, स्वास्थ्यमा नकारात्मक असर परेको छ भने वातावरण पनि प्रदूषित बनेको छ ।

महानगरप्रमुख साहको निजी सचिवालय अनुसार फोहोरमैला व्यवस्थापनका लागि यथासक्दो पहल जारी छ । महानगरप्रमुख साहका स्वकीय सचिव भुपादेव साह भन्नुहुन्छ, “अब हाम्रो केही पनि चुनौती छैन, व्यवस्थापनको काम स्पष्ट छ । स्थानीय जनता माझ गएर नै हामीले यो, यो गर्छौ भनेर भनिसकेका छौं ।”

तर, विगतमा नेतृत्व लिनु भएकाहरुले स्थानीयवासीसँग गरिएका प्रतिबद्धता पूरा हुन नसकेको गुनासो गरेका छन् । पहिला गरेका वाचाहरु स्थानीय सरकार र महानगरले पूरा गरेन भन्ने चाहिँ जनगुनासो रहेको साहको भनाइ छ । वालेन्द्रको नेतृत्व सकारात्मक भन्ने नै सबैको प्रतिक्रिया छ भन्नुहुदै उहाँले आवश्यक प्रक्रिया छिट्टै कार्यान्वयन हुने बताउनुभयो । 

दीर्घकालीन समाधानको कार्ययोजना

व्यवस्थापकीय पाटो स्पष्ट रहेकाले अहिले सबैभन्दा पहिले महानगरको काम फोहोर उठाउने नै रहेको उहाँले स्पष्ट पार्नुभयो । “पहिलो चरणमा फोहोर उठाउने हो र यसको उत्तम विकल्प बञ्चरेडाँडामा लगेर फाल्ने हो ।”, यसपश्चात् नागरिकस्तरमा सामाजिक परिचालनमार्फत जनचेतनामूलक कार्यक्रममार्फत सचेत गराइनेछ । 

“दुई, तीनवटा ट्रक एकै ठाउँमा पठाएर फोहोर उठाइन्छ । यसपछि कुन चाहिँ डम्प गर्ने र कुन लगेर मल बनाउने भन्ने सम्बन्धमा दीर्घकालीन समाधानको मस्यौदा तयार भइसकेको छ, अन्तिम रुप दिन मात्रै बाँकी छ ।”, साह भन्नुहुन्छ ।

उहाँले महानगरको कार्ययोजना अनुरुप कार्यान्वयन हुनेमा नेतृत्व आशावादी रहेको र यसलाई स्थानीयवासीले पनि बुझ्नुहुने विश्वास व्यक्त गर्नुभयो । “हामीले गर्न सक्ने त्यही हो, विश्वास गरिदिनुभयो भने, आज, भोलिबाटै फोहोर उठ्छ । ठ्याक्कै यति नै दिनमा फोहोर उठिसक्छ भनेर तोक्न सकिने अवस्था छैन ।”, उहाँले बताउनुभयो । 

खासमा, सिस्डोलवासीले विगतदेखि नै विभिन्न माग, मुद्दा राख्दै आएका छन् । स्थानीय सरकार र सिस्डोलवासीबीच ती विषयमा सहमति हुन नसक्दा पनि बेला, बखत फोहोरमैलाको समस्याले उग्ररुप लिने गरेको हो ।

कल सेन्टर सुचारु

काठमाडौं महानगरले सोमबारदेखि गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याएको छ । महानगरमा नवनिर्वाचित जनप्रतिनिधिको जेठ १६ गते बसेको पहिलो बैठकले प्रमुख साहको नेतृत्वमा फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरेको थियो भने सात दिनभित्र कल सेन्टर सुचारु गर्ने निर्णय गरेको थियो । 

जसको कार्यान्वयन स्वरुप भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा कल सेन्टर केन्द्र सञ्चालन गरिएको हो । निःशुल्क टेलिफोन नम्बर १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिनेछ । सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ भने अहिले पाँच वटाबाट सुरुवात गरिएको छ ।

महानगरले के गर्दैछ, जनताले सोध्न पाउनुपर्ने र उत्तरदायी स्थानीय सरकारका रुपमा स्थापित गर्न नागरिकका गुनासो सुन्ने प्रणालीको विकास गरिएको साहले बताउनुभयो ।  यो प्रणाली कार्यालय समयमा सञ्चालन हुनेछ । गुनासो वा सोधपुछकर्ताले फोन गरेर पाँच अङ्क थिचेपछि रेकर्ड हुने व्यवस्था गरिएको छ । 

यो रेकर्ड भोलिपल्ट केन्द्रका कर्मचारीले सुनेर सम्बोधन गरिने व्यवस्था गरिएको महानगरले जनाएको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।