• ९ वैशाख २०८२, मङ्गलबार

एक विलुप्त जन्मकुण्डली

blog

केही वर्षअघि रेडियोमा एउटा अनौठो समाचार सुनेको थिएँ । त्यो समाचार थियो पोखरामा काहिँलो छोराहरूको सम्मेलन सम्पन्न भएको बारेमा । त्यस सम्मेलनमा कुन कुन एजेण्डामा छलफल भए ?, के कस्ता निष्कर्ष निस्किए ? यी स्वाभाविक प्रश्नको उत्तर सार्वजनिक वृत्तमा आएन ।

त्यस समाचारले मेरो मन चाहिँ पोखरीमा ढुङ्गा हान्दा तरङ्ग उत्पन्न भए जस्तै तरङ्गित हुन पुग्यो । नेपालमा जन्मदर घटेसँगै जेठो/जेठी, माहिलो/माहिली, साहिँलो/साहिँली, काहिँलो/काहिँली, अन्तरे/अन्तरी, जन्तरे/जन्तरीबारे बिर्सिसकेको प्रसङ्ग सम्झन थालेँ । उनीहरू कसरी दुर्लभ प्राणीमा परिणत हुँदै छन् ?, यस प्रकारको परिवर्तनले जैविक विविधता तथा सांस्कृतिक विविधतामा कुन किसिमको उलटफेर ल्याउने हो ? यस्तै प्रश्नले मनलाई तरङ्गित तुल्यायो । 

यहाँनेर विगतमा छ्यापछ्याप्ती भेटिने तर हालका दिनमा दुर्लभ बन्दै गएका जेठो/जेठी, माहिलो/माहिली, साहिँलो/साहिँली, काहिँलो/काहिँली, अन्तरे/अन्तरी, जन्तरे/जन्तरी जस्ता सन्तान र तिनले बुनेका सांस्कृतिक परिवेशबारे सानो चिन्तन–मनन गर्नु सान्दर्भिक नै होला । यसका लागि विगतको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशलाई नियाल्न आवश्यक छ ।

विगतको विशिष्ट परिवेश

हिजो समाज धेरै अर्थमा बेग्लै थियो । समाज पुरापुर कृषिमा आधारित थियो । त्यसबेला सन्तान धेरै हुनु लाभदायक देखिन्थ्यो । खेतीपातीका लागि धेरै पाखुरा आवश्यक थिए । जसको धेरै सन्तान हुन्थे, उसैले बेलामा खेतीबाली लगाउन सक्थ्यो । सन्तान धेरै हुनेले धेरै गाईवस्तु पाल्न सक्थे । गाईवस्तुबाट एकातिर दूध दही प्राप्त हुन्थ्यो भने अर्कोतिर खेतीपातीका लागि अर्गानिक मल प्राप्त हुन्थ्यो । 

यही मनोविज्ञानले निर्धक्कसँग सन्तान जन्माइन्थ्यो । जेठो/जेठी, माहिलो/माहिली, साहिँलो/साहिँली, काहिँलो/काहिँली, अन्तरे/अन्तरी, जन्तरे/जन्तरी, लखन्तरे/लखन्तरी, पानी मन्तरे/पानी मन्तरी जस्ता सन्तान जन्मन्थे । 

सायद त्यसबेला ‘सानो परिवार, सुखी परिवार’ भन्ने नारा मानिसका कल्पनामै थिएन । त्यसबेला त्यस्तो कल्पना अस्तित्वमा भएको भए ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने आशीर्वादले व्यापकता पाउने थिएन होला । 

२००७ सालअघिसम्म आधुनिक शैलीको जनचेतनाको स्तर पनि कमजोर नै थियो । राणा शासन ढल्दाको समयमा नेपालको साक्षरता दर दुई प्रतिशतको सेरोफेरो रहेको तथ्याङ्क भेटिन्छ । तत्कालीन सामाजिक तथा सांस्कृतिक परिवेशले पश्चिमी शैलीको सानो परिवारबारे सोच्ने र सोही अनुसार कमभन्दा कम सन्तान जन्माउने चेतनाको बिजारोपण गरिसकेको थिएन । अर्को कुरा विगतमा नियोजित तरिकाले सन्तान जन्माउने सुविधा नहुँदा जति सन्तान जन्मे पनि ‘ईश्वरको वरदान’ भनी हात थाप्नुको विकल्प हुँदैनथ्यो ।

त्यसबेला अहिलेको जस्तो भोगवादी समाज थिएन । पैसा नभए पनि जीवन चल्थ्यो । खर्चका स्रोत कम थिए । खरको झुप्रो, ढेब्री, सिठा, ककरी–मकरी, मीठो–पिठो, टालेको लुगा र अर्मपर्मले नै जिन्दगी चल्थ्यो । ग्रामीणजन आफ्नो पसिनाको कमाइले सादा जिन्दगी बिताइरहेका थिए ।

आधुनिक चकमधमकका साथ रवाफिलो जीवनयापन गर्ने परिपाटीले समाजमा उतिविधि प्रवेश पाएको थिएन । फाइनान्स, लघुवित्त जस्ता घर घरको अर्थतन्त्र टाट पल्टाउने आर्थिक संस्थामा चक्रव्यूहमा ग्रामीण फसेका थिएनन् । मुट्ठीभरका जिम्मुवाल–मुखियाले निमुखालाई शोषण गरेको कुरा बेग्लै हो । समग्रमा जिन्दगी नितान्त सादा थियो । घरभरि सन्तान भए पनि ती लालाबाला बोझ बनेका थिएनन् । बरु ती आशा र भरोसाका केन्द्र थिए ।

‘जन्तरे’ प्रधानमन्त्री

नेपालको राजनीतिक इतिहासमा व्यक्तित्व जन्मगत रोलक्रम र सन्तान प्राप्तिका दृष्टिले चर्चामा दुई जना राजनीतिक व्यक्ति आउने गरेको पाइन्छ । एक हुन्, लोकतन्त्रकालीन प्रधानमन्त्री झलनाथ खनाल र अर्का हुन् राणाकालीन कम्यान्डर इन चिफ धीरशमशेर । खनाल जन्तरे छोरा हुन् भने धीरशमशेर १७ छोराका पिता हुन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नो परिवारका सातौँ अर्थात् उनी घरका ‘जन्तरे’ छोरा हुन् । अङ्ग्रेजी शब्दावली प्रयोग गरी उनको भाग्य चित्रण गर्दा उनलाई ‘लक्की सेभेन’ भन्न सकिन्छ । नेपालको राजनीतिक इतिहासमा ‘जन्तरे’ छोरो प्रधानमन्त्री बनेको सायद पहिलो र अन्तिम राजनीतिक घटना हुनु पर्छ । अब ‘जन्तरे’ छोरो प्रधानमन्त्री बन्ने दिन कहिले आउला र ? जन्तरे जन्मिए पो प्रधानमन्त्री बनोस् । जन्मनै छाडेपछि कसरी प्रधानमन्त्री बनोस् । यस्तो लाग्छ, नेपालको इतिहासमा जन्तरे छोरो प्रधानमन्त्री बनेको राजनीतिक घटना ‘न भुतो न भविष्यति’ ।


अर्कोतिर धीरशमशेर धेरै छोरा जन्माउने अर्थात् १७ जना छोरा जन्माउने राणा प्रधानमन्त्री कहलिएका छन् । उनका १७ जना छोराको नाम यस प्रकार छ, वीरशमशेर, डम्बरशमशेर, खड्गशमशेर, रणशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, फत्तेशमशेर, ललितशमशेर, जितशमशेर, पूर्णशमशेर, यदुशमशेर, दुर्गाशमशेर, शेरशमशेर, जुद्धशमशेर, खम्बशमशेर र हर्कशमशेर । 

यद्यपि ती छोरा एउटै रानीबाट जन्मेका थिएनन् । एउटै रानीबाट पाँच जना छोरा जन्मेका थिए । ती हुन्, खड्गशमशेर, रणशमशेर, देवशमशेर, चन्द्रशमशेर र भीमशमशेर । यी छोरा काजी हेमदलसिंहकी छोरी रानी नन्दकुमारीबाट जन्मेका थिए भन्ने जानकारी इतिहासका पानामा छरिएका छन् । 

नाम

नेपाली साहित्यिक, राजनीतिक तथा सार्वजनिक वृत्तमा सन्तानको जन्मगत रोलक्रम झल्कने नाम यदाकदा भेटिन्छन् । 

उदाहरणका लागि तिलविक्रम नेम्वाङलाई लिन सकिन्छ । उनको साहित्यिक नाम ‘वैरागी काइँला’ बहुचर्चित तथा बहुश्रुत नाम हो । साहित्य सिर्जना र किराँत समुदायको श्रुतिशास्त्र मुन्धुमका सन्दर्भमा उनको नाम श्रद्धापूर्वक उच्चारण गरिन्छ । यसै गरी पूर्वाञ्चलमा गिनेचुनेका कांग्रेसी नेतामध्येका भूविक्रम नेम्वाङ पनि एक थिए । उनी ‘साइँला दाइ’ नामले समेत परिचित थिए ।

यसबाहेका गोर्खे साइँलो, कर्थले काइँलो, विष्णु न्यौपाने ‘जन्तरे’, ऋषि तिवारी ‘लखन्तरे’, ‘रुन्चे राइँलो’ आदि नामबाट कदाकदा रचना प्रकाशित भएको पाइन्छ । कान्तिपुर दैनिकको भगिनी प्रकाशन नेपालमा ‘रुन्चे राइँलो’ छद्म नामबाट २०७४ सालतिर लेख लेखिएको थियो । उनको वास्तविक नाम के थियो भन्ने खुल्दैन । 

गायन क्षेत्रमा साइँला बरोबर उच्चारण भइरहने नाम हो । कुनै समयमा रेडियो नेपालबाट पुराना गायक उस्ताद साइँला (अष्टमान श्रेष्ठ) को गीत बज्थे । रेडियोमा बज्ने उनको गीतको एक हरफ यस्तो थियो, ‘कालो ठेकी नारान काली काठको रातो ठेकी दारको, दिन आउँछ रिङ्दै घुम्दै जोवन एकै बारको’ । यो गीत एक समय निकै लोकप्रिय थियो । जीवनको वास्तविकता बोल्ने गीतका यी हरफलाई लोकसमाजले निकै रुचाएको थियो ।

केही वर्षअघि मोरङको पथरी (शनिश्चरे) का जन्तरे मामा (अमित राई) सोसल मिडियामा चर्चाको विषय बने । उनले नारायण गोपालका गायकीलाई आफ्नो गलामा उतारेर चर्चा बटुलेका थिए । उनको गायकीलाई माथि उठाउने अभिप्रायले राजधानीमा ल्याएर गीत स्वराङ्कन गरिएको तस्बिर पनि सार्वजनिक भएको थियो । यद्यपि धेरै धोको पूरा हुन नपाउँदै २०८१ कात्तिकमा ५६ वर्षको उमेरमा उनको जीवनले सदाका लागि विश्राम लिएको समाचार सार्वजनिक भयो । 

एक समयमा अर्गानिक प्रकृतिका साइनोपातले गाउँबस्ती ढाकिएको थियो । जस्तैः जन्तरी आमा, जन्तरी फुपू, जन्तरी भाउजू, जन्तरी काकी, जन्तरी माइजू । यसै गरी जन्तरे मामा, अन्तरे काका, राइँलो दाजु । अब यस्ता साइनो नासिँदै गएका छन् । अब यस्तो साइनो दुर्लभ भइसक्यो ।

गाउँठाउँमा जन्मगत आधारमा प्राप्त उपाधि अर्थात् जेठा/जेठी, माइला/माइती, साइँला/साइँली, काहिँलो/काइँली, राइँला/राइँली, अन्तरे/अन्तरी, जन्तरे/जन्तरी जस्ता अनौपचारिक नाम औपचारिक नाम बनेको पाइन्छ । कतिपयले त यिनै अनौपचारिक नामबाट नागरिकता निकालेका पनि छन् । 

साहित्यिक कृति तथा चलचित्र

जन्मगत रोलक्रम झल्कने नामले साहित्यिक कृति तथा चलचित्रले यदाकदा जनसमक्ष स्थान पाएको देखिन्छ ।

यस सम्बन्धमा साहित्यकार भीमनिधि तिवारीले एउटा गजबको प्रयोग गरेका छन् । तिवारीले नेपाली सामाजिक कहानी नाम दिएर १० भागसम्म कथासङ्ग्रह प्रकाशन गरे । उनले आफ्ना कथा कृतिलाई भाग एक, भाग दुई एवं रितले १० औँ भागसम्म सन्तानको जन्मगत रोलव्रmम झल्कने गरी जेठो, माहिलो, साहिँलो, काहिँलो, ठाहिँलो, राहिँलो, अन्तरे, जन्तरे, खन्तरे र मन्तरे नाम दिएका छन् । साहित्यकार तिवारीले बसालेको कृति नामकरण अनौठो परम्परा पनि ‘न भुतो न भविष्यति’ हुन गएको छ । नेपालको साहित्यिक इतिहासमा एउटा दुर्लभ घटना मान्न सकिने देखिन्छ । 

चलचित्रको नामकरणमा पनि सन्तानको जन्मगत रोलक्रमको झल्को दिने किसिमको एकाध प्रसङ्ग भेटिन्छ । यही आधारमा ‘डिग्री माइला’ नामक चलचित्र बनेको पाइन्छ । २०७६ साल कात्तिक ७ गते अनलाइन खबरमा ‘अन्तरे’ नामक चलचित्र बन्न लागेको समाचार छापिएको थियो । २०८१ साल साउन २२ गते गोरखापत्र अनलाइनमा प्रकाशित समाचार अनुसार बाबुसाहेब बलामीको निर्देशनमा चलचित्र ‘माइली’ को भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको थियो । यसै गरी २०८१ साल फागुन २ गते ‘मेरो फिल्म’ नामक अनलाइन पोर्टलमा ‘कार्की साइँला’ शीर्षकमा चलचित्र बन्न लागेको समाचार आयो । 

हाम्रा साहित्य तथा चलचित्रमा प्रतिविम्बित यी नामले हाम्रो समाजमा जन्मगत रोलक्रमको सांस्कृतिक धङधङी र विरासत बाँकी नै छ भन्ने सङ्केत गर्छ, हिङ नभए पनि हिङ बाँधेको टालो बाँकी नै रहेझैँ ।


लोकभाका

लोकभाकामा पनि सन्तानको जन्मगत रोलक्रम सम्झाउने गीत भेटिन्छन्, जुन स्वाभाविकै हो । खासगरी लोकगीतमा साइँला/साइँली, कान्छा/कान्छी थेगो वा रहनीका रूपमा प्रयोग भएको पाइन्छ । दाइ साइँला, राम साइँला, सुन साइँला, साइँली रिमै, साइँलो दाइ, कान्छा (कानछा)/कान्छी (कानछी) आदि थेगो राखेर बनेको थुप्रै दृष्टान्त भेटिन्छन् ।

गीतको हरफमा पनि कान्छी शब्द बाक्लै प्रयोग भएको देखिन्छ । उदाहरणस्वरूप लोकगायक रामशरण नेपालीले कान्छी शब्द घुसाएर यस्तो गीत गुञ्जाएका छन् :

‘कान्छीको हातमा क्या राम्रो औँठी, माझमा यु पनि

खोजी र मोरी पाउने छैनौ म जस्तो कहीँ पनि’

अल्पायुमै मृत्युवरण गरेका बहुचर्चित लोकगायक लोकबहादुर क्षेत्रीले गाउँको ‘साइँलो दाइ’ लाई मुगलान गई बेखबर बनेका गाउँले पात्रका रूपमा चित्रण स्वराङ्कन गरे । जुन बहुजनले रुचाएको गीत बन्यो । सोही गीतको दुई हरफ :

‘साइँलो दाइ कहाँ गयो, पानी खाँदा न्याउली झुरायो

न्याउली रुँदै के भन्छ, आधा सन्चो आधा बिसञ्चो’ 

यसै गरी लोकगायक नारायण रायमाझीले साइँली शब्द प्रयोग गरेर श्रुतिमधुर गीत सार्वजनिक गरेका छन् । गीतको केही हरफ :

‘परदेशीले मयाजाल बुन्छ नि साइँली 

भाले बास्दा बिरानो हुन्छ नि साइँली

आँधीखोले दाइ

मयाँ पैँचो नदेऊ साइँली छाडिजानेलाई’

लोकगीतको क्षेत्रमा विशिष्ट पहिचान बनाएकी गायिका हीरादेवी वाइबाले एउटा दुर्लभ प्रकृतिको गीत गाएकी छन् । उनले एउटै परिवारमा जन्म लिएका सात बहिनी (जेठी, माइली, साइँली, काइँली, अन्तरी, जन्तरी र कान्छी) छोरीहरूको रूप–लावण्यको मिठो वर्णन गरेकी छन् । यस्तो दुर्लभ प्रकृतिको गीत नेपाली लोकगीत भेटिन गाह्रो छ । उनको गीतलाई अङ्ग्रेजी शब्दावली प्रयोग गरेर गर्ने हो भने ‘वान एन्ड वन्ली’ श्रेणीमा राख्न सकिन्छ । 

जनसाङ्ख्यिक असन्तुलन

नेपालमा जनसाङ्ख्यिक असन्तुलन बढेर गएको विभिन्न सूचकले देखाउँछन् । यसबाट देशमा अनेकन सामाजिक तथा आर्थिक समस्या भोग्नुपर्ने अवस्थालाई सङ्केत गर्छ । 

नेपालको जनसङ्ख्या वृद्धिदर निरन्तर ओरालो लाग्दै गएको तथ्याङ्कले बताउँछ । तथ्याङ्क अनुसार विसं २०६८ मा नेपालको कुल प्रजनन दर २.६ रहेको थियो । २०७८ सालमा नेपालको प्रजनन दर घटेर ०.९३ प्रतिशत भएको देखिन्छ । विसं २०३० को दशकमा प्रतिमहिला छ सन्तानभन्दा बढी जन्माउने गरेकोमा विसं २०६८ मा लगभग २.६ मा झ¥यो । 

अर्कोतिर मुगलान पस्नेहरूको लर्को पनि उत्तिकै बढेर गएको छ । अब्जर्भर रिसर्च फाउन्डेसनले जारी गरेको एक तथ्याङ्क अनुसार प्रतिदिन १७ सय नेपालीले देश छाडिरहेका छन् । सोही संस्थाका अनुसार सन् २०१९ देखि २०२३ सम्मको अवधिमा मुगलान पस्नेहरूको सङ्ख्या १०२ प्रतिशतले बढेको छ । जुन १३ वटा एसियाली मुलुकमा सबैभन्दा उच्च हो । 

एकातिर तीव्र गतिमा जन्मदर घट्दै जाने र अर्कोतिर भएको जनशक्ति पनि बाहिरिने गर्नाले देशमा मानव संसाधनको कमी हुँदै गएको प्रस्ट सङ्केत मिल्छ । विश्व बैङ्कलगायतका संस्थाले नेपालमा मानव संसाधनको कमी हुँदै गएको जनाएका छन् । मानव संसाधन भनेको देश चलाउने इन्जिन वा चालक शक्ति हो । जसको अभावमा देश अधोगतितिर लाग्छ । 

मानव संसाधनको अभावबाट निम्तिने समस्यालाई निराकरण गर्न राज्य प्रभावकारी नीति र कार्यक्रम अघि सार्न ढिलाइ गर्न नहुने अवस्था छ । 

बिसाउनी

समयले कोल्टो फेरिसकेको छ । यससँगै समाज बदलिएको छ । समाजको सोचाइ बदलिएको छ । धेरै सन्तान जन्माउँदा र हुर्काउँदा खेप्नुपर्ने हैरानी–सास्तीबारे आधुनिक आमाहरू पूर्णतः सचेत देखिन्छन् । अब विशेष परिस्थितिमा बाहेक धेरै सन्तान जन्मने सम्भावना नितान्त न्यून छ । 

एकातिर कम जायजन्म हुने र अर्कोतिर भएका सन्तान पनि विदेशिने क्रमले देशको भविष्य नै धरापमा पर्ने हो कि भन्ने जगजगी पैदा भएको छ । यस सवाललाई गम्भीर किसिमले नसोचे भोलिका दिनमा समस्याको अपेक्षित निकास खोज्न गाह्रो हुने देखिन्छ ।   

 –युवामञ्च  

Author

यमबहादुर दुरा