• ९ मंसिर २०८१, आइतबार

पाठ्यपुस्तकको विकल्प

blog

नेपालमा कोभिड–१९ का कारण २०७९ को शैक्षिक सत्र एक महिना ढिलो हुन पुग्यो । नेपाल सरकारले वैशाख महिनामै वार्षिक परीक्षाको नतिजा प्रकाशन र भर्ना अभियान चलाउन परिपत्र गरेअनुसारका कार्य भए । स्थानीय निकायको निर्वाचनका कारण एक हप्ता शैक्षिक गतिविधि हुन सकेनन् । अधिकांश विद्यालयमा जेठ ३ गतेदेखि पठनपाठन सुरु भएको छ । सधैँ झैँ भर्ना अभियानपछि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न नसक्दा पठनपाठनमा समस्या भएको चौतर्फी चर्चा छ । मानौँ, चर्चा यति धेरै छ कि पाठ्यपुस्तक पुगेपछि सबै काम सकिन्छ तर राज्यलाई परिस्थितिले खुम्च्याएको बेला पाठ्यपुस्तकको वैकल्पिक व्यवस्था गर्ने चर्चा भने कमै हुने गरेको छ । 

नेपालका विद्यालयमा पाठ्यपुस्तकलाई नै सर्वस्व हो भनी शिक्षण सिकाइ भइरहेको पाइन्छ तर पाठ्यक्रममा निर्धारित उद्देश्य र त्यसले तोकेका विषयवस्तुका क्षेत्र र क्रमका आधारमा शिक्षकले पाठ्यपुस्तक नभए पनि आफैँ तयारी गरी शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्नुपर्छ । यस्तो अवस्थामा पाठ्यपुस्तकको अभावमा पनि शिक्षण गर्ने क्षमता शिक्षकले प्रदर्शन गर्न सक्छन् । अतः अहिलेको परिस्थितिमा शिक्षकले केही विषयमा ध्यान दिएर थप सक्रिय र जिम्मेवार हुने हो भने पाठ्यपुस्तकको समस्या पर सार्न र टार्न सकिन्छ । 

पाठ्यक्रमको प्रयोग

पाठ्यक्रमले के, किन, कति, कहिले अध्यापन गर्ने र गराउनेजस्ता पक्षको जवाफ दिन्छ । शिक्षकले आफूले अध्यापनरत तह र विषयका पाठ्यक्रमको हार्डकपी वा विद्युतीय कपी राख्नुपर्छ । आजको सूचना प्रविधिको युगमा शिक्षकले आफूलाई अद्यावधिक गर्न पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमा राखेको नयाँ पाठ्यक्रम मोबाइल तथा ल्यापटपमा डाउनलोड गरी राम्रोसँग अध्ययन गर्ने र सोहीअनुरूप दैनिक पाठयोजना तथा शैक्षिक सामग्री बनाएर शिक्षण सिकाइका लागि तत्पर रहनुपर्छ ।

पाठ्यपुस्तक पढाउने होइन कि पाठ्यक्रममा तोकिएका उद्देश्य हासिल गराउन सिकाउने हो । पाठ्यक्रमले तोकेका उद्देश्यका आधारमा विषयवस्तु छनोट र सङ्गठन गरिएको हुन्छ । शिक्षण सिकाइका लागि उपयोगी विधि, सामग्री र सिकाइ उपलब्धि हासिल भए÷नभएको मूल्याङ्कन गर्न मार्गनिर्देशन गरिएको हुन्छ । पाठ्यक्रममा उल्लेख भएका तर पाठ्यपुस्तकमा नपाइएका कुरा शिक्षकले खोज गरेर अध्ययन गरी पठनपाठन गराउनुपर्छ । सिकाइको मुख्य आधार पाठ्यक्रम नै भएको हुँदा यसैको सेरोफेरोभित्र रहेर शिक्षण सिकाइ हुनुपर्छ ।

 शिक्षक निर्देशिकाको प्रयोग

शिक्षक निर्देशिकालाई शिक्षकको सहयोगी साथी मानिन्छ । यो सम्बन्धित विषयको पाठ्यक्रम र पाठ्यपुस्तकका आधारमा शिक्षकका लागि नै पाठ्यक्रम विकास केन्द्रले तयार गरेको हुन्छ । कहिलेकाहीँ पाठ्यक्रमका उद्देश्यअनुसार पाठ्यपुस्तकमा पर्याप्त विषयवस्तु नसमेटिएको हुनसक्छ । यस्तो अवस्थामा शिक्षक निर्देशिकाले शिक्षकलाई सहयोग गर्छ । शिक्षक निर्देशिका शिक्षण सिकाइलाई व्यवस्थित गर्ने एउटा नमुना हो । यही नमुनाका आधारमा शिक्षकले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्छ । नेपाल सरकारले शिक्षकलाई समय–समयमा दिने विभिन्न तालिम कार्यक्रममा पनि शिक्षक निर्देशिकाको प्रभावकारी उपयोग गर्नुपर्ने कुरा सुझाइएको हुन्छ । 

दैनिक पाठयोजना बनाउने 

शिक्षक र शिक्षण सिकाइका लागि दैनिक पाठयोजना मेरुदण्ड हो । यो शिक्षण सिकाइलाई व्यवस्थित र प्रभावकारी बनाउने एउटा पूर्वयोजना हो । जसले व्यावहारिक शिक्षण सिकाइका लागि शैक्षिक सामग्री बनाउन दिशानिर्देश गर्छ । शिक्षकलाई पाठ्यपुस्तक नहुँदा पनि शिक्षण सिकाइ गर्न सहयोग गर्छ तर अधिकांश शिक्षकले व्यावहारिक रूपमा यसको अभ्यास गरेको पाइँदैन । यही कारणले पनि सामुदायिक विद्यालयको नतिजा कमजोर हुन पुगेको तितो यथार्थ हामीमाझ छ । अतः शिक्षण पेसामा बहाल सबैले दैनिक पाठयोजना निर्माण गरेर सोहीअनुरूप शिक्षण गर्नैपर्छ । 

यतिबेला देशभर पाठ्यपुस्तकको अभाव हुन पुग्दा शिक्षकले पाठ्यक्रम तथा शिक्षक निर्देशिकाका आधारमा पाठयोजना बनाएर शिक्षण सिकाइ गर्ने हो भने सो अभावलाई व्यावहारिक तथा दिगो सिकाइमा रूपान्तरण गर्न सकिन्छ । त्यसका लागि शिक्षकले दैनिक पाठयोजना बनाएर उद्देश्यअनुसारका शैक्षिक सामग्री तयार गर्ने, सिकाइ क्रियाकलापका क्रममा शिक्षण विधिको प्रयोग गर्ने, महìवपूर्ण विषयवस्तु र बुँदा टिपोट गराउने, विद्यार्थीमा तत्काल सिकाइ भए÷नभएको लेखाजोखा गर्न मूल्याङ्कन गर्ने साथै गृहकार्य दिनेलगायतका कार्य गर्नुपर्छ ।

पुराना पाठ्यपुस्तकको उपयोग 

पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक तयार गरिन्छ । कक्षामा शिक्षणलाई व्यवस्थित गर्न र शिक्षण सिकाइलाई सङ्गठित गर्न पाठ्यपुस्तकको व्यवस्था गरिएको हुन्छ । विशेषगरी पाठ्यपुस्तक विद्यार्थीको प्रयोजनका लागि तयार गरिएको हो तापनि पाठ्यपुस्तक शिक्षकले कक्षा कोठामा आफ्नो शिक्षण सिकाइका लागि आधार लिने सामग्री पनि हो । शिक्षकले दैनिक शिक्षणका लागि आवश्यक तयारी गर्न पाठ्यपुस्तकको व्यवस्थापन गर्नुपर्छ ।

पाठ्यक्रम परिवर्तन नभएका कक्षा र विषयको पुराना पाठ्यपुस्तक सङ्कलन गरेर विद्यार्थीलाई दिने कार्य गर्न सकिन्छ । विद्यार्थीले पुराना पाठ्यपुस्तक फिर्ता गरेपछि मात्र नयाँ पाठ्यपुस्तक दिने व्यवस्था मिलाउनुपर्छ । शिक्षकले पनि आफूले अध्यापनरत कक्षाका विषयको एक÷एकप्रति पाठ्यपुस्तक जुटाएर राख्नुपर्छ । कक्षा कोठामा पाठ सुरु गर्नुपूर्व विद्यार्थीसँग पाठ्यपुस्तक माग्ने वा आज कुन पाठ सुरु गर्ने हो भनी विद्यार्थीलाई नै सोध्ने कार्य सुहाउँदो होइन । 

सन्दर्भ सामग्रीको प्रयोग 

शिक्षकका लागि सन्दर्भ सामग्री ज्यादै महìवपूर्ण हुने गर्छ तर के–कस्ता सन्दर्भ सामग्री उपयोगमा ल्याउने भन्ने कुरा शिक्षकले पठनपाठन गराउने विषयवस्तुसँग सम्बन्धित हुन्छ । केही शिक्षकले पाठ्यपुस्तक मात्र प्रयोग गर्ने गरेको पाइन्छ । केही इमानदार र कर्तव्यनिष्ठ शिक्षकले पाठ्यपुस्तकका साथै पाठ्यक्रमको पनि उपयोग गरेको पाइन्छ ।

अतः पाठ्यक्रममा उल्लिखित उद्देश्य, विषयवस्तु र पाठ्यपुस्तकका दिइएका विषयवस्तु मात्र पर्याप्त हुँदैनन् । यसका लागि शिक्षकले अति आवश्यक सन्दर्भ सामग्रीको प्रयोग गर्नुपर्छ । थप अध्ययन गर्न, खोज गर्न र आफूलाई अद्यावधिक गराइरहन पनि सन्दर्भ सामग्रीको आवश्यकता हुन्छ । कतिपय सन्दर्भ सामग्री विद्यालयको पुस्तकालयमा पाइन्छन् ।

कतिपय अवस्थामा अति आवश्यक सन्दर्भ सामग्री शिक्षकले किनेर पनि उपयोगमा ल्याउन सकिन्छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर विभिन्न वेबसाइट र एप्सबाट फाइल सामग्री डाउनलोड गर्न सकिन्छ । मात्रै इच्छा, चाहना र सीप हुनुपर्छ, अहिलेको सूचना प्रविधिको युगमा सन्दर्भ सामग्रीहरू शिक्षकका लागि पर्याप्त उपलब्ध हुन सक्छन् ।

पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पु-याउनु राज्यको दायित्व हो भन्ने कुरामा कसैको दुईमत छैन । वर्षभरि पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको जनक शिक्षा सामग्री र तोकिएको निजी क्षेत्रसमेत यसमा मूल जिम्मेवार हुनैपर्छ । विद्यालय शिक्षा प्रणालीसँग सम्बन्धित कुनै एउटा पक्ष कहिलेकाहीँ कमजोर हुँदा अर्काे पक्षले थप जिम्मेवार भएर भार वहन गर्ने हो भने शैक्षिक क्षति कम गर्न सकिन्छ ।

यस वर्ष स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाइका कारण पाठ्यपुस्तक आउन केही ढिलो भएको कुरालाई सहज रूपमा लिई शिक्षक तथा विद्यालय प्रशासनले पाठ्यपुस्तकको वैकल्पिक व्यवस्थामार्फत हालको समस्यालाई पर सार्न र टार्न सकिन्छ । यसबाहेक विद्यालय शिक्षासँग सम्बन्धित सम्पूर्ण सरोकारवालाले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्ने हो भने विद्यालय शिक्षामा गुणस्तरीयता कायम गरी शिक्षाको राष्ट्रिय उद्देश्य प्राप्तिमा टेवा पु-याउन सकिन्छ । 

Author

प्रेमबहादुर थापा