• ७ वैशाख २०८२, आइतबार

युवाको सक्रियताले परिवर्तन भएको गाउँ

blog

कालीगण्डकी गाउँपालिकाको सुन्धौली गाउँ । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता 

वालिङ (स्याङ्जा),  वैशाख ७ गते  । एक घर, एक धारा अभियानमा गण्डकी प्रदेशमा नै उत्कृष्ट बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ मा रहेको सुन्धौली गाउँमा अचेल छुट्टै रौनक छ । गाउँमा मदिरा र धूमपान निषेध गरिएको छ । दलित समुदाय ५१ घरपरिवार बस्ने गाउँमा महिला र युवाको सक्रियताले परिवर्तन गराएको हो । 

गाउँमा भएको परिवर्तनले आफूहरू नै अचम्ममा परेको स्थानीय खड्कबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “रातभरि झैझगडा हुन्थ्यो, दिनभरि पानी बोक्नु पथ्र्यो, अहिले शान्ति आयो ।” पछिल्लो समय गाउँमा झगडा हुन छोडेको भन्दै दिनभर पानी घरमा नै आएको उहाँको भनाइ छ । 

पानीको जोहो गर्दै दिन बिताउने स्थानीयको घर घरमा धारा पुगेको छ । गण्डकी प्रदेश सरकारले एक घर, एक धारा अभियानलाई तीव्रता दिएपछि यो सम्भव भएको हो । गाउँलेहरू पानीमा बिताउनुपर्ने समय अन्य क्षेत्रमा खर्च गर्न पाएकोमा खुसी भएका छन् । 

झगडा र विवाद बढेको भन्दै गाउँमा मदिरा र धूमपानलाई निषेध गरिएको छ । गाउँमा कसैले पनि मदिरा सेवन गर्न र बनाउन नपाउने व्यवस्था गरिएको स्थानीय हुमा गोतामेले बताउनुभयो । गाउँलेले बनाएको नियम महिला र युवाले कडाइका साथ लागु गराइरहेका उहाँको भनाइ छ । गाउँका सबै बालबालिका विद्यालय जाने गरेको गोतामेले बताउनुभयो । शिक्षाका लागि गाउँपालिकाले गरिरहेको प्रयासका कारण बालबालिकालाई सबैले विद्यालय पठाउने गरेको गोतामेको भनाइ छ । 

३३ घरका युवा वैदेशिक रोजगारीका क्रममा  विदेश पुगेका छन् । घरमा बसेका कृषिमा उद्यमी बन्दै गएका वडाध्यक्ष रुकबहादुर थापाले बताउनुभयो । सडक तथा अन्य आधारभूत सेवा पुगेको सुन्धौलीमा आम्दानीको स्रोत बढाउन सिप सिकाउने काम भइरहेको उहाँको भनाइ छ । मजदुरीमा जोड दिने गाउँलेहरू अचेल आफैँ उत्पादनमा जोडिन थालेको उहाँले बताउनुभयो । 

पछाडि परेको समुदायलाई प्राथमिकतामा राखेर योजना बनाएका कारण सुन्धौली गाउँमा देखिने गरी परिवर्तन भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । सुन्धौली गाउँसहित पछाडि परेको समुदायलाई अगाडि बढाउने काम भइरहेको उहाँको भनाइ छ । पालिकाका नागरिकलाई निःशुल्क बिमा गरिएको छ भने खानेपानीको सहज व्यवस्था मिलाइएको थापाले बताउनुभयो । राष्ट्रिय जनगणना अनुसार स्याङ्जामा ४० हजारभन्दा बढी दलित समुदायको जनसङ्ख्या रहेको छ ।