• ६ मंसिर २०८२, शनिबार

बारपाक–लाप्राक सडक अलपत्र हुँदा स्थानीयलाई सास्ती

blog

गुणबहादुर रोका 
सुलीकोट, मङ्सिर ६ गते ।
गोरखाको प्रसिद्ध पर्यटकिय क्षेत्र बारपाक–लाप्राक सडक निर्माण कार्य ठेकदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र हुदाँ स्थानीयलाई सास्ती भएको छ । स्थानीय बासिन्दा र सर्वसाधरणले बारम्बार ध्यानाकर्षण गराए पनि सडक निर्माणको काम ठप्प हुँदा जनजीवनमा ठुलो कठिनाइ परेको हो  ।

२०७७ सालमा जेठ ३० गते सम्झौता भई २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौतामा उल्लेख भए पनि विभिन्न कारण देखाउँदै तीन पटक म्याद थप्दा समेत सडक स्तरोन्नतिको काम अघि नबढेको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । 
धार्चे गाउँपालिका – ४ लाप्राकका वडा अध्यक्ष किसान गुरुङले ठेकदारलाई पटक पटक फोन गर्दा समेत टार्ने गरेकाले बारपाक लाप्राक चल्ने सवारी साधन चल्न नसक्दा दैनिक उपभोग्य सामग्री ढुवानी, सवारी आवगमन र पर्यटकलाई समस्या भएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

‘‘बर्खा सुरु भएसँगै बारपाक लाप्राक सडकमा ठुला सवारी साधान चल्न सकेको छैन,’’ वडा अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘ठेकदारले समयमै काम नसक्दा लाप्राक, गुम्दा लगायतका ठाउँमा जाने सर्वसाधरण र पर्यटक महँगोमा जिप चढेर जोखिमयुक्त यात्रा गर्न पर्ने बाध्यता भएको छ ।’’

जनप्रतिनिधि र स्थानीय सर्वसाधारणले ठेकदारले काम नगरेका गुनासो आएपछि निर्माण कम्पनीले भने भौगोलिक अवस्था र मौसमले गर्दा काम हुन नसकेको दाबी गरेको छ । लगभग ७० प्रतिशत  निर्माण सम्पन्न भएकाले ३० प्रतिशत काम आगामी जेठ महिनासम्म निर्माण सम्पन्न गरिने ठेकदार राजु कोइरालाको दाबी छ ।  

‘‘ठेकदार कोइरालाका अनुसार साइडमा काम भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘मौसम सफा हुने बित्तिकै लेभर पनि झार्छौं, अनि धमाधम काम हुन्छ,’’ बाह्रै महिना चिसो हुने ठाउँ भएकाले सामान ढुवानीमा समस्या भएर काममा ढिलाइ भएको उहाँले बताउनुभयो ।

त्यस्तै, कार्यालयले सडक निर्माणमा बाँकी रहेको काम सम्पन्न गराउनका लागि ताकेता गरिरहेको छ । पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनिल कुशहाले भन्नुभयो, ‘‘ताकेता गर्दा समेत निर्माण कम्पनीले सडक निर्माणको काम अघि नबढाए कार्यालयले नियम अनुसार काम अघि बढाउँछ ।’’

पूर्वाधार कार्यालय गोरखा र शर्मा बिक्की जेभीबिच ३४ करोड १५ लाख ७१ हजार १९८ रुपियाँमा १३.१४ किलोमिटर सडक ग्राभेल गर्ने गरी ठेक्का सम्झौता भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।