• १० मंसिर २०८१, सोमबार

राजनीति होइन, महानगरको विकास हेर्छु : प्रमुख दाहाल

blog

शालिग्राम नेपाल 

चितवन, जेठ २३ गते  । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिभन्दा माथि उठेर महानगरको विकासमा आफ्नो ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । पाँच दलीय गठबन्धन पक्षधर चितवनका पेशाकर्मीले सोमबार आयोजना गरेको वधाइ कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । 

“यहाँ कसैले राजनीति नगरौं, विकास, समृद्धि र सुशासनका लागि भरतपुरलाई कसरी उदाहरणीय बनाउन सकिन्छ त्यस विषयमा सोचौं” उहाँले भन्नुभयो “आगामी पाँच वर्षे कार्यकाल पूरा नहुँदासम्म हातेमालो गर्न सवैलाई म आनुरोध गर्दछु ।” 

आफ्नो दोस्रो कार्यकाल थप सफल बनाउन बुद्धिजीविको भूमिका महत्वपूर्ण हुने बताउँदै उहाँले थप्नुभयो ‘अव कार्यकाल शुरु भएको छ, यसलाई पूरा गर्नेवेलासम्म तपाईहरुको सुझाव र सहयोग मेरो निम्ति मार्गदर्शन हुनेछ ।’ 

महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीको सुझाव अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाउनुभयो । सहभागीहरुले महानगरले शुरु गरेका अधुरा अपूरा कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीका लागि महानगरलाई नमूना बनाउनु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का जिल्ला नेतृत्वको उपस्थिति थियो । काँग्रेसका सभापति राजेश्वर खनालले बुद्धिजीवि पेशाकर्मीहरुको धारणालाई आत्मसात गरी सोहीअनुसार काम गर्न मेयर उपमेयरलाई अनुरोध गर्नुभयो । 

त्यसैगरी नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले विगतमा शुरु गरेको काम सम्पन्न गर्ने र अझै विशिष्टिकृत सेवा क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपानेले बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा कृषि तथा वन विश्वविद्यालयका निवर्तमान उपकूलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल, सोही विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. सूर्यकान्त घिमिरे, त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्ट्रार प्रा.डा. भीमराज अधिकारीले जनताको गुनासालाई सम्बोधन गर्दै काम गर्न अनुरोध गर्नुभयो ।