• १६ चैत २०८२, सोमबार

फेसनमा प्रकृतिको चित्रण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १६ गते । नमुना कलेज अफ फेसन टेक्नोलोजी (एनसिएफटी) द्वारा आयोजित २० औँ ग्राजुएसन फेसन सो ‘विविधायन सौन्दर्यम्’ सिर्जना, कल्पना र कलात्मक अभिव्यक्तिको उत्कृष्ट उत्सवका रूपमा सम्पन्न भएको छ । झम्सीखेल, ललितपुरस्थित दी प्लाजा नेपालमा आयोजित उक्त कार्यक्रमले रनवेलाई प्रकृति र फेसनबिचको सम्बन्धलाई कथात्मक ढङ्गले प्रस्तुत गरेको छ । विविधायन सौन्दर्यम् अर्थात् विविधताबाट जन्मिने सौन्दर्यले सम्पूर्ण प्रस्तुतिको दार्शनिक आधार तयार पारेको भन्ने बुझिन्छ ।

कार्यक्रममा ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक कुरालाई समेट्दै छ वटा अवधारणामा आधारित सङ्ग्रहहरू प्रस्तुत गरिएका थिए । उक्त सङ्ग्रहले नेपालको विविध प्राकृतिक भूपरिदृश्य तथा जैविक विविधताको सौन्दर्यलाई  फेसनमार्फत प्रभावकारी ढङ्गले अभिव्यक्त गरेका थिए ।

कार्यक्रममा कलेजको ‘फेसन जर्नल’ को चौथो संस्करणसमेत विमोचन गरिएको थियो । विद्यार्थीको सिर्जनशीलता र नेपाली फेसन क्षेत्रको व्यावसायिक विकासलाई ध्यानमा राख्दै आयोजित उक्त सोले फेसनलाई केवल पहिरनमा मात्र सीमित नराखी सन्देशमूलक कथाका रूपमा प्रस्तुत गरेको छ । कार्यक्रमको औपचारिक सुरुवात नमुना कलेजका संस्थापक ज्ञानीशोभा तुलाधरको रनवे उपस्थितिबाट भएको थियो भने रोजिन शाक्यले उक्त सोको संयोजन गर्नुभएको थियो ।