ललितपुर, चैत १६ गते । इतिहासको खोज, अनुसन्धान, लेखन, प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत प्राडा तुलसीराम वैद्य र प्रा. हेमन्तशमशेर राणालाई आइतबार राजधानीमा सम्मान गरिएको छ । लामो समयदेखि स्वास्थ्य उपचार गराइरहनुभएका प्राडा वैद्यको अनुपस्थितिमा उहाँकी छोरी टिना वैद्यलाई सम्मान हस्तान्तरण गरिएको थियो ।
नेपाल इतिहास सङ्घले आफ्नो स्थापना दिवस तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो । २०५४ सालमा स्थापित सङ्घले इतिहासको खोज, अनुसन्धान, लेखन र इतिहास प्राध्यापनका क्षेत्रमा योगदान दिनेलाई सम्मान गर्दै आइरहेको छ ।
कार्यक्रममा प्राडा बद्रिनारायण गौतम, प्राडा कृष्णबहादुर थापा, प्राडा राजाराम सुवेदी, डा. प्रेमसिंह बस्न्यात, प्राडा राजकुमार पोखरेल, प्रा. हेमन्तशमशेर राणालगायतले नेपाली इतिहास लेखनमा पाइएका समस्या, नेपाल इतिहास सङ्घको स्थापना र गतिविधिबारे चर्चा गर्नुभएको थियो । सङ्घले इतिहाससम्बन्धी जर्नल हिसान प्रकाशन गर्दै आइरहेको छ ।