• १९ असोज २०८१, शनिबार

‘अब राजसंस्था फर्कदैन’

blog

बरगाछी समाचारदाता

विराटनगर, जेठ २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा आफ्नो पार्टी उदय हुने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आगामी दिनमा बलियो राष्ट्रवादी शक्तिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल स्थापित हुने दाबी गर्नुभयो । 

नेपाली राजनीति अब नयाँ तरिकाले सञ्चालन हुने बताउँदै उहाँले हिन्दु राष्ट्र स्थापनाका लागि जनजागरण अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउन आवश्यक रहेको बताउँदै मुलुकलाई समृद्ध बनाउन राप्रपा नयाँ सोच र विचारका साथ अघि बढ्ने बताउनुभयो । “नयाँ सोच र विचारका साथ जनतामाझ जान्छौँ,” थापाले भन्नुभयो, “पुरानो राजनीतिक संस्कारबाट जनता आजित बनेका छन्, अब नयाँ योजना लिएर मात्र राजनीति सम्भव छ ।”

अध्यक्ष थापाले स्थानीय निकायलाई थप शक्तिशाली बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय तहलाई अधिकार थप गरिनुपर्ने तर्क राख्दै उहाँले सङ्घीयतालाई बलियो बनाउन प्रदेशको संरचनामा परिवर्तन गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । आफूले लामो समयसम्म राजसंस्थाको एजेन्डालाई बोकेर हिँडेको बताउँदै उहाँले राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भइसकेकाले जनतालाई झुक्याउने र गुमराहमा राख्ने राजनीति नगर्न आग्रह गर्नुभयो ।

“तत्कालीन पार्टीमा रहँदा मैले १५ वर्षसम्म राजसंस्थाको एजेन्डालाई उठाएँ तर राजसंस्थाले जनताको मन जित्ने गरी कुनै पनि काम गर्न सकेन,” उहाँले भन्नुभयो । जनताको मनमा नै बस्न नसक्ने र जनताको हितमा काम नगर्ने संस्थाको एजेन्डालाई आफ्नो पार्टीले त्यागिसकेको र आगामी दिनमा जनताको भावनाअनुसार पार्टी अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष थापाले नेपालको राज्य व्यवस्था कुनै विदेशी तथा अदृश्य शक्तिले चाहेर परिवर्तन नहुने बताउँदै विदेशी शक्तिहरू नेपालको राज्य व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा नरहेको बुझेको उहाँको भनाइ थियो ।