• ३० वैशाख २०८१, आइतबार

दानापुर तालमा पर्यटकहरुको चहलपहल

blog

छविलाल पाण्डे  

वुटवल, जेठ २१ गते । रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । कोरोना संक्रमणको करिव दुई बर्षसम्म सुनसानजस्तै बनेको दानापुर तालमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो । 

पहिले पिकनिक खाने स्थलको रुपमा मात्रै ख्याती कमाएको दानापुर ताल अहिले चरा अवलोकन तथा तालमा डुङ्गा खियाउन जान्ने पर्यटकहरुका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । कोभिड १९ का कारण करिव दुई बर्ष सुनसान भएको सो तालको अवलोकन गर्न आउनेहरु अहिले बढ्दैगएका छन् । 

उक्त तालको अवलोकन तथा स्थानीय चराहरुको दृष्यावलोकन तथा घुमफिर गर्न भनेरै दैनिक दुईसय बढीको संख्यामा पर्यटक आउनेगरेको तालको व्यवस्थापन गर्दैआएको गजेडी सामुदायिक वनले जनाएको छ । 

तालको संरक्षण गर्दैआएको गजेडी सामुदायिक वनका पूर्व अध्यक्ष गोपाल भुजेलले दैनिक तीनसय बढी आन्तरिक पर्यटक ताल अवलोकनका लागि आउनेगरेको बताउनुभयो । भुजेलले अहिले नेपालका मात्र नभई भारत र तेस्रो मुलुकका पर्यटक समेत ताल अवलोकन गर्न आउनेगरेको वताउनुभयो ।   

ताल क्षेत्रमा स्थानीय चराको संख्या बढ्दै गएपछि ताल संरक्षणका लागि गुरुयोजना बनाउने काम समेत भइरहेको छ । दानापुर ताल पर्यावरणीय हिसावले निकै महत्वपूर्ण रहेको र सिमसार क्षेत्र समेत भएकाले कैयौ प्रजातिका चराहरुको वसोवास रहेको वनका उपाध्यक्ष नेत्रवहादुर श्रीसले वताउनुभयो । 

९२ बिघा क्षेत्रफलमा फैलिएको तालमा स्थानीय लोकल माछाहरु पाइनुका साथै बोटिङ गरेर पर्यटकहरुले दृष्यावलोकन गर्नेगरेका छन् । तालमा पर्यटकलाई आकर्षित गर्न डुंगा संख्या थपेर १० वटा पु¥याइएको छ । प्लाष्टिकबाट बनेका पाँचवटा नयाँ डुंगा समेत सञ्चालनमा ल्याइएको छ । 

कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले आफूहरुले दानापुर ताललाई रुपन्देहीकै तलैयाहरुको प्रमुख आकर्षण केन्द्र बनाउन प्रयास गरेको बताउनुभयो । त्यसको गुरुयोजना अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।  

तालको विकासका लागि प्रदेश सरकारले गत बर्ष दुई करोड रुपियाँ विनियोजन गरेको थियो भने त्यसैअनुसारको आवश्यक संरचना निर्माण काम जारी छ । ताल विकासका लागि भन्दै लुम्विनी पर्यटन प्रवद्र्धन समिति र केही गैरसरकारी संस्थाले सहयोग गरेको र तालमा आउने पर्यटकबाट प्राप्त हुने पैसाबाट तालको विकासमा लगाइएको उपाध्यक्ष श्रीसले वताउनुभयो ।