लेखनाथ समाचारदाता
लेखनाथ, चैत २० गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, पूर्वअध्यक्षसहित सरोकारवालाहरुले निजी क्षेत्रसँग सम्बन्धित ३० भन्दा बढी ऐन परिमार्जन गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीको पोखरामा भएको नवौं प्रदेश सभामा वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र हरेक राजनीतिक आन्दोलनमा तारो बनेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले व्यवसायप्रति सकारात्मक दृष्टिकोण विकास गर्दै लगानी वृद्धि, रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिमा टेवा पुर्याउन सरकारले वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ ।
“अहिले करिब दुई तिहाइको सरकार छ, हामी निकै आशावादी छौँ,” उहाँले भन्नुभयो, “उच्च स्तरीय आर्थिक सुधार आयोग गठन गरी निजी क्षेत्रसँग सम्बन्धित परम्परागत कानुनहरु परिमार्जन गर्नु जरुरी छ ।” त्यस्ता परिमार्जन गर्नुपर्ने ऐनहरु ३० भन्दा बढी रहेको उहाँको भनाइ छ ।
उहाँले २०४६ देखि जेन्जी आन्दोलनसम्म उद्योग, प्रतिष्ठानहरु आगजनी, तोडफोड र लुटपाटको सिकार भएको उल्लेख गर्दै लगानीमैत्री वातावरण नबनी देशको समृद्धि नहुने विचार राख्नुभयो । अध्यक्ष ढकालले महासङ्घले लामो समयदेखि उठाउँदै आएको निजी क्षेत्र संरक्षण एवम् प्रवर्धन रणनीति (पिएसपिपी ) नेपाल सरकारले पारित गरेकोमा आभार व्यक्त गर्नुभयो ।
महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले नेपालका सबै निजी क्षेत्रका सङ्घ, संस्था एक ठाउँमा उभिने अवस्था नभएको बताउनुभयो । उहाँले महासङ्घ भित्रको अदृश्य राजनीतिक खेल अन्त्य गर्न सुझाउनुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशमा सभापति शुक्रराज शर्माले प्रतिनिधि सभाको चुनाव हार्दैमा कांग्रेसको देश र जनता प्रतिको जिम्मेवारी कम नभएको विचार राख्नुभयो ।
एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले राजनीतिक स्थायित्व विना लगानीमैत्री वातावरण नबन्ने जनाउँदै आर्थिक नीति निर्माणका लागि राजनीतिक दलको सहभागितामा संवाद गर्न महासङ्घलाई सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल, केन्द्रीय सदस्य उमेश डानियाँ, गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन, वागमती अध्यक्ष दिलसुन्दर श्रेष्ठ, लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्मा, गण्डकी प्रदेशका उपाध्यक्ष सूर्यबहादुर भुजेल, पूर्व उपाध्यक्ष मोतिप्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशमा उद्योग व्यवसायको प्रवद्र्धन तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सङ्घ, संस्थाहरुलाई सम्मान गरिएको छ । समारोहमा भवन निर्माण गर्न लागेको गैडाकोट उद्योग वाणिज्य सङ्घलाई पाँच लाख नगद प्रदान गरियो ।
उद्योग वाणिज्य महासंघ गण्डकीमा जिल्ला नगरतर्फ २३, एसोसियटतर्फ ५५ र वस्तुगततर्फ छ सदस्य छन् । महासङ्घ गण्डकीको नवौं प्रदेश सभा तथा निर्वाचनमा जिल्ला÷नगर उद्योग वाणिज्य संघका २५, एसोसियट सदस्य एक सय २ र वस्तुगत संघका १७ गरी कुल एक सय ४४ प्रतिनिधिले भाग लिएका छन् ।
सभाले अध्यक्ष नरेश कँडेलको नेतृत्वमा नयाँ कार्यकारिणी समिति सर्वसम्मत चुनेको छ ।