• २० चैत २०८२, शुक्रबार

कालीकोटको १६ परीक्षा केन्द्रमा उत्तरपुस्तिका जाँच सुरु

blog

विद्यालयमा सहभागी विद्यार्थी । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत २० गते । कालीकोट जिल्लामा एसईईको उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको छ । जिल्लाका २० परीक्षा केन्द्रमध्ये १६ वटामा उत्तरपुस्तिका परीक्षणको काम सुरु भएको हो । 

केही परीक्षा केन्द्रमा विषयगत शिक्षक घर बिदामा भएकाले परीक्षणको काम सुरु नभए पनि अन्य केन्द्रमा भने परीक्षाको पहिलो दिनबाटै परीक्षण सुरु भइसकेको छ । 

कालीकोट जिल्लामा यस वर्ष तीन हजार ७५९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । एक हजार ८४४ जना छात्र र एक हजार ९१५ जना छात्रागरी जम्मा तीन हजार ७५९ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । 

यस वर्षको परीक्षामा छात्रभन्दा छात्रा बढी छन् । छात्रभन्दा ७१ जना छात्रा बढी रहेको शिक्षा बिकास तथा समन्वय एकाइ कालीकोटले जनाएको छ । एकाइ प्रमुख हस्तप्रसाद चौलागाईले गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या टोटलमा भने घटेको बताउनुभयो । 

गत वर्ष चार हजार १३१ जनाले परीक्षा दिएका थिए । यस वर्ष ग्रेटवृद्धिका लागि ६७९ जना परीक्षामा सहभागी छन् । विद्यार्थी घट्नुमा जन्मान्तर हुनु, जिल्ला बाहिर पढ्न जानु लगायतका कारण रहेको एकाइ प्रमुख चौलागाईले बताउनुभयो । 

पञ्चदेव माध्यमिक विद्यालयको केन्द्राध्यक्ष हरिबहादुर शाहीले परीक्षाको गरिमा विस्तारै बढिरहेको बताउनुभयो । केही बर्ष पहिला परीक्षामा भिडभाड हुने गरे पनि पछिल्ला वर्षमा अभिभावकले परीक्षाको महत्त्व बुझेका कारणले पुरानै अर्थात २०६२ सालभन्दा पहिलाकै लयमा शान्त र मर्यादित हुन थालेको बताउनुभयो ।