गोरखापत्र समाचारदाता
ललितपुर, चैत्र २० गते । ललितपुर महानगरपालिकाले वातावरण सम्बन्धी विविध क्रियाकलापका लागि आधुनिक सुविधासहितको दुई वटा विद्युतीय भ्यान सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विहीबार उदघाटन गर्नुभएको सो भ्यान विविध वातावरणीय गतिविधीका लागि चक्रपथभित्रका लागि एउटा र अर्को चक्रपथ बाहिर प्रयोग गर्ने गरी दुई वटा भ्यान सञ्चालनमा ल्याएको हो ।
महानगरले १५ जना नगर प्रहरीलाई वातावरण संरक्षणका लागि तालिम दिंदै महानगरभित्र स्वच्छ वातावरण प्रवद्र्धनका लागि उक्त भ्यान उपलब्ध गराएको हो । महानगर प्रमुख महर्जनले महानगरभित्रका वातावरण स्वच्छ, हराभरा कायम गर्न वातावरण प्रहरीका लागि उपलब्ध गराईएको भ्यानको प्रयोग गरी वायु प्रदुषण गर्ने सवारी साधनको अनुगमन, हरियाली संरक्षण, जथाभावी फोहर फाल्ने, बाटोमा माटोलगायत निर्माण सामग्री थुपार्नेलाई तुरुन्त कारबाही, ध्वनी, दृष्य प्रदुषण रोक्नेलगायतका काम गर्ने जानकारी दिनुभयो ।

उहाँले संस्कृति, कला सम्पदाको सहर ललितपुर महानगरमा मानव निर्मित हरियाली पनि उदाहरणीय रुपमा संरक्षण गरिएको र महानगरले रोपेका विरुवा उखेल्ने, रुखका हाँगा विगा भाच्नेलाई समेत महानगरले पन्ध्र सयदेखि एक लाखसम्म जरिवाना तिराएको स्मरण गर्नुभयो । प्रमुख महर्जनले उक्त भ्यानमा ११३१ हटलाइन नम्वर समेत राखेकोले महानगरका बासिन्दाले प्रदुषणलगायत अन्य अवान्छनीय घटना भएको अवस्थामा फोन गरेर सूचना दिएको अवस्थामा घटनास्थलमा मिनेटमा पुगेर समस्या समाधान गर्ने अपेक्षा समेत राखिएको बताउनुभयो ।
महानगरको वातावरण प्रहरीले खुला रुपमा प्लाष्टिक जलाउन, आगो बाल्न निषेध गर्ने, हानिकारक धुँवा फाल्ने सवारी साधनको अनुगमन गर्ने, ध्वनी प्रदुषण रोक्न आवाजयुक्त मेसिन चलाउन, स्पीकर प्रयोग गर्न निषेध गर्ने, जथाभावी भित्ते लेखन र होडिङ वोर्ड राख्न नदिने, बोटविरुवाको संरक्षण, घरघरबाट निस्केका फोहरको उचित व्यवस्थापनका लागि प्रेरित गर्नेलगायतका समग्रमा नगरभित्रका वातावरणीय स्वच्छताका लागि उक्त सवारीसाधनसहित नगरभरी परिक्रमा गर्ने महानगरले जनाएको छ ।

महानगरका वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेले सो भ्यानको सुविधाले महानगरभित्रको वातावरण राम्रो बनाउन वातावरण प्रहरीलाई सघाउने विश्वास व्यक्त गर्नुुभयो ।