• १८ चैत २०८१, सोमबार

गोरखामा ट्रेकिङ गाइडको मृत्यु

blog

गुणबहादुर रोका     
सुलीकोट, चैत १४ गते ।
मनासलु पदमार्गका लागि हिँडेका ट्रेकिङ गाइडको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–३ खोर्लाबेँशीस्थित खोला किनारमा सोलुखोम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर ४ का ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहीबार बिहान आइएन एफको नेपालको ट्रेकिङ एजेन्सीमार्फत मनासलु पदमार्गका लागि अमेरिकन नागरिकको गाइडको रूपमा आउनुभएका शेर्पा बाटोमै अचानक ढल्नुभएको थियो । टाउकोमा चोट लागेर शेर्पाको उपचारका क्रममा धार्चे आधारभूत अस्पताल खोर्लाबेँशीमा ९ः५० बजे मृत्यु भएको उहाँले बताउनुभयो ।

‘‘बुधबार दिउँसो धादिङको सल्यानटार, गोरखाको आरुघाट हुँदै बुधबार बेलुका माछी खोलामा बास बसेका रहेछन्,’’ प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो, “मनास्लु पदमार्गका लागि हिँडेका पर्यटक र गाइड माछी खोलाबाट बिहीबार बिहान ५ मनासलु पदमार्ग जाने क्रममा धार्चे गाउँपालिका– ३ खोर्लाबेँशीको खोलामा हिँडिरहेको बेलामा गाइड सार्की शेर्पा बिहान ९ः० बजे एक्कासी ढल्नु भएछ ।”

जिल्ला प्रहरी कार्यालय गोरखाले सोलुखम्बुका जिल्ला प्रहरी कार्यालयलाई एक पत्र लेखी प्रहरीलाई घरपरिवारमा खबर गरिदिन आग्रह गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय आरुघाटको प्रहरी टोली र माछी खोला प्रहरी टोलीले घटना भएको ठाउँमा पुगी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।