काठमाडौँ, चैत ९ गते । वि.सं. २०२३ बाट विद्यार्थी राजनीतिमा लाग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्का उदयपुर जिल्लाबाट चार पटक निर्वाचित सांसद भइसक्नु भएको छ ।
भोजपुरको दावाँमा प्रारम्भिक शिक्षा हासिल गर्नुभएका खड्का बुबा चित्रबहादुर र आमा धर्मकुमारी खड्का सुपुत्र हुनुहुन्छ । उहाँले विराटनगरको मोरङ क्याम्पसबाट स्नातक, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर तह पूरा गरेर भारतको पुणे विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गर्नुभएको हो ।
अध्ययनकै क्रममा उहाँले जर्मनीमा दुई वर्ष र युरोपका विभिन्न मुलुकमा रहेर रिसर्च फेलोको रुपमा काम गर्नुभएको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयका जनप्रशासन पढाइ हुने क्याम्पसमा प्राध्यापन गर्नु भएका नेता खड्का उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट लगातार चार पटक निर्वाचित हुनुभएको छ ।
शहरी विकास र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसक्नु भएका खड्कासँग राष्ट्रिय योजना आयोजना आयोगको उपाध्यक्ष र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेको अनुभव पनि छ । प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय सहभागी हुँदा उहाँ पटक पटक जेल पर्नुभयो । आन्दोलनमा सहभागी भएकै नाममा उहाँले प्रहरीको यातना सहनु परेको थियो । उहाँका अन्तर्राष्ट्रिय ‘जर्नल’मा दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् । उहाँका केही पुस्तक प्रकाशित छन् ।
प्रस्तुत छ– ‘सांसदलाई सवाल’ शृङ्खलामा डा. नारायण खड्कासँग देश विदेशको समसामयिक राजनीतिक, परराष्ट्र मामिला, विश्व अर्थ व्यवस्था, संविधान संशोधन, सरकारका काम कारबाही र उदयपुर जिल्लाको विकास प्रयासबारेमा केन्द्रित रहेर गरिएको भिडियो वार्ता :
भिडियो : मनोजरत्न शाही/केशब गुरुङ