साहारा लिम्बू
फुङ्लिङ, चैत १ गते । छैटौँ सावादिन च्यालेन्ज कपको उपाधि मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले हात पारेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक बि.सि.एस. मेमोरियल युवा क्लबलाई २–१ गोलले अन्तरले पराजित गर्दै मानाभराले उपाधि हात पारेको हो ।
पहिलो सेमिफाइनल खेलमा आयोजक बि.सि.एस.सावादिनले थलङ स्पोर्टिङ क्लब मिक्वाखोलालाई पेनाल्टि सुच आउटमा ४–२ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, दोस्रो सेमिफाइनलमा मानाभरा युथ स्पोर्टिङ क्लब खेजिनिमले आयोजक बि.सि.एस. ‘बि’ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै बि.सि.एस. आयोजकसँग उपाधि भिडन्त पक्का गरेको हो ।
उपाधिसँगै मानाभराले नगद एक लाख एक हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता बनेको आयोजकले नगद ६० हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु परेको बि.सि.एस. मेमोरियल क्लबका अध्यक्ष रूपहाङ साउदेनले बताउनुभयो ।
गत फागुन २५ गतेदेखि बि.सि.एस. मेमोरियल युवा क्लबको आयोजनामा खले सुरु भएको थियो । खेल ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका १ सावादिनकको बि.सि.एस. खेलमैदामा सञ्चालन गरिएको थियो । खेलको उद्घाटन फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिले गर्नुभएको थियो भने समापन कार्यक्रम कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सि. हाङ्गामको प्रमुख आतिथ्यतामा भएको हो ।
वि.सं. २०६५ सालमा स्थापना भएको बि.सि.एस. मेमोरियल क्लब तीन सहिदको नामबाट राखिएको क्लबका अध्यक्ष रूपहाङ लिम्बूको भनाइ छ । उहाँका अनुसार १० वर्षे जनयुद्धमा फक्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनका तीन जना सुदिप साउदेन (विश्वास), चन्द्र शेर्पा र सूर्य साउदेन (सन्दीप)सहिद भएको थिए ।