काठमाडौँ, फागुन २७ गते। नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले देशमा केही भएको छैन भन्ने अहंकार कसैले राख्नु नहुने बताउनुभएको छ।
मङ्गलबार प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै महामन्त्री थापाले यस्तो बताउनुभएको हो। प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनपछि धारणा राख्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। उहाँले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको खण्डन गर्नुभयो।
उहाँले संविधान जारी भएपछि सबैभन्दा बढी समय नेकपा (माओवादी केन्द्र) नै सरकारमा रहेको उल्लेख गर्दै यसको मुख्य जिम्मेवार माओवादी भएको जिकिर गर्नुभयो।
उहाँले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहंकार कसैले पनि राख्न नहुनेसमेत प्रष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, ‘‘जनता असन्तुष्ट छन्। असन्तुष्ट भएका जनतामा आक्रोश छ। आक्रोशलाई नजरअन्दाज गर्नु हुँदैन भन्ने कुरा म पनि मान्दछु। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले पनि राख्नु हुँदैन। जसले व्यवस्था परिवर्तनका लागि हामीलाई साथ दियो। जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु। तर वर्तमान सरकार आएसँगै उनीहरू रिसाएका हुन भन्ने कुरामा चाहिँ कतै पनि चित्त बुझाउने ठाउँ छैन।’’
उहाँले व्यवस्थाको सुदृढीकरणका लागि संविधानका पक्षधरबिच समझदारी हुनु आवश्यक रहेको उल्लेख गर्नुभएको छ।