• १० फागुन २०८१, शनिबार

खानेतेलले बढायो निर्यात

blog

काठमाडौँ, फागुन ९ गते । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आजको सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो । 

खाने तेलको निर्यात बढ्दा समग्र समग्र निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखाउँछ । सात महिनामा ३७ अर्ब रुपियाँ बराबरको भटमास र सनफ्लावर तेलको निर्यात भएको छ । यो कुल निर्यातको ३२ प्रतिशत हो । 

भारतले प्रशोधित तेलको आयातमा ३२.५० प्रतिशत भन्सार शुल्क लगाएका कारण नेपालबाट ठुलो परिणाममा तेल निर्यात भइरहेको छ । अन्य देशबाट आयात गर्दा शुल्क लाग्ने र नेपालबाट भन्सार छुटमा निर्यात हुँदा निर्यातमा वृद्धि भएको हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले साउथ एसियन ट्रेड एग्रिमेन्ट (साफ्टा) को सुविधा प्रयोग गरेर खानेतेलको निर्यात बढ्दा कुल निर्यातमा वृद्धि भएको बताउनुभयो । तत्कालका लागि निर्यात बढे पनि यो दीर्घकालीन हुनेमा भने उहाँले आशङ्का व्यक्त गर्नुभयो । “दीर्घकालीन रूपमा निर्यात बढ्न स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात बढ्नु पर्छ,” उहाँले भन्नुभयो । 

व्यापारीले तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याएर मूल्य अभिवृद्धि गरेर पुनः निर्यात गर्दै आएका छन् । विभागका अनुसार माघ मसान्तसम्म ३२ अर्ब ४१ करोड ६१ लाख रुपियाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै छ अर्ब ९७ करोड रुपियाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको देखिन्छ । 

समीक्षा अवधिमा छ अर्ब ४६ करोड रुपियाँ बराबरको गलैँचा निर्यात भएको छ । यस्तै पाँच अर्ब ३९ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको विभागको तथ्यांक छ । सात महिनामा आयात भने १० प्रतिशतले बढेर नौ अर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँको आयात भएको थियो । 

आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापारसमेत १३.३० प्रतिशतले बढेर ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपियाँ पुगेको छ । निर्यातमा सुधार आए पनि आयात उच्च हुँदा व्यापार घाटासमेत ६.२० प्रतिशतले बढेर आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ । 

सात महिनामा सबैभन्दा धेरै डेढ खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । जसमध्ये त्यसपछि ६६ अर्ब ४८ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यस्तै ३७ अर्ब ६४ करोड रुपियाँ बराबरको पेट्रोल आयात भएको छ । खाना पकाउने ग्यास आयातमा ३५ अर्ब ४७ करोड रुपियाँ बराबर बिदेसिएको छ । सो अवधिमा ३८ अर्ब २९ करोड रुपियाँ बराबरको कच्चा सोयाबिन तेल आयात भएको छ ।

यस्तै फलाम तथा स्टिलको आयातमा ८० अर्ब ६६ करोड बिदेसिएको छ । पशुजन्य तथा वनस्पति तेल र घिउ ६६ अर्ब २० करोड रुपियाँ बराबरको आयात भएको छ । विद्युतीय मेसिन तथा त्यसको पार्टपुर्जामा ६५ अर्ब ४० करोड बाहिरिँदा सवारीसाधन आयातमा ५५ अर्ब २१ करोड रुपियाँ बाहिरिएको विभागको तथ्याङ्क छ ।

सात महिनामा छिमेकी मुलुक भारतबाट पाँच खर्ब ९६ अर्ब ३५ करोड २६ लाख रुपियाँ बराबरको आयात हुँदा नेपाबलाट ९८ अर्ब ७५ लाख रुपियाँ बराबरको निर्यात भएको छ । आयात उच्च भए पनि सो अनुपातमा निर्यात न्यून हुँदा भारतसँग चार खर्ब ९८ अर्ब  ३४ करोड ५० लाख रुपियाँ व्यापार घाटा रहेको छ । यस्तै चीनबाट एक खर्ब ९२ अर्ब ४५ करोड ४६ लाख रुपियाँको आयात हुँदा नेपालबाट २० अर्ब १४ करोड १२ लाख रुपियाँको निर्यात भएको छ । यस अवधिमा विभिन्न १५९ मुलुकसँग नेपालले वैदेशिक व्यापार गरेको छ ।