• १२ असार २०८१, बुधबार

एमडीएमएस लागू गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १५ गते । मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गर्नुभयो । 

वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेयले सरकारले अत्यावश्यक वस्तुको सहजीकरणका लागि महँगा मोबाइल फोनको आयात रोकेको स्पष्ट पार्नुभयो । एमडीएमस लागू गर्न सरकार प्रतिबद्ध रहेको पनि उहाँले जानकारी दिनुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले केही प्राविधिक काम सम्पन्न भएपछि एमडीएमएस पूर्ण रूपमा लागू हुने जानकारी दिनुभयो । त्यस्तै उहाँले अवैध मोबाइल फोन रोक्न मोबाइल व्यवसायीकै सक्रियता आवश्यक पर्ने बताउनुभयो । 

कार्यक्रममा उपत्यका प्रहरी प्रमुख उत्तम सुवेदीले अपराधको सबैभन्दा ठूलो कारण इन्टरनेट र मोबाइल फोन बनेकाले यसलाई व्यवस्थित तगर्न आवश्यक रहेको बताउनुभयो । अवैध मोबाइलका कारण राजस्व गुमेको र आपराधिक क्रियाकलाप पनि बढ्दै गएको भन्दै सरकारले एमडीएमएस लागू गर्ने योजना अगाडि सारेको थियो । यो प्रणालीले वैध मोबाइल फोन मात्र पहिचान गर्ने भएकाले अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।