• २४ वैशाख २०८३, बिहिबार

गुणस्तरीय पूर्वाधार

blog

गुणस्तरीय पूर्वाधारका लागि यसको आवश्यक तत्व तयारी अवस्थादेखि नै चाहिन्छ । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालयबाट निर्देशिका मात्र जारी गरेर गुणस्तरीय पूर्वाधार निर्माण हुन सक्दैन । गुणस्तरीय पूर्वाधारका लागि आयोजनाको हरेक प्रक्रियामा गुणस्तरीयता कायम हुनु पर्छ । कुनै पनि एउटा प्रक्रियामा कमजोरी भयो भने गुणस्तरीय पूर्वाधार निर्माण हुन सक्दैन ।

तोकिएको समय, लागत र प्राविधिक मापदण्डभित्र रहेर निर्माण गरिएका दिगो, सुरक्षित र जनअपेक्षा अनुरूपका भौतिक संरचना (सडक, पुल, भवन, बिजुली, पानी आदि) नै गुणस्तरीय पूर्वाधार हुन् । यसले सडक, ढल, खानेपानी, भवन जस्ता भौतिक संरचनालाई जनाउँछ । गुणस्तरीय पूर्वाधार निर्माणले जनजीवन सहज र सरल बनाउन मद्दत गर्छ । यसमा आयोजनाको योजना, डिजाइन, कार्यान्वयन र मर्मतसम्भारको प्रक्रिया उच्च गुणस्तरको हुन्छ । भौतिक विकास मात्र नभई सामाजिक र आर्थिक विकासमा योगदान पु¥याउने, प्रविधिमैत्री र टिकाउ संरचना नै गुणस्तरीय पूर्वाधार हुन् । 

राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वसचिव ई. अर्जुनजङ्ग थापाका अनुसार कुनै पनि गुणस्तरीय पूर्वाधार निर्माणका लागि पहिलो सर्त जे उद्देश्यका लागि निर्माण गरिएको हो, त्यो उद्देश्य पूरा हुुनु (फिट फर पर्पाेज) पर्छ । जस्तै– सबै खालका सवारीसाधन आवतजावत गर्न सक्ने उद्देश्यले कुनै पुल निर्माण गरियो तर निर्माण सम्पन्न भएपछि त्यस पुलमा ठुलो ट्रक ओहोरदोहोर गर्न सक्ने अवस्था भएन भने त्यस पुललाई गुणस्तरीय पूर्वाधार मान्न सकिँदैन । त्यसै गरी बर्खायाममा त्यो पुल बाढीले नै डुब्ने भयो भने त्यस्तो अवस्थामा पनि त्यसलाई गुणस्तरीय पूर्वाधार मान्न सकिँदैन । 

गुणस्तरीय पूर्वाधार निर्माणका क्रममा प्रयोग गरिएका सामग्रीसमेत तोकिएको मापदण्डको हुनु पर्छ । त्यसको ‘फिनिसिङ’ पनि तोकिएको मापदण्ड अनुसारको हुनु प¥यो । बाहिरबाट पनि राम्रो देखिनु पर्छ । निर्माण गरिएका संरचनाले तोकिएको मापदण्ड अनुसारको निर्माण सामग्री, फिनिसिङ र जे उद्देश्यका लागि निर्माण गरिएको हो, त्यो उद्देश्य पूरा गर्नु पर्छ । तोकिएको सेवा दिनु पर्छ । त्यसै गरी तोकिएको लागतभित्र निर्माण सम्पन्न हुुनु पर्छ अनि मात्र त्यो संरचनालाई गुणस्तरीय पूर्वाधारका रूपमा लिन सकिन्छ ।

सत्तरी प्रतिशत पूर्वाधार गुणस्तरीय

नेपालमा सम्पन्न पूर्वाधारले शतप्रतिशत गुणस्तर कायम गर्न सकेका छैनन् । यहाँका पूर्वाधार ७० प्रतिशत गुणस्तरीय रहेको पूर्वसचिव ई. थापाको दाबी छ । उहाँका अनुसार जापानका प्राविधिकले निर्माण गरेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपाली प्राविधिकले निर्माण गरेका संरचनाभन्दा गुणस्तरीय छ । नागढुङ्गा सुरुङमार्गलाई शतप्रतिशत मान्ने हो भने मुलुकको अन्य पूर्वाधारलाई ७० प्रतिशत अङ्क दिन सकिन्छ ।

पूर्वसहसचिव तथा पूर्वाधारविज्ञ ई. राजेन्द्र शर्माका अनुसार लामो समयसम्म टिक्ने, मर्मतसम्भार खर्च न्यून, सुरक्षित, अरामदायी, लगानीको प्रतिफल दिने खालको हुनुका साथै उपभोक्ताको आकाङ्क्षा अनुसारको पूर्वाधार गुणस्तरीय पूर्वाधार हो । यसका लागि ‘इनपुट, प्रोसेस र आउटपुट’ को चेकजाँच आवश्यक छ । गुणस्तरीय पूर्वाधार लागि निर्माण सामग्री पनि गुणस्तरीय हुनु अनिवार्य सर्त हो । अलकत्रा, ढुङ्गा, डन्डी, सिमेन्टलगायतका निर्माण सामग्री गुणस्तरीय हुुनु पर्छ । सिमेन्टको उत्पादन स्वदेशमा नै गुणस्तरीय भए पनि गुणस्तरीय अलकत्राको अभाव छ । गुणस्तर नियन्त्रण हुन सकेको छैन । हामीले जति गुणस्तरीय पूर्वाधार निर्माण गर्न खोजे पनि आयातित निर्माण सामग्री गुणस्तरीय हुन सकेन भने गुणस्तरीयता कायम हुन सक्दैन । त्यसै गरी काम पनि राम्रोसँग गर्नु पर्छ । सिमेन्ट, गिट्टी, बालुवा र पानी मिसाएर ढलान त हुन्छ तर कुन वस्तु कति मिसाउनु पर्छ भन्ने राम्रो ज्ञान हुनु पर्छ । यसले पनि गुणस्तरीय निर्माणमा फरक पार्छ । निर्माणका क्रममा निर्माण सामग्रीको गुणस्तर नाप्नका लागि प्रयोगशालाको प्रयोग, ती सामग्रीको परीक्षण आवश्यक पर्छ । गुणस्तरीय सामग्री र गुणस्तरीय काम  दुवै हुनु पर्छ । 

निर्माणका क्रममा ‘प्रोसेस कन्ट्रोल’, ‘इनपुट कन्ट्रोल’ र ‘आउटपुट कन्ट्रोल’ आवश्यक छ । निर्माण सम्पन्न भएपछि स्वीकार गर्नेबेलामा पनि पूर्वाधारको चेकजाँच गर्नु पर्छ । यसरी पूर्वाधार निर्माण गरेपछि त्यसको गुणस्तर प्राप्त गर्न सकिन्छ । ‘इनपुट कन्ट्रोल’ र ‘प्रोसेस कन्ट्रोल’ मा नेपाल पछाडि नै रहेको पूर्वाधारविज्ञ ई. शर्माको ठम्याइ छ ।

पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यका अनुसार धेरै समय र रुपियाँ लगानी गर्नेबित्तिकै कुनै पनि पूर्वाधार बलियो र टिकाउ हुन्छ भन्ने कुरा गलत हो । एक त निर्धारित समयमा प्राय: कुनै पनि आयोजनाको काम सम्पन्न हुँदैन । त्यसै गरी लामो समय लगाएर काम सम्पन्न गरिए पनि त्यसमा गुणस्तरीयता हुँदैन । धेरै पैसा लगानी गरेर पनि गुणस्तरीय पूर्वाधार निर्माण हुन नसक्नु अहिले ठुलो समस्या भएको छ । धेरै समय र लगानी गरेर सम्पन्न भएका पूर्वाधार पनि उपयोगमा नआउने अवर्mो ठुलो समस्या छ । जस्तो पोखरा र भैरहवाको विमानस्थल गुणस्तरीय निर्माण गरे पनि त्यो अझै उपयोगमा आउन सकेको छैन । त्यहाँ लगानी अनुसार प्रतिफल प्राप्तिको ठुलो समस्या हुन सक्छ । 

कुनै पनि पूर्वाधार निर्माणपछि त्यसले आर्थिक र सामाजिक रूपान्तरणमा भूमिका खेल्न सकेन भने त्यसलाई गुणस्तरीय पूर्वाधार मान्न सकिँदैन । समाज र आमनागरिकले अपेक्षा गरेको पूर्वाधार निर्धारित समयमै सम्पन्न हुनु पर्छ । त्यसले आर्थिक सामाजिक रूपान्तरण, औद्योगिकीकरण, कलकारखाना, कृषिमा आधुनिकीकरण, सेवाको विस्तारलगायतका सुविधा दिनु पर्छ ।

पूर्वाधारविज्ञ डा. आचार्यका अनुसार कुनै ठाउँमा सडक र पुल निर्माण भएपछि दुई घण्टाको बाटो आधा घण्टा वा सोभन्दा कम समयमा पूरा गर्न सक्नु प¥यो तर अहिलेसम्म त्यसो हुन सकेको छैन । त्यसो हुन नसक्नुको प्रमुख कारण के हो भने यहाँका आयोजनाको तयारी, डिजाइन गृहकार्य तहमा नै तदर्थ काम गर्छौं । गुणस्तरीय पूर्वाधारका लागि यसको आवश्यक तìव तयारी अवस्थादेखि नै चाहिन्छ । प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालयबाट निर्देशिका मात्र जारी गरेर गुणस्तरीय पूर्वाधार निर्माण हुन सक्दैन । गुणस्तरीय पूर्वाधारका लागि आयोजनाको हरेक प्रक्रियामा गुणस्तरीयता कायम हुनु पर्छ । कुनै पनि एउटा प्रक्रियामा कमजोरी भयो भने गुणस्तरीय निर्माण हुन सक्दैन । यसका लागि गृहकार्य, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), डिजाइनमा नै गुणस्तरीय काम हुनु आवश्यक छ । त्यसै गरी निर्माण कम्पनी सक्षम हुुनु प¥यो । आयोजना निर्माणको नियमित अनुगमन पनि हुनु पर्छ । 

गुणस्तरीय पूर्वाधारको अवस्था

नेपालको पूर्वाधारको गुणस्तर मिश्रित अवस्थाको छ, जहाँ केही क्षेत्रमा उल्लेखनीय सुधार भएको छ भने धेरै ठाउँमा अझै पनि मजबुत र गुणस्तरीय पूर्वाधारको अभाव छ । नेपालको पूर्वाधार विकासकै क्रममा भए पनि दिगो, गुणस्तरीय र स्मार्ट पूर्वाधारको आवश्यकता अझै टड्कारो छ । 

नेपालमा सडक सञ्जाल, जलविद्युत् आयोजना र सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को पहुँचमा वृद्धि भएको छ । ग्रामीण क्षेत्रसम्म पनि ब्रोडब्यान्ड इन्टरनेट र सडक पुगेका छन् । सडक, पुल र सार्वजनिक भवनको निर्माणमा दिगोपन र गुणस्तरको कमी देखिन्छ । कतिपय पूर्वाधार निर्माण भएको केही समयमै बिग्रिने समस्या छ । सडक विभाग जस्ता निकायले गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत पूर्वाधारको गुणस्तर परीक्षण गर्ने निरन्तरको प्रयास गरिरहनु पर्छ । निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर परीक्षण (क्वालिटी कन्ट्रोल) गर्ने, जसले निर्माण स्थलको गुणस्तर कायम राख्न मद्दत गर्छ ।

गुणस्तरीय पूर्वाधारले दीर्घकालीन सेवा र जनसुरक्षा सुनिश्चित गर्छ । आवश्यकताका आधारमा गुणस्तरीय पूर्वाधार निर्माण गर्ने अभियान सञ्चालन गर्नु पर्छ । नेपालमा गुणस्तरीय पूर्वाधार निर्माणका लागि विभिन्न कानुनी, प्राविधिक र वातावरणीय मापदण्ड तोकिएका छन् । यसमा भवन ऐन, २०५५, राष्ट्रिय भूउपयोग नीति २०६९ र अन्य स्थानीय तहका नियम मुख्य रूपमा रहेका छन् ।

गुणस्तरीय कसरी ?

नेपालको पूर्वाधार (इन्फ्रास्ट्रक्चर) गुणस्तरीय, दिगो र सुरक्षित बनाउन एआई (कृत्रिम बुद्धि) र आधुनिक प्रविधिको प्रयोग अत्यावश्यक छ । एआई समिट नेपाल, २०२६ का अनुसार नेपालको पूर्वाधार र समग्र प्रणाली सुधारका लागि निम्न कार्य गर्नु पर्छ :

एआई–आधारित योजना र डिजाइन : पूर्वाधार निर्माण गर्नुअघि एआई र ‘बिग डाटा’ प्रयोग गरी जोखिमको नक्साङ्कन गर्ने, जग्गाको अध्ययन गर्ने र डिजाइनलाई थप वैज्ञानिक बनाउनु पर्छ । 

अनुगमन र गुणस्तर नियन्त्रण : निर्माण भइरहेका सडक, पुल र भवनको अनुगमनमा एआईयुक्त ड्रोन र सेन्सरको प्रयोग गर्ने । यसले निर्माण सामग्रीको गुणस्तर र कार्यप्रगतिको वास्तविक समयमा अनुगमन गर्न मद्दत गर्छ । 

पूर्वाधारको मर्मतसम्भार : एआई प्रविधिले पूर्वाधारमा आउन सक्ने क्षति (जस्तै– पुलको क्रयाक, सडकका खाल्डा) पहिल्यै पत्ता लगाउन सक्छ, जसले गर्दा ठुलो दुर्घटना र मर्मत खर्च कम हुन्छ । 

नीतिगत र कानुनी सुधार : सरकारले एआईको प्रयोगका लागि स्पष्ट ‘नैतिक दिशानिर्देश र मापदण्ड’ जारी गर्नु पर्छ । यसले डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन मद्दत गर्छ ।

क्षमता विकास र शिक्षा : पूर्वाधार क्षेत्रमा काम गर्ने इन्जिनियर र प्राविधिकलाई एआई प्रविधि प्रयोग गर्ने तालिम दिनु पर्छ । 

डाटा एकीकरण (डाटा इन्टरग्रेसन) : सडक, खानेपानी र सञ्चार जस्ता विभिन्न निकायको डाटा एकै ठाउँमा व्यवस्थापन (युनिफाइड डाटा सिस्टम) गरी योजना बनाउने, जसले गर्दा काम दोहोरिने समस्या हट्छ । यी उपाय अपनाउँदा नेपालको पूर्वाधार निर्माणमा लाग्ने समय र लागत घट्नुका साथै गुणस्तरमा व्यापक सुधार आउने विश्वास गर्न सकिन्छ ।

प्रमुख मापदण्ड

भवन निर्माण संहिता : राष्ट्रिय भवनसंहिताको पालना गर्दै भूकम्पप्रतिरोधी र सुरक्षित भवनको निर्माण सुनिश्चित गर्ने ।

भूउपयोग नीति : राष्ट्रिय भूउपयोग नीति, २०६९ अनुसार जग्गाको वर्गीकरण (आवासीय, व्यावसायिक, कृषि) गरी तोकिएको क्षेत्रमा मात्र पूर्वाधार विकास गर्ने ।

स्थानीय तहको नियमन : स्थानीय सरकार सञ्चालन ऐन अनुसार बस्ती विकास र पूर्वाधार निर्माणका लागि नगरपालिका वा गाउँपालिकाबाट स्वीकृत मापदण्डको अनिवार्य 

पालना गर्ने । 

प्राविधिक अनुगमन र गुणस्तर नियन्त्रण : निर्माण सामग्री (इँटा, सिमेन्ट, डन्डी) को गुणस्तर परीक्षण गरी प्राविधिक सुपरिवेक्षण सुनिश्चित गर्ने ।

वातावरणीय मापदण्ड : निर्माणले वातावरणमा पार्ने असर न्यूनीकरण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) वा प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) को पालना गर्ने । विशिष्ट पूर्वाधार (जस्तै– सडक, पुल, शिक्षा पूर्वाधार) का लागि छुट्टाछुट्टै निर्देशिका र मापदण्ड लागु हुन्छन् ।

प्रमुख पक्ष

दिगोपन : वातावरणमैत्री र लामो समयसम्म टिक्ने, जलवायु परिवर्तनका जोखिम धान्न सक्ने संरचना । 

सुरक्षित र भरपर्दो : भूकम्पप्रतिरोधी, बाढीपहिरोबाट सुरक्षित र सेवाग्राहीलाई ढुक्क हुने अवस्था । 

समयमै निर्माण : निर्धारित समयमै आयोजना सम्पन्न गर्ने, विकास सङ्कटकाल टार्ने । 

दक्षता : कम लागत र कम स्रोतसाधनको प्रयोगमा अधिकतम प्रतिफल दिने । 

समावेशी : अपाङ्गतामैत्री, लैङ्गिक उत्तरदायी र सबैको पहुँचमा हुने ।

व्यवस्थापन 

गुणस्तरीय पूर्वाधार निर्माण व्यवस्थापन भन्नाले पूर्वाधार योजनाको परिकल्पनादेखि निर्माण र सञ्चालनसम्मको सम्पूर्ण प्रक्रियालाई वैज्ञानिक, दिगो र गुणस्तरीय बनाउने प्रक्रियालाई बुझाउँछ । यसमा प्राविधिक मापदण्ड, समय, लागत र सुरक्षाको उचित व्यवस्थापन गरिन्छ । हालको परिवेशमा गुणस्तरीय पूर्वाधार निर्माण व्यवस्थापन गर्ने प्रमुख उपाय यस प्रकार छन् ।

वैज्ञानिक तथा प्राविधिक अध्ययन : पूर्वाधार निर्माणअघि विस्तृत सम्भाव्यता अध्ययन र सर्वेक्षण अनिवार्य हुनु पर्छ । वैज्ञानिक र गुणस्तरीय पुल तथा सडक निर्माणका लागि उचित इन्जिनियरिङ मापदण्ड अपनाउनु पर्छ । 

जलवायु अनुकूल डिजाइन : पूर्वाधारलाई दिगो बनाउन जलवायु अनुकूल पूर्वाधार निर्देशिकाको पालना गरी निर्माण कार्य गरिनु पर्छ । 

एआई तथा डिजिटल प्रविधिको प्रयोग : निर्माणमा एआई सञ्चालित अन्तरदृष्टि (इनसाइट्स) को प्रयोग गरी डिजाइन र उत्पादन प्रक्रियालाई सुदृढ गर्न सकिन्छ । डिजिटल पूर्वाधारको विकासले पनि समग्र गुणस्तरमा सुधार ल्याउँछ । 

अन्तरनिकाय समन्वय : आयोजना सञ्चालन र निर्माणमा अन्तरनिकाय समन्वय र सहजीकरण गरी समयमै गुणस्तरीय निर्माण सुनिश्चित गर्ने । 

दक्ष जनशक्ति र विशेषज्ञता : संरचनाको निर्माण र व्यवस्थापनका लागि विशेषज्ञता र आधुनिक सिपयुक्त जनशक्तिको प्रयोग गर्नु पर्छ ।

अनुगमन र अनुसन्धान : गुणस्तर कायम गर्न निर्माणको निरन्तर अनुगमन र अनुसन्धानमा आधारित नीति अवलम्बन गर्नु पर्छ ।

अन्तर्राष्ट्रिय मान्यता

गुणस्तरीय पूर्वाधार निर्माणका अन्तर्राष्ट्रिय मान्यताले पूर्वाधारलाई दिगो, समावेशी, सुरक्षित र आर्थिक रूपमा सक्षम बनाउन जोड दिन्छन् । गुणस्तरीय पूर्वाधार निर्माणका अन्तर्राष्ट्रिय मूल्यमान्यता यसप्रकार रहेका छन् :

दिगोपना र वातावरणमैत्री : पूर्वाधारले वातावरणीय प्रभाव मूल्याङ्कनको पालना गर्नु पर्छ र जलवायु परिवर्तनको जोखिमलाई न्यूनीकरण गर्नु पर्छ । 

गुणस्तर र स्थायित्व : निर्माण सामग्री, प्रविधि र प्रक्रिया गुणस्तरयुक्त हुनु पर्छ, जसले पूर्वाधारलाई दीर्घकालीन रूपमा टिकाउ बनाउँछ ।

समयमै सम्पन्नता : आयोजना निर्धारित समय र बजेटभित्रै सम्पन्न हुनु पर्छ, जसले लागत वृद्धि र ढिलाइ रोक्छ ।

वैज्ञानिक योजना : पूर्वाधार आयोजना वैज्ञानिक रूपमा डिजाइन गरिनु पर्छ, जसले भूराजनीतिक चासो र स्थानीय आवश्यकतालाई ध्यानमा राख्छ ।

समावेशी र सुरक्षा : पूर्वाधारले सबै वर्गको पहुँच सुनिश्चित गर्नु पर्छ र प्राकृतिक प्रकोपलाई सहन सक्ने गरी सुरक्षित हुनु पर्छ ।

सहकार्य : सरकार र निजी क्षेत्रको सहकार्यमा ठुला पूर्वाधार आयोजना अगाडि बढाउनु पर्छ । यी मान्यताले गर्दा पूर्वाधार निर्माणमा आधुनिक प्रविधि र वैज्ञानिक विधिको प्रयोग अनिवार्य हुन्छ ।