• ५ असार २०८१, बुधबार

आर्थिक सर्वेक्षण २०७८/७९

आन्तरिक क्षेत्रमा सुधार

blog

काठमाडौँ, जेठ १५ गते । आर्थिक गतिविधि विस्तार भएसँगै आन्तरिक रूपमा बढेको मागले आयात बढ्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ । कोभिड–१९ को असर न्यून भएसँगै आयात बढ्दा मुलुकको शोधनान्तर र चालू खाता उच्च रूपले घाटामा रहेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधि सभामा पेस गर्नुभएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदनले पछिल्लो समय विकसित यी सबै परिस्थितिका कारण विदेशी विनिमय सञ्चिति घट्दा बाह्य क्षेत्रमा दबाब बढेको देखाएको हो । 

रुस र युक्रेनबीचको युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा मुद्रास्फीतिमा पनि थप चाप परिरहेको प्रतिवेदनमा उल्लेख छ । बाह्य क्षेत्रबाहेकका परिसूचक भने सन्तोषजनक नै रहेको सरकारको निष्कर्ष छ । प्रतिवेदनअनुसार कोभिड–१९ को प्रभाव घट्दै जाँदा अर्थतन्त्रका आन्तरिक क्षेत्र भने सुधार हुँदै गएको देखिएको छ । 

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत

फागुनसम्मका तथ्याङ्कलाई आधार मानेर तयार गरिएको प्रतिवेदनमा आव २०७८/७९ मा नेपालले ५.८४ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण छ । बेमौसमी वर्षाले धानबालीमा पुगेको क्षति र गत वर्ष कोरोना भाइरसको प्रभावले लक्ष्यअनुसार वृद्धिदर हासिल हुन नसकेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । खासगरी चालू आर्थिक वर्ष ऊर्जा क्षेत्रको विस्तारलाई सरकारले उत्साहप्रद मानेको छ, जुन अर्थतन्त्रको वृद्धिदरको आधारका रूपमा लिइएको छ । 

अर्थतन्त्रका मुख्य क्षेत्रहरू कृषि, उद्योग र सेवाको मूल्य अभिवृद्धि क्रमशः २.३ प्रतिशत, ८.१ प्रतिशत र ६.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यी क्षेत्रहरूको अर्थतन्त्रमा योगदान क्रमशः २३.९ प्रतिशत, १४.३ प्रतिशत र ६१.८ प्रतिशत हुने प्रक्षेपण छ । 

समग्रमा अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ४८ खर्ब ५१ अर्ब रुपियाँ (उपभोक्ता मूल्यमा) पुग्ने अनुमान छ । यसमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत रहने अनुमान छ। 

मुद्रास्फीति ७.१ प्रतिशत

चालू आर्थिक वर्षको फागुनसम्म उपभोक्ता मुद्रास्फीति ७.१ प्रतिशतसम्म पुगेको छ, जुन सरकारले लिएको ६.५ प्रतिशतको सीमाभन्दा बढी हो । आर्थिक सर्वेक्षणले पछिल्लो समय उच्च मूल्य वृद्धि रहेको स्वीकार गर्दै अन्तर्राष्ट्रिय परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, ढुवानी खर्चमा भएको वृद्धि, खाद्य पदार्थ तथा आयातित कच्चा पदार्थलगायत अन्य वस्तु तथा सेवामा भएको मूल्य वृद्धिका कारण समग्र मुद्रास्फीतिमा चाप परेको उल्लेख छ । 

प्रतिव्यक्ति आय बढ्यो 

चालू आर्थिक वर्ष प्रतिव्यक्ति आय बढ्ने देखिएको छ । गत आर्थिक वर्षको एक हजार २४६ डलरबाट चालू आर्थिक वर्ष यस्तो आय १०.८ प्रतिशतले बढेर एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको छ । चालू आर्थिक वर्षमा नेपालीको बचतको बानीमा पनि सुधार आउने अनुमान छ । गत आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९२.३ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा घटेर ९०.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । उपभोग घट्दा बचत गर्ने बानी बढेको देखिन्छ । 

खर्चमा मितव्ययिता आवश्यक

अर्थतन्त्रमा पछिल्ला समय देखिएको चापलाई सुधार गर्न सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता आवश्यक रहेको प्रतिवेदनको ठहर छ । कोभिड–१९ पश्चात् अर्थतन्त्रलाई पूर्वरूपमा पुनरुत्थान गर्न लगानीयोग्य, पुँजीको सहज उपलब्धता, मुद्रास्फीति नियन्त्रण, चालू खाता नियन्त्रण गर्दै शोधनान्तर स्थितिमा सुधार गर्नुपर्ने विषय प्रतिवेदनले उल्लेख गरेको छ । 

त्यस्तै वित्तीय क्षेत्रको सबलीकरण र सुदृढीकरणमार्फत वित्तीय स्थायित्व र अर्थतन्त्रको आन्तरिक तथा बाह्य स्थायित्व कायम गर्नेतर्फ आर्थिक नीति निर्देशित हुनुपर्ने सर्वेक्षण प्रतिवेदनको निष्कर्ष छ ।