काठमाडौँ, फागुन ७ गते । निर्वाचन नजिकिएसँगै भेटघाटमा सक्रिय उम्मेदवारको तस्बिर र भिडियोले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । यसक्रममा आ–आफ्नो पक्षमा माहोल बनाउन भिड देखाउने होडबाजी उत्तिकै छ । यसका लागि कतिपयले कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दुरुपयोग गरेको पाइएको छ ।
अहिले सञ्जालमा चर्चित उम्मेदवारदेखि केही नयाँ उम्मेदवारको तस्बिरसहित सयौँको सङ्ख्यामा मानिसको उपस्थिति देखाउन एआई प्रयोग गर्ने प्रवृत्ति तीव्र छ । झट्ट हेर्दा छुट्याउन नसकिने यसकिसिमका तस्बिर र भिडियो प्रयोगले मतदातालाई नै भ्रमित बनाइरहेको छ । त्यस्ता तस्बिर र भिडियोमा उम्मेदवार र आसपासका केही व्यक्ति वास्तविक हुने भए पनि देखाइने भिड भने एआईद्वारा सिर्जना गरिएको हुन्छ, जुन वास्तविकजस्तै देखिन्छ ।
भिड देखाउने प्रतिस्पर्धामा पुरानादेखि नयाँ राजनीतिक दल सामेल छन् । यद्यपि उम्मेदवार स्वयम्भन्दा पनि समर्थकले एआई प्रयोगमार्फत तस्बिर र भिडियोमा भिड देखाउन अग्रसरता लिइरहेका छन् । भिड देखाउने यस्तो प्रतिस्पर्धा निर्वाचन आचारसंहिताविपरीत हुने र त्यसले भ्रम सिर्जना गर्ने सरोकारवालाको धारणा छ । यसले निर्वाचनको माहोलमै असर पुग्न सक्ने उहाँहरूको धारणा छ ।
भिड देखाउँदा मतदाता आकर्षित हुन सक्ने र त्यसले लाभ हुने अपेक्षामा निर्वाचनका क्रममा धेरैभन्दा धेरै भिड देखाउन खोज्ने निर्वाचन मामिलासम्बन्धी जानकार रमेश अधिकारी बताउनुहुन्छ । “हाम्रो समाजमा कोही एक जनालाई नेता मान्ने र त्यसको वरिपरि हिँड्नु पर्छ भन्ने प्रवृत्तिले पनि भिडलाई बढावा दिएको छ,” उहाँले भन्नुभयो । यही मान्यताले जसरी पनि भिड देखाउन सामाजिक सञ्जाल प्रयोग/दुरुपयोग हुने गरेको अधिकारीको भनाइ छ । विगतमा पुराना राजनीतिक दलले यस्तो अभ्यासलाई जोड दिए पनि अहिले नयाँ राजनीतिक दलले पनि त्यही शैली स्वीकार गरेको उहाँले बताउनुभयो । “सञ्जालमा भिड देखाउने परम्परागत दलहरूको प्रवृत्तिलाई नयाँ दलहरूले झन् व्यापक गराइरहेको पाइन्छ,” उहाँले भन्नुभयो ।
विश्वभरै निर्वाचनका क्रममा एआई प्रयोग बढिरहे पनि नेपालको सन्दर्भमा एआई भन्नासाथ त्यसको सकारात्मक प्रयोग बुझ्ने प्रचलन नरहेको काठमाडौँ विश्वविद्यालय अन्तर्गतको कृत्रिम बुद्धिमत्ता विभागका उपप्राध्यापक डा. मनोज शाक्य बताउनुहुन्छ । “डिपफेकका लागि पनि एआई प्रयोग हुने भएकाले त्यसैलाई एआई बुझ्ने प्रचलन पनि छ,” उहाँले भन्नुभयो । त्यही डिपफेकमार्फत आफूलाई फाइदा हुने गरी निर्वाचनका लागि तस्बिर तथा भिडियो बनाएर प्रचार गर्ने शैली देखिन थालेको उहाँले बताउनुभयो । “कुनै पनि हिसाबले डिपफेक प्रयोग गलत हो,” उहाँले भन्नुभयो । नेपालमा एआईसम्बन्धी प्रस्ट कानुन नभएकाले यसको दुरुपयोग हुँदा कारबाही व्यवस्था भने नरहेको उहाँले जानकारी दिनुभयो ।
अधिवक्ता बाबुराम अर्याल भने एआई प्रयोग गरेर जोकसैले पोस्ट सार्वजनिक गरे पनि उम्मेदवार त्यसको जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ । “समर्थक अथवा कोही कसैले यसकिसिमका काम गरे पनि उम्मेदवारले नै त्यसका लागि अर्थपूर्ण पहल लिनु पर्छ,” उहाँले भन्नुभयो । खासगरी यस्ता पोस्टले भ्रम फैलाउने र त्यसले निर्वाचनलाई समेत असर गर्न सक्ने हुनाले निर्वाचन आयोगको आचारसंहिताविपरीत हुने उहाँको बुझाइ छ ।
निर्वाचन आयोगले सामाजिक सञ्जालमा एआई प्रयोग गरी वा नगरी निर्वाचन प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्पे्रषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण जस्ता भ्रामक टिकाटिप्पणी कसैले पनि गर्न वा गराउन नहुने विषयलाई आचारसंहितामा समेटेको छ । “कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सू्चना वा सामग्री एआई प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमरोड गरी/गराई सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायतका कार्य गर्न वा गराउन नहुने,” आचारसंहितामा उल्लेख छ ।