• २८ वैशाख २०८१, शुक्रबार

संस्थानमा धेरै उपलब्धि भएका छन् : कार्यकारी अध्यक्ष सुवेदी

blog

कार्यशालामा सहभागी विभागीय प्रमुखलाई सम्बोधन गर्नुहुँदै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

गोदावरी, जेठ १४ गते। गोरखापत्र संस्थान व्यवस्थापनले प्रकाशन प्रमुख, विभागीय प्रमुख र शाखा प्रमुखका लागि आयोजना गरेको दुई दिने नेतृत्व र सकारात्मक सोचको विकास विषयक कार्यशाला सम्पन्न भएको छ। 

कार्यशालाको समापन गर्दै कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले यहाँ सिकेका सीप र आर्जन गरेका ज्ञानलाई अब संस्थानका उत्पादन, कार्यशैली र सोचमा देखिने गरी परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। 

उहाँले संस्थान र कर्मचारीको हितका लागि आफू दृढतापूर्वक लागेको, वर्षौंदेखि रोकिएको पदक र ग्रेड प्रदान गरिएको छ र यसले कर्मचारीमा उत्साह आएको जानकारी दिनुभयो।

कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘मेरो कार्यकालको सात महिनामा संस्थानको मुख्य प्रदेशद्वारदेखि पाठकको हातमा पुग्ने उत्पादनसम्म सुधार अभियान सुरु भएको छ, राम्रा उपलब्धि पनि हासिल भएका छन्, यसमा सबै पत्रकार र कर्मचारीले पूरा साथ दिनुभएको छ, तसर्थ सबैलाई धन्यवाद दिन चाहन्छु।’’  

उहाँले वैशाख १ गतेदेखि गोरखापत्र दैनिक, द राइजिङ नेपाल, गोरखापत्र अनलाइन, द राइजिङ डेलीडट कमलगायतको डिजाइनमा परिवर्तन गरेर संस्थानका प्रकाशनलाई पाठक मैत्री बनाइएको जानकारी दिनुभयो। 

विगतमा दुई करोडको बजेट हुँदा कुनै काम नभएको तर अहिले थोरै बजेटले डिजिटल अर्काइभको काम सुरु भइसकेको छ, यसले गोरखापत्रका ऐतिहासिक सामग्रीको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

कार्यकारी अध्यक्ष सुवेदीले तीन वर्षदेखि रोकिएको कर्मचारीको वृत्ति विकासको कार्य अगाडि बढेको उल्लेख गर्नुभयो। यसले कर्मचारीको मनोबल उच्च भएर कार्य प्रक्रियामा राम्रो हुने अपेक्षा उहाँले राख्नुभएको छ।

विगतका व्यवस्थापनको पीडा कर्मचारी र संस्थानले अहिले भोग्नु परिरहेको चर्चा गर्दै उहाँले मसीको आयु दुई वर्षको छ, तर त्यो मसी पाँच वर्षका लागि खरिद गरिएको छ, त्यही मसीबाट हामीले उत्पादन गर्नुपरेको बाध्यता सुनाउनुभयो। 

करार र स्थायी सेवामा रहेका कर्मचारीबीच अझ राम्रो वातावरण बनाउन संस्थानको आर्थिक अवस्थाले धान्ने गरी करार सेवामा रहेका कर्मचारीको सेवा सुविधामा परिमार्जन गरिँदै लगिने व्यवस्थापनले सोचाइ राखेको अध्यक्ष सुवेदीले बताउनुभयो। 

संस्थानमा समस्या मात्रै छैनन्, हामीले चाहेमा समाधान पनि छन् भन्दै उहाँले असल कार्य गर्ने कसैलाई पनि विगतमा जस्तो दण्डित नगरिने उल्लेख गर्नुभयो। असल काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने, काम नगर्ने र खराब आचरण भएकालाई कारबाही गर्ने चेतावनी दिनुभयो। 


कार्यशालामा महाप्रबन्धक लालबहादुर ऐरीले नयाँ भविष्यको खोजीको विषयमा प्रस्तुति दिनुहुँदै  व्यवस्थापनले संस्थानका पाठ्यसामग्री, जनशक्ति व्यवस्थापन, कार्यप्रणाली र पूर्वाधार विकासको ठोस योजना बन्दै गरेको जानकारी गराउनुभयो। 

कार्यशालामा स्रोत व्यक्ति सुदन ज्ञावली र श्रीकृष्ण श्रेष्ठले प्रविधिको रुपान्तरण र प्रशासनिक सीपलगायतका विषयमा प्रस्तुति दिनुभयो। 

यसैगरी, गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले प्रतिभा र क्षमतालाई अझ परिष्कृत गर्न यस्ता कार्यशालाले सहयोग पुग्ने र काम गर्न सजिले हुने बताउनुभयो। उहाँले हाम्रा प्रकाशनका सामग्री गुणस्तरीय र विश्वसनीय रहेका तर त्यसलाई पाठकसम्म पुराउन अझ बढी पहल गर्नुपर्ने विचार राख्नुभयो। 

कार्यशालामा प्रकाशनका प्रमुख तथा विभागीय प्रमुख, शाखा प्रमुखले विभागको वर्तमान अवस्था, समस्या र चुनौती, सम्भावित समाधान तथा आगामी कार्ययोजना र कार्यदिशाबारेमा प्रस्तुति दिनुभएको थियो। 

यसरी प्रस्तुति दिनुहुनेमा दि राइजिड नेपालका निमित्त प्रधानसम्पादक भीमसेन थपलिया, गोरखापत्र दैनिकका निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, युवामञ्चका सम्पादक उमेशकुमार ओझा, मुनाका निमित्त सम्पादक हरिप्रसाद भट्टराई, गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारदमुनि गौतम हुनुहुन्छ। 

यसैगरी, अर्थ विभागका निर्देशक यमप्रसाद कँडेल, प्रशासन र व्यापार विभागका निमित्त निर्देशक ओमप्रकाश भुसाल, उत्पादन एवम् सूचना प्रविधि विभागका निमित्त निर्देशक रेखादेवी श्रेष्ठ, फोटोग्राफी प्रमुख रामप्रसाद हुमागाई,  नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्र ,द राइजिड नेपाल डेली डटकमका संयोजक नन्दलाल तिवारी, अर्थ विभागका निमित्त प्रबन्धक राजुकुमार महत, उत्पादन प्रशासन शाखा प्रमुख मुकुन्द चिमौरिया, ग्राहक सेवा शाखा प्रमुख गंगाबहादुर पन्थीले आ–आफ्नो योजना प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा कर्मचारी प्रशासन शाखाका प्रमुख बिक्रमबाबु राईले व्यवस्थापक, सम्पादक, विभागीय प्रमुख, शाखा प्रमुख एकै ठाउँमा बसेर वृहतरुपमा छलफल गरिएको पहिलो पटक भएको जानकारी दिनुभयो।