• १९ असोज २०८१, शनिबार

उद्यम गर्न चाहनेले सहयोग पाउने

blog

राडीपाखी तालिम समापनमा आफ्नो धारणा राख्दै नगरप्रमुख मादेन । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १४ गते ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले उद्यम गर्न चाहनेलाई सहयोग गर्ने भएको छ । घरेलु उद्यम सञ्चालन गरी आत्मनिर्भर बन्न चाहने किसानलाई नगरपालिकाले सहयोग गर्ने जनाएको हो ।

उद्यमीको सीप विकास साथै उपकरण र कच्चा पदार्थ व्यवस्थापन लगायतमा सहयोग उद्यम गर्न चाहानेलाई सहयोग गरिने नवनिर्वाचित नगरप्रमुख अमिर मादेनले बताउनुभयो । नगरपालिकाभित्रका प्रत्येक व्यक्तिले आत्मनिर्भर बन्ने उपाय स्वरुप सीप हासिल गर्ने र श्रम गर्न तयार हुने उद्यमीलाई सहयोग गरिने प्रमुख मादेनले बताउनुभयो ।

सीप अभिवृद्धिसँगै आवश्यक कच्चा पदार्थ र उपकरणका लागि उद्यम गर्न इच्छुक किसान वा उद्यमीलाई सहयोग गर्न नगरपालिका तयार रहेको उहाँको भनाइ छ । प्राप्त सीपलाई सदुपयोग वा श्रम गरी रोजगारी सिर्जना गर्नका लागि जाँगर प्रस्तुत गर्न पनि नगरप्रमुख मादेनले किसानलाई आग्रह गर्नुभयो । उहाँले आफ्नै माटो वा क्षेत्रमा श्रम गरेर आत्मनिर्भर बन्न चाहानेहरुका लागि नगरपालिकाका तर्फबाट आवश्यक सहयोग र सहुलियत प्रदान गर्नमा कञ्जुस्याँई नहुने बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको संयोजनमा फुङ्लिङ नगरपालिका–६ गुम्बाडाँडामा सञ्चालित राडीपाखी बुनाइसम्बन्धी क्षमता अभिवृद्धि तालिमको समापनमा नगर प्रमुख मादेनले सिकेको सीपलाई सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो । राडीपाखी लगायत घरेलु उत्पादनको बजारीकरणमा कुनै समस्या नरहेको बताउँदै उत्पादन वृद्धि गर्नमासमेत ध्यान दिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

पछिल्लो सयम भेडा पालन पेशा हराउँदै गएकाले ऊनबाट उत्पादन हुने राडीपाखीलगायतका सामग्री लोप हुँदै गएकोप्रति फुङ्लिङ नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले चिन्ता व्यक्त गर्नुभयो । लोपोन्मुख बन्दै गएको राडीपाखीसहित ऊनजन्य सामग्रीको संरक्षण र जगेर्ना गर्दै व्यावसायीकरणका लागि नगरपालिकाले सधैं सहयोग गर्ने रिमालले बताउनुभयो ।

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोर्साइँले सीप हस्तान्तरणसँगै प्रविधिमा सहुलियत दिएर सीपलाई श्रममा र श्रममार्फत रोजगारी सिर्जना गर्ने कार्यमा स्थानीय तहसँग समन्वय र सहकार्य गरिरहेको बताउनुभयो । यस्तै स्थानीय परिवेश र आवश्यकताअनुसार उद्यम सिर्जनाका लागि वडा तहबाटै योजना बनाएर नगरपालिकामार्फत अघि बढाइने वडा ६ का वडाध्यक्ष मदन गुरुङले बताउनुभयो ।