लिलाधर वली
घोराही, माघ २६ गते । उमेरले करिब चार दशक पुग्नु भएका जेपी मगर मूर्तिकला सम्बन्धी काम गर्दै आउनुभएको छ । जग्गा भाडामा लिएर घोराही उपमहानगरपालिका–१७ गैरा गाउँमा सृजनशील मूर्ति उद्योग स्थापना गर्नुभएका मगरले मूर्ति बनाएर महिनामा एक लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
विगत एक दशकदेखि मूर्तिकला क्षेत्रमा लाग्नुभएका चौधरीले धार्मिकदेखि विभिन्न जनावर,पशुपक्षी, सहिदका सालिकलगायतका मूर्तिहरू बनाउने काम गर्नुहुन्छ ।
मूर्तिकलाबाट राम्रो आम्दानी गर्दै आउनुभएका कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका–११ निवासी मगर आफन्तले गरेको मूर्तिकला सम्बन्धी काम देखेर आफू यो क्षेत्रमा लागेको बताउनुहुन्छ । दाङ बसाइका क्रममा मूर्तिकला सम्बन्धी काम चल्ने जस्तो देखेर २०७१ सालदेखि कालिगड ल्याएर गैरा गाउँमा व्यवसायीक रूपमा सुरु गरेको उहाँ बताउनुहुन्छ ।
सृजनशील मूर्ति उद्योग दर्ता गरेर व्यावसायिक रूपमा लाग्नुभएका मगरले कालिगडले मूर्ति बनाएको हेर्दाहेर्दै आफूले पनि बनाउन सिकेको बताउनुहुन्छ । ‘व्यवसायमा जोडिए पनि मलाई मूर्तिकला सम्बन्धी कुनै ज्ञान थिएन’,मगरले भन्नुभयो,‘सुरुमा कपिलवस्तुबाटै कालिगड लिएर मूर्ति बनाउने काम गरे । त्यही काम हेर्दाहेर्दै मैले पनि बिस्तारै सिक्दै थिए ।’ व्यवसाय सुरु गर्दा आफूलाई ढुङ्गालाई कसरी कुदेर मूर्ति बनाउने, मूर्तिकला सम्बन्धी केही आइडिया नभए पनि बिस्तारै सिक्दै जाँदा अहिले मूर्तिकला सम्बन्धी सिप सिक्नका साथै आम्दानी समेत राम्रो भइरहेको बताउनुहुन्छ ।
उहाँका अनुसार कालिगड नभए पनि मूर्तिकला सम्बन्धी काम गर्न सक्ने भए पनि कामको व्यस्तताका कारण उद्योगमा एक जनालाई राखेको बताउनुभयो ।
मूर्ति बनाउनका लागि अडर आइरहने र कतिपय ठाउँमा आफै पुगेर मूर्ति बनाउनुपर्ने भएकाले एक जनालाई कालिगड राखेको भन्दै उहाँले भन्नुभयो,‘उद्योगसँगै सम्बन्धी ठाउँमै पुगेर कतिपय काम गर्नुपर्ने भएकाले एक मूर्ति बनाउने कालिगड राखेका छौ । बाँकी काम श्रीमान्–श्रीमती आफैले गर्ने गर्दछौ ।’ भनेकै जस्तो ढुङ्गालाई जीवन्त कलामा उतार्न सक्ने क्षमताका कारण अहिलेसम्म सबैले मन पराइदिएको उहाँ बताउनुहुन्छ ।
धार्मिक देवीदेवताका मूर्ति, सहिदका मूर्ति, विभिन्न वन्यजन्तु, जीव, जनावर, पक्षीलगायतका मूर्ति ढुङ्गामा कुद्नेदेखि सिमेन्ट, फाइवर, मार्बल डस्टरबाट मूर्ति बनाउने काम गर्दै आउनुभएको छ ।
ग्राहकको चाहना अनुसार विभिन्न मूर्ति बनाउँदै आउनुभएका मगरले भन्नुभयो,‘खास गरी हामीले ग्राहकको चाहना अनुसार अडर भएका मूर्तिहरू बनाउने काम गर्दै आएका छौ । खाली समयमा विभिन्न धार्मिक तथा जनावरका मूर्ति बनाउँछौ,ती पछि पनि बिक्ने गर्दछन् ।’ धार्मिक स्थलहरूमा ढुङ्गा कुदेर मूर्ति बनाउने गरे पनि अन्य स्थानमा सिमेन्ट वा फाइवरबाट बनाउने गरेको बताउनुहुन्छ ।
पहिलो पटक पाण्डवेश्वर धार्मिक धाम धारपानीमा विष्णु, साढेलगायतका मूर्तिहरू ढुङ्गामा कुदेर र १०८ शिवलिङ्ग, गौमुखी धारालगायतका अन्य संरचना बनाएर जिल्लामा मूर्तिकला सम्बन्धी काम गरेको बताउनुहुन्छ । दाङसहित रोल्पा, रुकुम, प्युठानलगायतका विभिन्न ठाउँमा रहेका मन्दिर, विद्यालयलगायतका ठाउँबाट देवीदेवतासँगै सहिदका सालिकहरू अडर आउने आफूले बनाउने गरेको बताउनुहुन्छ ।
मूर्तिकला सम्बन्धी काममा गरेर महिनामा यति भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहे पनि एक लाखभन्दा कम रुपियाँ कहिले नभएको बताउनुहुन्छ ।
मूर्तिमा लागेको मेहनत र साइजअनुसार मूल्य फरक पर्ने गरेको भन्दै उहाँले न्यूनतम २५ सयदेखि बढीमा चार लाखसम्ममा बिक्री गरेको बताउनुहुन्छ । मूर्ति बनाउनका लागि कम्तीमा आठ÷दश दिनदेखि महिनासम्म लाग्ने गरेको श्रीमती जानकी मगर बताउनुहुन्छ ।
मूर्तिको साइज अनुसार समय लाग्ने भन्दै जानकीले भन्नुभयो,‘मूर्ति बनाउँदा केको बनाउने,त्यसमा निर्भर हुन्छ । ढुङ्गा कुद्दा समय लाग्छ, सिमेन्ट वा फाइवरबाट बनाउँदा चाडै तयार गर्न सकिन्छ ।’ मूर्तिकला सम्बन्धी कामबाटै घरपरिवार चलाउनेदेखि छोराछोरीलाई पढाउने काम भइरहेको उहाँले बताउनुभयो । आमाबुबासँगै छोरी पनि ललितकला केन्द्र काठमाडौँमा मूर्तिकला सम्बन्धी अध्ययन गर्दै आउनुभएको छ ।