• २४ माघ २०८१, बिहिबार

लोपोन्मुख पन्ध्र नाच एकै मञ्चमा

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ २४ गते । गण्डकी प्रदेश लोकसंस्कृति र सांस्कृतिक विविधतामा धनी छ । पछिल्लो क्रममा यहाँका केही भाषा, संस्कृति, नाच, परम्परा हराउँदै गएका छन् । नागरिकका चेतनाको विकास, प्रविधिको पहुँचसँगै गाउँ गाउँमा साहित्यिक, सांस्कृतिक, जातीय सङ्घ, संस्था खुलेका छन् । प्रदेश र स्थानीय तहमा प्रज्ञा–प्रतिष्ठान बनेका छन् । पहिले गण्डकीको पहिचान बनेका तर अहिले लोपोन्मुख हुन लागेका नाच पोखरामा देखाइँदै छ । ५० भन्दा बढी कलाकारले गण्डकीमा प्रचलित विविध नृत्य देखाइरहेका छन् । तरेली सांस्कृतिक परिवारले गण्डकीका लोपोन्मुख १५ नाच एकै मञ्चमा प्रदर्शन गरिरहेको छ । लोपोन्मुख नाचको प्रदर्शनी माघ २५ गतेसम्म चल्ने छ । 

पोखरामा अहिले थारू जातिमा प्रचलित झडझडिया डफ नाच देखाइँदै छ । डफ बाजाको तालमा नाचिने यो नृत्य फागुपूर्णिमामा देखाइने परम्परा छ । कुमाल जातिमा दुलही भित्र्याइसकेपछि नाचिने डिकुरो नाच, सोरठी नाच, गन्धर्व जातिको तरबारी नाच पनि प्रदर्शन गरिएको छ । गण्डकी क्षेत्रमा लोकप्रिय सालैजो, झ्याउरे नाच, कौरा नाच, झोरा, जिउमामा, बालन नाच हेर्न संस्कृतिप्रेमी, विद्यार्थीलगायत पुग्ने गरेका छन् ।

कार्यक्रममा गुरुङ, मगर र दुरा जातिमा प्रचलित घाँटु नृत्य, गुरुङको अन्तिम संस्कार अर्घौंमा नाचिने छ्याँडु, कृष्णचरित्र जस्ता नृत्य दर्शकले चाख मानेर हेरिरहेको गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ बताउनुहुन्छ । “हाम्रो संस्कृति, भाषा, संस्कार नरहे हामी पनि रहन्नौँ,” उहाँ भन्नुहुन्छ, “गण्डकीको पहिचान बनेका तर पछिल्लो समय हराउन थालेका नाच एकै मञ्चमा देखाएर संस्कृतिप्रति पछिल्लो पुस्तामा जागरुकता ल्याउने र संरक्षण गर्न पहल गरेका हौँ ।”

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले लोपोन्मुख बनेका नाचको विविधताले नेपालीको सांस्कृतिक विविधता र सम्पन्न संस्कृतिको परिचय दिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस्ता लोपोन्मुख संस्कृति जगेर्ना गर्दै नयाँ पुस्तालाई थप जिम्मेवार बनाउनु पर्छ ।” गण्डकी प्रज्ञा–प्रतिष्ठानसँगै पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीले पनि सघाएका छन् । प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठ प्रतिष्ठानले प्रदेशको साहित्य, कला, सङ्गीत र लोकसंस्कृति संरक्षणका लागि विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।