• १४ असार २०८२, शनिबार

धुलो (कविता)

blog

धुलो–१

मान्छेहरूले 

–खपात 

–नदीनाला

–जीवजन्तु 

सबै सबै मासेर

ठड्याए कङ्क्रिटको जङ्गल

कुदाए धुवाँका मुस्लाहरू

त्यसपछि सहर, सहर रहेन धुलो बन्यो

जब सहर पूरै धुलो बन्यो 

मान्छेहरू मान्छे रहेनन् 

परिणत भए धुलोमै


धुलो–२

तिमी र म 

एक एक ढिक्का थियौँ

जब जुध्यौँ 

बन्यौँ असङ्ख्य धुलोहरू

अहिले एक एक कणले नै 

हल्लाइरहेछौँ संसारलाई

गुण हो सबै कुरा

आकारको कुनै अर्थ छैन


धुलो–३

मान्छे 

ज्ञानको कुरा गथ्र्यो

विज्ञानको कुरा गथ्र्यो

र, कुरा गथ्र्यो

विशाल महल, यान र हतियार बनाएको 

अहिले निसास्सिरहेछ

एक कण धुलोले 


धुलो–४

युद्ध चलिरहेछ

गाजा र इजरायलमा

युक्रेन र रसियामा

तर, धुलोले खङ्ग्रङ्ङ सुकिरहेछ मेरो सहर

सुकेका पतिङ्गरहरूले 

घाँसका नयाँ मुनाहरूलाई

ढपक्क ढाके झैँ

तानाशाहहरूले अँठ्याइरहेछन्

देशका हात, पाउ र आँखाहरूलाई

धुलोले निसास्सिएको घाम

आधा गर्धन छिनेको खसी झैँ छटपटाइरहेछ

समुद्रमा बतास चलेको खबर भने

डढेलोपछिको पिपिरो झैँ उठिरहेछ