• २३ माघ २०८१, बुधबार

‘लामो सहकार्य भए राजनीतिक स्थायित्व’

blog

पोखरा समाचारदाता 

पोखरा, माघ २३ गते । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म कांग्रेस–एमालेबिच सत्ता गठबन्धन भएमा मुलुकमा राजनीतिक स्थायित्व हुन सक्ने दाबी गर्नुभएको छ । कांग्रेसका ७७ वटै जिल्लाका सभापति र प्रशिक्षण विभाग प्रमुखको अभिमुखीकरण कार्यक्रमलाई पोखरामा मङ्गलबार सम्बोधन गर्दै नेता देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति अविश्वास गर्नुपर्ने कारण नरहेको बताउनुभयो । 

उहाँले मुलुकको स्थायित्वका लागि नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टीसँग मिलेर अघि बढेको बताउनुभयो । हाल नेपालको संविधानको प्रयोगमा आएका केही कठिनाइ सम्बोधन गर्न संविधानको संशोधन आवश्यक रहेको भन्दै उहाँले त्यसका निम्ति एमालेसँग सहमति भइसकेको र अन्य दललाई पनि मिलाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रशिक्षण विभाग प्रमुखको अभिमुखीकरण कार्यक्रममा नेता देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउन निर्देशन दिँदै भन्नुभयो, “नेपाली कांग्रेस जनताको पार्टी हो । यसलाई अझ सशक्त र बलियो बनाउने दायित्व नेता, कार्यकर्ता सबैको हो । सबै एकजुट भई पार्टीलाई बनाउने समय आएको छ ।” 

सभापति देउवाले कांग्रेस पार्टीको अर्थनीति, वर्तमान संविधानको संशोधन, जलवायु परिवर्तनलगायतका विषयमा पनि बोल्नुभएको थियो । सबै मिलेर देश बनाउनुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सङ्घीयतालाई अझै बलियो बनाउन नेपाली कांग्रेसको अहम् भूमिका हुने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसलाई सशक्त पार्टीका रूपमा स्थापित गराउनमा प्रशिक्षण कार्यक्रम महत्वपूर्ण हुने भन्दै पार्टीको केन्द्रदेखि तल्लो तहसम्म प्रशिक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो । 

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बिपी चिन्तनलाई बुझेर पार्टीलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो । समयसापेक्ष रूपमा पार्टीलाई अघि बढाउन युवा र रोजगारीका कार्यक्रमलाई स्थान दिनुपर्ने उहाँको भनाइ थियो । बुधबारसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय नेताले प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षणमा ७७ वटै जिल्लाका पार्टीका जिल्ला सभापति, उपसभापति, प्रदेश सभापतिसहित करिब दुई सय जनाको सहभागिता छ ।