मुगु, माघ २३ गते । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अस्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार भूमि पूजा गरिएको हो ।
प्रदेशमा तीनतारेसम्मका होटेल यसअघि सञ्चालनमा आए पनि चारतारे पहिलो पटक निर्माण गर्न लागिएको रारा होल्डिङ रिसोर्ट प्रालिका परियोजन प्रबन्धक अरुण चन्दले बताउनुभयो ।
गत वर्ष सरकारले काठमाडौँमा आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेकविक्रम शाहसहितको टोलीले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार सङ्घीय सरकारसँग रारा होल्डिङ रिसोर्ट प्रालिले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त रिसोर्ट पहिलो चरणमा रु. एक अर्बको लागतमा निर्माण हुने चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ वटा सुविधासम्पन्न कोठाका ९८ शय्या निर्माण हुने छन् ।
दैनिक एक सय आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने गरी यो रिसोर्टको लक्ष्य छ । रिसोर्टको औपचारिक रूपमा यही माघ ३० गते वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले शिलान्यास गर्ने कार्यक्रम रहेको रारा होल्डिङ रिसोर्ट प्रालिले जनाएको छ ।
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले रारा क्षेत्रमा सुविधासम्पन्न होटेल नभएका कारण दुःखेसो पोख्दै आएका बेला सिँजा भ्याली, रारा, छायानाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रिसोर्ट निर्माण गर्न लागिएको परियोजन प्रबन्धक चन्दले जानकारी दिनुभयो । समुद्री सतहबाट तीन हजार पाँच सय मिटर उचाइमा निर्माण हुने उक्त रिसोर्टको आगामी चैतदेखि पूर्वाधार निर्माण सुरु गरिने छ ।
रिसोर्ट सञ्चालनमा आएपछि १२० जनाले प्रत्यक्ष रोजगारी पाउनुका साथै एक हजारभन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीका अवसर सिर्जना हुने रिसोर्टका प्रतिनिधि प्रेम शाहीले बताउनुभयो ।
स्थानीय समुदायका पुराना घरशैलीका ५५ कोठामा ९८ शय्या निर्माण हुने यो रिसोर्टमा एक सयको क्षमता भएको सेमिनार हल, प्रत्येक कोठाका झ्यालबाट रारा र हिमाली शृङ्खलाको दृश्यावलोकन गर्न सकिने र रिसोर्टबाट आधा घण्टामाथि रहेको मुर्माटप पुगेपछि सात जिल्लाको भूभाग अवलोकन गर्न सकिने प्रबन्धक चन्दले उल्लेख गर्नुभयो ।
केही वर्षयता रारा क्षेत्रका माझ घट्ट, सल्लेरीमा एक दर्जनभन्दा बढी होटेल सञ्चालनमा छन् तर सिजनमा यी होटेलले पर्यटकलाई सेवा दिन समस्या हुँदै आएको छ ।