• २२ माघ २०८१, मङ्गलबार

आहा–रारा गोल्डकप : पुलिसको विजयी सुरुवात

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र सहाराका खेलाडी । तस्बिर : गोरखापत्र

माधव बराल 

पोखरा, माघ २२ गते । विभागीय टोली नेपाल पुलिस क्लबले २४औँ आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो ।

जितसँगै पुलिस क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक खेलमा पुलिसलाई जिताउन उज्वल राईले गोल गर्नुभयो । राईले ३७औँ मिनेटमा कर्नरबाट प्रहार गर्नुभएको बल साेझै गोल भएको थियो ।

उक्त गोलनै अन्तिममा निर्णायक बन्यो । जसलाई आयोजक सहारा क्लबका गोलरक्षक सन्तोष महतले नियाल्न सक्नुभएन । उज्वल राई म्यान अफ दि म्याच घोषित हुनुभयो । 

खेलमा पुलिसले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । १७औँ मिनेटमा विवेक पाण्डेले दिएको पासलाई सुजन मगरले प्रहार गर्दा पोस्ट नजिकैबाट बाहिरियो । ३२औँ मिनेटमा सुजन मगरले हानेको बल विपक्षी किपरबाट रिबाउन्ड भएको थियो ।

३३औँ मिनेटमा राम वाजीले प्रहार गरेको फ्रि किकलाई उज्वल राईको प्रहार बाहिरिएको थियो । आयोजक सहाराले पनि केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो । पाँचौँ मिनेटमा विलियम सेसेगननले वान भर्सेस वानको अवस्थामा हानेको बल गोल हुन सकेन ।

११औँ मिनेटमा सुनील लामाले आर्क नजिकैबाट प्रहार गरेको बललाई विपक्षी गोलरक्षक सन्तोष महतले बचाउनुभयो । २३औँ मिनेटमा सन्तबहादुर गुरुङको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । २८औँ मिनेटमा सन्तबहादुर गुरुङले हानेको बल सेकेन्ड बार नजिकैबाट बाहिरियो । 

खेलपछि सहाराका प्रशिक्षक सुनील रानाले राम्रो खेले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार खाएको बताउनुभयो । उहाँले खेलाडीबिच तालमेल नमिलेको पनि बताउनुभयो । पुलिका प्रशिक्षक चेतन घिमिरेले आगामी खेलमा थप सुधारिएको प्रदर्शन गर्ने बताउनुभयो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ ।

यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको थियो । पुलिसले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार विभागीय टोली एपिएफ र मच्छिन्द्र क्लबबिच प्रतिस्पर्धा हुनेछ ।