सूचना प्रविधिको विकासले हाम्रो जीवनलाई चामत्कारिक सुविधा दिएको छ । साथै बैङ्किङ क्षेत्रमा पनि कारोबारको भुक्तानीमा चामत्कारिक परिवर्तन आएको छ । भौतिक मुद्राको प्रयोग न्यूनीकरण हुँदै गएको र विद्युतीय कारोबार अर्थात् डिजिटल कारोबार बढ्दै गई जनजीवन अत्यन्त सुविधाजनक हुन पुगेको छ ।
यद्यपि भुक्तानीमा आएको यो सुविधासँगै धेरै खाले जोखिम पनि देखिएका छन् । जसलाई न्यूनीकरण गर्नु चुनौतीपूर्ण हुँदै गएको छ ।
विद्युतीय माध्यमबाट के के भुक्तानी गर्न सकिन्छ ?
विद्युतीय भुक्तानीलाई डिजिटल भुक्तानी पनि भनिन्छ । अहिले डिजिटल माध्यमबाट भुक्तानी गर्न नमिल्ने विषय कुनै बाँकी रहेन । यसबाट व्यक्ति, समाज, संस्था तथा राष्ट्र सबै क्षेत्र लाभान्वित भएका छन् । यसबाट कारोबारमा पारदर्शिता आउने, अवाञ्छित गतिविधि न्यूनीकरण हुने, आपराधिक गतिविधिका भुक्तानीमा कमी आउने, सरकारलाई यथोचित आम्दानी हुनेलगायतका लाभ पुग्ने गर्दछ ।
डिजिटल माध्यमबाट एक बैङ्क खाता वा DigitalWallet बाट अर्काे बैङ्क खाता वा DigitalWallet मा विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्न सकिन्छ । यस कारोबारमा सेवा प्रदायक र सेवाग्राही संलग्न रहन्छन् । विद्युतीय माध्यमबाट देहायबमोजिमका क्षेत्रमा भुक्तानी गर्न सकिन्छ :
सर्वसाधारणले
- सामान खरिद गर्दा बिल भुक्तानी गर्न ।
- घरभाडा, पानी, बिजुली, टेलिफोन/मोबाइलको बिल तिर्न ।
- विद्यालयको शुल्क, अस्पतालको सेवा शुल्क, राजस्व, इन्टरनेट शुल्क तथा होटल बुकिङबापत भुक्तानी गर्न ।
- डिम्याट, सेयर नवीकरण, जहाजको टिकट खरिद गर्न ।
- विदेशबाट स्वदेशमा रकम पठाउन ।
- पुँजीबजारको भुक्तानी दिन ।
- रेस्टुरेन्टमा, पेट्रोल पम्पमा भुक्तानी तथा अनलाइन सामान खरिद गर्न ।
- लोक सेवाको फाराम भर्न ।
- अन्य व्यक्तिको बैङ्क खातामा पैसा पठाउन ।
व्यापारी/व्यवसायीले
बिलको भुक्तानी लिन ।
आपूर्तिकर्तालाई भुक्तानी दिन ।
सिधै बैङ्कमा रकम जम्मा गर्न ।
राजस्व, घरभाडा, बिजुली, पानी, टेलिफोनको भुक्तानी गर्न ।
बैङ्क किस्ता भुक्तानी गर्न आदि ।
डिजिटल वित्तीय कारोबारका फाइदा
डिजिटल कारोबारबाट बहुपक्षीय लाभ पुग्न सक्दछ । डिजिटल कारोबारबाट व्यक्तिलाई समयको बचत हुने, शीघ्र भुक्तानी हुने, घरमा नगद राख्न नपर्ने, लुटपाटको सम्भावना नहुने, खर्चको रेकर्ड रहने भएकाले पारदर्शिता बढ्ने, बैङ्क मौज्दातमा ब्याज आइरहने, भौतिक पैसाको कारोबार कम हुने, पैसाले सर्ने रोग नियन्त्रण हुने, सुरक्षित (पैसा हराउने/चोरिने सम्भावना नहुने), कारोबारको तत्काल सूचना मिल्नेलगायतका फाइदा हुन्छ ।
यसै गरी व्यवसायीलाई रकम जम्मा गर्न बैङ्क जानु नपर्ने, खुद्रा र सिक्का खोज्ने समय बचत हुने, व्यापार वृद्धि हुने, बैङ्क कारोबार वृद्धि हुँदा कर्जा लिन सहज हुने, घरभाडा, बिजुली, पानीको बिलको भुक्तानी सिधै आफ्नै खाताबाट गर्न सकिने, घरबाटै राजस्व भुक्तानी गर्न सकिने, कर्मचारीको पारिश्रमिक सिधै खातामा पठाउन सकिने, कारोबारको सूचना तत्काल आउने आदि फाइदा हुन सक्छ ।
बैङ्क तथा वित्तीय संस्थालाई सञ्चालन तथा कर्मचारी खर्चमा बचत हुने, नोट व्यवस्थापनमा हुने खर्च बचत, बिमासम्बन्धी खर्चमा बचत, सुरक्षा व्यवस्थापनमा हुने खर्च बचतलगायतका फाइदा पनि हुन्छन् ।
कारोबारमा पारदर्शिता हुने हुँदा भ्रष्टाचार र अवाञ्छित लेनदेन न्यूनीकरण हुने, नोट छपाइ खर्चका लागि बिदेसिने अर्बौं रुपियाँ बचत हुने, नोट व्यवस्थापनमा हुने खर्च उल्लेखनीय रूपमा घट्न जाने, सुशासन कायम गर्न मद्दत पुग्ने, नगद सम्पत्तिको चोरी डकैतीमा कमी आई राज्यको सुरक्षा खर्चमा बचत हुने, सम्पत्ति शुद्धीकरण तथा आपराधिक गतिविधि नियन्त्रणमा सहज हुने, अर्थतन्त्रको औपचारिकीकरण (Formalization of Economy) गर्न मद्दत पुग्नेलगायतका फाइदा हुन सक्छ ।
हुन सक्ने ठगी
प्रविधिले ल्याएको भुक्तानी क्रान्तिसँगै यस क्षेत्रमा ठगी तथा आपराधिक गतिविधि बढ्दै गएको देखिन्छ । प्रविधिको प्रयोग गरी अर्काको खाताबाट पैसा तान्ने अपराधका घटना बढ्दै गएका छन् । खासगरी वित्तीय ग्राहकलाई फोन गरेर म अमूक बैङ्क वा वालेट कम्पनीबाट बोलेको भनेर तपाईंको खाता अपडेट गर्ने, चिट्ठा वा पुरस्कार परेकाले रकम जम्मा गर्न पासवर्ड माग्ने र पैसा तान्ने प्रवृत्ति बढ्दै गएको छ । अहिले देहायबमोजिमका माध्यममार्फत डिजिटल ठगी हुने गरेको देखिएको छ ः
- सामाजिक सञ्जालमार्फत : पासवर्ड, ओटिपी, खाता विवरण मागेर प्राप्त गरी रकम अपचलन गर्ने ।
- नक्कली Website वा मोबाइल एप : नक्कली ई कमर्स साइट बनाई रकम प्राप्त गर्ने तर सामान उपलब्ध नगराउने ।
- चिट्ठा परेको भनी भुक्तानी गर्न कर प्रयोजनका लागि केही रकम पठाउन उत्प्रेरित गर्ने ।
- इमेलमार्फत User name, Password,, खाता नम्बर मागी ठगी गर्ने ।
- डेबिट, क्रेडिट कार्डको गोप्य सूचना जस्तै पिन, कार्ड नम्बर आदि चोरी गरी ठगी गर्ने । यस्तो ठगी चाहिँ बैङ्क कर्मचारीले पनि गर्न सक्छन् ।
- नक्कली QR Code : नेपालमा चाहिँ अहिलेसम्म यो समस्या देखिएको छैन ।
- नक्कली खाता खोलेर विभिन्न बैङ्कका फेक प्याड बनाई सूचना माग गरी ठगी गर्ने ।
- छोरो वा अन्य नातेदार बनेर सोझा अभिभावकबाट गोप्य सुरक्षा सूचना प्राप्त गरी ठगी गर्ने ।
विद्युतीय कारोबारमा सजगता
अहिले डिजिटल कारोबारमा सुरक्षा जोखिम बढ्दै गएका छन् । खासगरी पासवर्ड, पिन कोड तथा ओटिपी पत्ता लगाएर अर्काको खाताबाट पैसा तान्ने प्रवृत्ति देखिएको छ । यस प्रकारको जोखिमबाट सुरक्षित रहने एक मात्र उपाय भनेको पासकोड, पिनकोड अरूलाई नदिनु हो । यहाँ स्मरणीय के छ भने कुनै पनि बैङ्क वा वालेट कम्पनीबाट कहिल्यै पनि पास वर्ड मागिँदैन ।
यी कुरामा सजग रहेमा डिजिटल कारोबारबाट हुने जोखिमबाट सुरक्षित हुन सकिन्छ ।
- आधिकारिक Banking र walletApp मात्र प्रयोग गर्ने ।
- ल्यापटप, कम्प्युटरमा आधिकारिक सफ्टवेयर मात्र राख्ने, Antivirus राखेर नियमित अपडेट गर्ने ।
- शङ्कास्पद कारोबार देखिएमा तुरुन्त बैङ्क वा सेवा प्रदायकलाई जानकारी गराउने ।
- आफ्नो खाताको स्टेटमेन्ट समय समयमा चेक गर्ने ।
- क्रेडिट कार्ड, डेबिट कार्ड सुरक्षित प्रयोग गर्ने ।
- ओटिपी (OTP), पासवर्ड, पिन कोड कसैलाई नदिने ।
- मोबाइल एप, वेबसाइटको आधिकारिता पुष्टि गरेर मात्र युजर आइडी, पासवर्ड, कार्डसम्बन्धी डाटाहरू राख्ने ।
- QR Code सही रहेको यकिन गरेर मात्र कारोबार गर्ने । –युवामञ्च