कल्पना गरौँ गुगल म्यापमा देश, शहर, घर र गल्ली हेरे जस्तै सूक्ष्म मानव कोषलाई नजिकैबाट हेर्न सकिए कस्तो होला ? हो, यस्तो प्रविधि अब कल्पनामा मात्र नभई वास्तविकतामा सम्भव हुने भएको छ । सुन्दा काल्पनिक लाग्ने यो प्रविधि विकास हुन हामीले अबको दुई वर्ष मात्रै पर्खिनुपर्ने हुन्छ । सन् २०२६ सम्ममा वैज्ञानिकले मानव कोषिका मानचित्र अर्थात् ह्युमन सेल एटलसलाई पूर्णता दिने घोषणा गरेका छन् । यससम्बन्धी रिपोर्ट नेचर जर्नलमा प्रकाशित छ ।
मानव शरीर करिब ३७ लाख करोड कोषिका (सेल्स) ले बनेको हुन्छ । हरेक कोषिकाको काम र व्यवहार फरक फरक हुन्छ । त्यति मात्र होइन यी कोषिकाको जीवन अवधि पनि भिन्दाभिन्दै छ । शरीरमा पुराना कोषिका मर्ने र नयाँ कोषिका विकास हुने क्रम मानिस जीवित रहुन्जेलसम्म चलिरहन्छ । कोषिकाले शरीरमा ऊर्जा दिने काम गर्छन् । यी निश्चित समयमा मर्छन् र नयाँ बन्छन् । यही कुरालाई सूक्ष्म रूपमा बुझ्न वैज्ञानिकले मानव शरीरका सबै कोषिकाको बृहत् नक्सा बनाउँदै छन् ।
मानव कोषिका मानचित्रमा हरेक कोषिकाको विस्तृत विवरणका साथै कोषिकाका बारेमा सम्पूर्ण जानकारी सामेल हुने छ । यसको सहयोगले सबै प्रकारका कोषिकासँग सम्बन्धित समस्या तथा रोगको रोकथाम गर्नुका साथै शारीरिक विकास र रोग प्रतिरोधी क्षमतालाई बढाउन सकिने वैज्ञानिकहरूको दाबी छ ।
यदि यो परियोजना सफल भएमा भविष्यमा मानिस करिब अमर नै हुने छन् । मानिसलाई जीवनभर कुनै पनि खालको रोग लाग्ने छैन । यस अध्ययनमा संलग्न वैज्ञानिकहरूका अनुसार अहिलेसम्म १० करोड कोषिकाको विवरण उतार भइरहेको छ ।
नेचर जर्नलका अनुसार पहिलो चरणमा वैज्ञानिकले मानव कोषिका नक्साको पहिलो प्रति तयार पार्ने छन् । जसमा फोक्सो, मस्तिष्क तथा छालालगायतका विभिन्न अङ्गको प्रणाली समावेश हुने छन् । यस्तो खालको नक्साबाट सूक्ष्म तथ्याङ्क निकाल्न परिष्कृत कम्प्युटरकृत उपकरण प्रयोग गरिने छ । यस नक्साको प्रयोगबाट मानव शरीरका हरेक कोषिकाको अवस्थिति, पहिचान तथा कामको विवरण विभिन्न उमेर चरणमा सङ्कलन हुने छ । यसबाट मानव शरीरका कोषिकाले कुन उमेरमा कस्तो काम गर्छन् भन्ने जानकारी लिइने छ ।
ह्युम सेल एटलसका संस्थापक सहअध्यक्ष अविव रेगेवका अनुसार यो मानव शरीरको अहिलेको चित्रभन्दा फरक र आधुनिक नक्सा हुने छ । उनका अनुसार जसरी १५ औँ शताब्दीको विश्वको नक्साको आधारमा अहिले धेरै कुरा बुझ्न सकिँदैन र गुगल म्याप आवश्यक पर्दछ त्यसै गरी मानव शरीरको पनि अत्याधुनिक नक्साको आवश्यकता छ । सोही कारण मानव शरीरको नक्सालाई पनि ठ्याक्कै गुगल म्याप जस्तै बनाइने उनी दाबी गर्छन् ।
साथै यस परियोजनाकी सहसंस्थापक सेरा टाइकमन मानव शरीरमा रहेका सबै कोषिकाको एक नक्सा बनाउनु आवश्यक पर्ने बताउँछिन् ।
वैज्ञानिकका अनुसार ह्युमन सेल एटलस एक प्रकारले शरीरको गुगल म्याप जस्तै हो । यो निर्माण भयो भने हामीले मानव कोषका बारेमा बुझ्न सक्ने छौँ । कोषिकाका बारेमा थाहा पाउनाले हाम्रो जीव विज्ञानको बुझाइमा गहिरो प्रभाव पर्ने छ । यसबाट रोगको उपचारका लागि नयाँ प्रविधि तथा औषधि बनाउनमा समेत सहयोग पुग्ने छ ।
आधुनिक प्रविधिको सहयोगबाट शक्तिशाली सूक्ष्मदर्शक यन्त्र बनाइएका छन् । जसको माध्यमबाट मानव कोषिका तथा त्यसका अवयवलाई हेर्न सकिन्छ । त्यसो त ह्युम सेल एटलसको माध्यमबाट अहिलेसम्म गरिएका कामलाई यसअघि कोभिड नियन्त्रण गर्नमा उपयोग गरिएको छ । यस प्रविधिको माध्यमबाट वैज्ञानिकले कोभिड भाइरस हाम्रो आँखा, नाक र मुखका माध्यमबाट शरीरमा प्रवेश गर्ने कुरा पत्ता लगाएका थिए ।
यो अनुसन्धान एउटा फिल्मको झलक जस्तो मात्रै हो । वैज्ञानिकसँग मानव शरीरका सबै कोषिकाको नक्सा तयार भयो भने स्वास्थ्य क्षेत्रमा ठूलो फड्को हुने छ ।
अहिले यो परियोजना अन्तर्राष्ट्रिय सहयोगमा आधारित छ । निकै गहन र फराकिलो तरिकाले ठूलो परिमाणमा जानकारी तथा तथ्याङ्क सङ्कलन भइरहेको बताइएको छ । यस परियोजनाको काम सानो टिमका लागि मुस्किल हुन्छ । त्यसैले यो परियोजनालाई पूर्णता दिनका लागि विश्वका थुप्रै देशका वैज्ञानिक सहभागी छन् ।