बेर्लिन, मङ्सिर १२ गते । अमेरिकी आयात-शुल्क बढेपछि जर्मन उद्योगमा थप दबाब परेको एक नयाँ व्यावसायिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका अनुसार, जर्मनीका करिब तीनमध्ये दुई उत्पादन उद्योगले आफ्नो उत्पादन विदेश सारिसकेका छन् ।
डेलोइट कन्सल्टेन्सी र जर्मन उद्योग महासङ्घ (बीडीआई)को संयुक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, सहभागी जर्मन कम्पनी मध्ये पाँच मध्ये एकले पहिले नै आफ्नो उत्पादन संयन्त्र विदेश सारिसकेको छ । यो अनुपात दुई वर्षअघिको तुलनामा ८ प्रतिशतले बढी हो । “शुल्क नीतिले जर्मन उद्योगहरूको स्थानान्तरण प्रक्रियालाई तीव्र बनाइरहेका छन्,” प्रतिवेदनमा भनिएको छ ।
सर्वेक्षणमा समावेश १४८ कम्पनीमध्ये ८४ प्रतिशत ठूला उद्योग थिए, जसले जर्मनीका प्रमुख क्षेत्र-मेसिनरी, अटोमोबाइल र रसायन उद्योगलाई प्रतिनिधित्व गर्छन् । प्रतिवेदनले ४३ प्रतिशत कम्पनीले आगामी दुईदेखि तीन वर्षभित्र उत्पादन विदेश सार्ने योजना बनाएका छन्, जुन प्रतिशत दुई वर्षअघि ३३ मात्र थियो ।
उत्पादनसँगै, ३० प्रतिशत कम्पनी दुईदेखि तीन वर्षभित्र उत्पादन विकास पनि विदेश लैजाने तयारीमा छन्, भने ३५ प्रतिशतले आफ्ना अनुसन्धान गतिविधि जर्मनी बाहिर सञ्चालन गर्ने अपेक्षा राखेका छन् । स्थानान्तरणको तयारी गरिरहेका कम्पनीमध्ये करिब ३० प्रतिशतले युरोपलाई प्रमुख गन्तव्यका रूपमा हेर्दै छन् । उता एसियाप्रतिको आकर्षण पनि बढ्दो छ-१६ प्रतिशत कम्पनीले चीनलाई सम्भावित गन्तव्य मानेका छन् भने १९ प्रतिशतले अन्य एसियाली बजारमा आँखा लगाएका छन् ।
डेलोइटका आपूर्ति-शृंखला विज्ञ जुएर्गेन सान्डाउका अनुसार, “विदेशमा उत्पादन गरेर कम्पनीले केही छोटो-अवधिको लागत फाइदा त लिन सक्छन्, तर यसले उनीहरूलाई अनिवार्यरूपमा दीगो बनाउँदैन ।” उहाँका अनुसार आपूर्ति-शृङ्खलामा सानो अवरोधले पनि अपेक्षित फाइदा खेर जान सक्छ ।
प्रतिवेदनले चेतावनी दिँदै बढ्दो संरक्षणवादका कारण कम्पनीको आपूर्ति-शृङ्खला सुरक्षित गर्ने क्षमता कमजोर बन्दै गएको भनेको छ । नयाँ शुल्क नीतिहरूका कारण लागतमा उल्लेखनीय वृद्धि भएको छ । ५३ प्रतिशत कम्पनीका अनुसार आपूर्ति-शृङ्खला लागत मध्यमरूपमा बढेको छ, जबकि ३९ प्रतिशतले ती वृद्धि गम्भीर रहेको बताएका छन् । रासस/सिन्ह्वा