ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर १२ गते। यही मङ्सिरको अन्तिम साता काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट युवा नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ।
पौडेल ४० वर्ष मुनिका युवाका तर्फबाट निर्विरोध रुपमा प्रतिनिधि चयन भएको नेकपा एमाले जिल्ला कमिटी सचिव थमसरा पुनले जानकारी दिनुभयो। अनेरास्ववियुको अध्यक्षमा ७ मतले पराजित भएपछि पौडेल पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ। युवा नेता पौडेलले जेनजी आन्दोलनपछि पार्टी नेतृत्वमा परिवर्तन हुनुपर्ने भनाइ सार्वजनिक गर्दै आउनुभएको छ।
पौडेललाई ४० वर्ष मुनिका युवा मध्यबाट केन्द्रीय सदस्यमा अघि सार्ने नेकपा (एमाले) म्याग्दीको तयारी समेत छ।
अन्य महाधिवेशन प्रतिनिधिमा महिलातर्फ यशोदा रोका र थमसर पुन, उत्पीडिततर्फ खरमाया बिटालु निर्विरोध चयन हुनुभएको छ।
खुला तर्फका दुई जना महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मतको प्रयास गरिएको सचिव पुनले जानकारी दिनुभयो।