• २२ पुस २०८१, सोमबार

आगलागी हुँदा आठ जनाको मृत्यु

blog

बेइजिङ, पुस २० गते । उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी आठ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । बेइजिङको उत्तरपश्चिममा रहेको झाङ्जियाकोउ सहरमा भएको आगलागीपछि किआओसी जिल्ला जनसरकारले भने, “घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ र हाल उनीहरूको जीवनमा कुनै खतरा छैन ।” लिगुआङ बजारमा बिहान ८ः४० बजे आगलागी भएको थियो र बिहान १० बजेपछि निभाइएको जिल्ला सरकारले जनाएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । अक्टोबरमा प्रमुख सहर चेङ्दुमा लागेको आगलागीमा २४ जनालाई सास फेर्न गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको राज्य मिडियाले जनाएको छ । जुलाईमा, दक्षिणपश्चिमी सहर जिगोङको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो । रासस/एएफपी